+
+

शान्तिपूर्ण प्रदर्शनमा हस्तक्षेप नगर्न नेपाल बारको चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २५ गते १६:०७
नेपाल बार एशोसिएसनका महासचिव लीलामणि पौडेल ।

२५ कात्तिक, काठमाडौं । नेपाल बार एशोसिएसनले शान्तिपूर्ण प्रदर्शनमा हस्तक्षेप नगर्न चेतावनी दिएको छ । बिहीबार धर्नापछि कोणसभा गर्ने क्रममा सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायी र प्रहरीबीच धकेलाधकेल भएको थियो ।

कोण सभापछि विज्ञप्ति निकालेर एशोसिएसनले प्रधानन्यायाधीशको ठाडो आदेशमा कानून व्यवसायी माथि अत्याधिक बल प्रयोग र हातपात भएको ठहर गरेको छ । र आगामी दिनमा शान्तिपूर्ण प्रदर्शनमा हस्तक्षेप नदोहोर्‍याउन चेतावनी दिएको छ ।

विज्ञप्तिमार्फत बारले शुक्रबार सर्वोच्च अदालतका सम्पूर्ण वेञ्चमा कुनै पनि मुद्धामा बहस पैरवी नगर्ने, वेञ्च वहिष्कार गर्ने बताएको छ । साथै न्यायाधीशहरुलाई समेत प्रधान न्यायाधीश जबराले तोक्ने इजलासमा नबस्न आग्रह गरेको छ ।

हेर्नुहोस् विज्ञप्ति

नेपाल बार एशोसिएशनले यही २०७८ कात्तिक १४ गते देखि न्यायपालिकाको विकृति, विसंगती, विचौलिया, भ्रष्ट्राचारको पृष्ठपोषक प्रधान न्यायाधीश चोलेन्द्रसम्सेर राणाको राजीनामा माग गरी निरन्तर शान्तिपूर्ण विरोध कार्यक्रम गरी आएकोमा प्रधानन्यायाधीशले विभिन्न विचौलिया, भिजिलान्तेहरुको प्रयोग गरी २०४६ सालमा पञ्चायतको अन्त हुँदा ताका प्रतिकार समिति गठन गरि लोकतन्त्रप्रेमी न्यायप्रेमी जनता विरुद्ध प्रयोग गरेकै शैलिमा विभिन्न हतकण्डाहरु गरिआएको र आजको शान्तिपूर्ण विरोध सभामा प्रधान न्यायाधीशको ठाडो आदेशमा हतियार सहितका सुरक्षाकर्मीहरु अदालत भित्रै प्रवेश गराई शान्तिपूर्ण कार्यक्रममा रहेका कानून व्यवसायी माथि अत्याधिक बल प्रयोग र हातपात गर्दा हाम्रा कानून व्यवसायीहरु नेबाए पूर्व उपाध्यक्ष वरिष्ठ अधिवक्ता डा. कुमार शर्मा आचार्य, नेबाए उपाध्यक्ष अधिवक्ता रक्षा वस्याल, नेबाए महासचिव अधिवक्ता लीलामणि पौडेल, नेबाए पूर्व केन्द्रीय सदस्य रमणकुमार कर्ण, अधिवक्ता मुकुन्द भटृराई लगायतका कानून व्यवसायीहरु घाइते हुनुभएको छ ।

प्रधान न्यायाधीशको यस्तो हर्कतको नेपाल बार एशोसिएशनले घोर निन्दा र भत्र्सना गर्दछ । यस्तो हर्कत भविष्यमा नदोहोर्याउन चेतावनी समेत दिन चाहन्छौँ । आफ्नै अदालत र कानून व्यवसायीबाट मात्र नभएर आम नागरिकबाटै बहिस्कृत प्रधान न्यायाधीशको विरोधमा नेबाए र आवद्ध सम्पूर्ण एकाईहरुले भविष्यमा थप कठोर कदम चाल्न बाध्य हुने व्यहोरा जानकारी गराउँदै भोलि मिति २०७८।०७।२६ गतेका दिन सर्वोच्च अदालतका सम्पूर्ण वेञ्चमा कुनै पनि मुद्धामा वहस पैरवी नगर्ने, वेञ्च वहिष्कार गर्ने र माननीय न्यायाधीशज्यूहरुलाई समेत प्रधान न्यायाधीश चोलेन्द्र सम्सेर राणाले तोक्ने वा तोकेका इजलासमा नवस्न र भोलि मिति २०७८।०७।२६ गते विहान ९ः३० वजे नै सम्पूर्ण कानून व्यवसायीहरुलाई नेबाएमा उपस्थित हुन समेत अपिल गर्दछौँ ।

अधिवक्ता लीलामणि पौडेल

महासचिव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?