+
+

मोरङ कारागारका कैदीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २५ गते ११:३१

२५ कात्तिक, विराटनगर । जिल्ला कारागार मोरङमा कैद भुक्तान गरिरहेका एक व्यक्तिको मृत्यु भएको छ । जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका ४३ वर्षीय नारायण थापाको मृत्यु भएको हो ।

१० वर्ष कैद सजाय भएका थापा ६ वर्षयता मोरङ कारागारमा थिए । बिहीबार बिहानपख उनको मृत्यु भएको हो ।

मोरङको रतुवामाई नगरपालिका घर भएका थापा गुण्डा नाइके अभिषेक गिरीलाई मोरङ ल्याउन हुँदैन भन्ने कैदीहरूको समूहमा थिए । मोरङमा रहेका केही कांग्रेस नेताको जोडबलमा कात्तिक १६ गते गिरीलाई मोरङ ल्याउँदा चौकीदार किरण गुरुङसहितको समूहले गिरीलाई भित्र पश्न दिएको थिएन । त्यसपछि प्रशासनले गिरीलाई सप्तरी पठाएको थियो ।

सप्तरीमा रहेका गिरीकै योजनामा मंगलबार कारागार भित्र झडप भएको स्रोत बताउँछ । झडपमा ६ जना घाइते भए । झडपपछि कारागार प्रशासनले गिरीको विपक्षमा रहेका चौकीदार किरण गुरुङ र १३ जना नाइकेलाई झापा, सुनसरी र इलाम स्थानान्तरण गरी गिरीका सहयोगी कात्तिक कामतलाई चौकीदारको जिम्मेवारी दिएको थियो ।

झडपपछि गिरीको विपक्षमा रहेका १४ जनाको सरुवा हुँदा थापा परेनन् । गिरीका सहयोगी कात्तिक कामतले चौकीदारको जिम्मेवारी पाएको दुई दिनपछि थापाको शंकास्पद मृत्यु भएको कारागार स्रोत बताउँछ ।

कारागार स्रोतका अनुसार चौकीदारको जिम्मेवारी पाएलगतै कामतले अभिषेकको विपक्षमा रहेकाहरुलाई यातना दिन थालेका छन् । ‘उसलाई (अभिषेक गिरी) अस्ती रोक्नेलाई छानीछानी नयाँ चौकीदारले यातना दिंदैछन्,’ कारागार स्रोतले भन्यो, ‘मृतक थापालाई पनि दुई दिनदेखि यातना दिइरहेका थिए ।’

जिल्ला कारागार मोरङका निमित्त जेलर रामप्रसाद पोखरेलका अनुसार ६ वर्षयता कारागारमा रहेका थापालाई यसअघि स्वास्थ्यमा समस्या देखिएको थिएन । राति पेट दुख्ने र श्वास फेर्न समस्या भएपछि कोसी अस्पताल लगिएको उनले बताए । अस्पताल पुग्ने वित्तिकै चिकित्सकले मृत घोषणा गरेका थिए ।

गिरीका कारण अशान्त कारागार

दुई सय ५० कैदीबन्दी अटाउने क्षमता रहेको मोरङ कारागारमा ९५५ कैदीबन्दी छन् । क्षमताभन्दा चार गुणा बढी कैदीबन्दी रहेको मोरङ कारागारमा अभिषेक गिरीले आउने योजना बनाएपछि पटक-पटक अशान्त भइरहेको छ ।

डिल्लीबजार कारागारमा रहेका गुण्डा नाइके अभिषेक गिरीलाई गत कात्तिक १६ गते मोरङ कारागार ल्याइएको थियो । तर कैदीबन्दीले उनलाई प्रवेश गर्न दिएनन् ।

कारागारभित्र कैदीबन्दी र बाहिर कैदीबन्दीका आफन्तको प्रदर्शनपछि गिरीलाई मोरङ आएको ९ घण्टापछि सप्तरी जिल्लामा स्थानान्तरण गरिएको थियो ।

आफ्नो विपक्षमा रहेका कैदीबन्दी सारिएपछि गिरी पुनः मोरङ आउने तयारीमा रहेको कारागार स्रोतको दाबी छ । ‘अस्ती गिरीले चौकीदार गुरुङसहित ६ जनालाई निकाल्नु म भित्र (कारागार) जान्छु भनेका थिए,’ कारागार स्रोतले भन्यो, ‘भित्र र बाहिर प्रदर्शन भएका कारण प्रशासनले मानेन ।’

गिरी यसअघि पनि मोरङ कारागारमा रहँदा चौकिदार थिए । कारागारभित्र कैदीबन्दीमाथि कुटपिट र बाहिर गुण्डागर्दी गरेको गुनासो बढेपछि २०७४ साल चैतमा उनलाई डिल्लीबजार कारागार सरुवा गरिएको थियो । कारागार भित्रको व्यापारबाट राम्रो आम्दानी हुने भएकाले गिरीले पुनः मोरङ आउन बल गरेका हुन् ।

२०७४ साल चैत २३ गते गिरीको डिल्लीबजार स्थानान्तरण भएपछि नवीन राईलाई चौकीदारको जिम्मेवारी दिइएको थियो । पुनः गिरीलाई मोरङ ल्याइने भएपछि राईलाई गत असोज १८ गते झुम्का कारागार स्थानान्तरण गरिएको थियो ।

राईलाई झुम्का लगिएपछि किरण गुरुङलाई मोरङ कारागारमा अर्काे व्यवस्था नभएसम्मका लागि चौकीदारको जिम्मेवारी दिइएको थियो । उनको पनि सरुवा भएपछि कार्तिक कामतलाई जिम्मेवारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?