+
+

प्रधानन्यायाधीशको राजीनामा माग्दै शान्ति समाजद्वारा प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २७ गते १३:०१

२७ कात्तिक, बुटवल । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको शीघ्र राजीनामा वा बर्हिगमनको माग गर्दै मानव अधिकार तथा शान्ति समाजले चितवनमा प्रदर्शन गरेको छ ।

समाजले चितवनको पुलचोकमा आज बिहान आधा घण्टासम्म प्रदर्शन गरेको हो । प्रदर्शनमा ‘न्यायालयलाई प्रदूषित बनाउन पाइदैँन’, ‘सौदावाजी गर्ने प्रधानन्यायाधीश चाहिदैँन’,’न्यायालयमा राजनीतिक नियुक्ति बन्द गर’, ‘न्यायालयमा भागबण्डा बन्द गर’, प्रधानन्यायाधीश : शीघ्र राजीनामा देऊ’, प्रधानन्यायाधीशले राजीनामा नदिए महाअभियोग लगाऊ’, ‘वर्तमानको आवश्यकता : न्यायालयको शुद्धिकरण’, ‘न्यायालय दुषित भो : शुद्धीकरण आवश्यक भो’ जस्ता नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो ।

प्रदर्शनमा समाजका संस्थापक सभापति कृष्ण पहाडीलगायत २३ जिल्लाबाट सहभागी अधिकारकर्मी सहभागी भएका समाजले जनाएको छ । प्रदर्शनपछि बोल्दै समाजका केन्द्रीय सभापति गोविन्द खनालले प्रधानन्यायाधीश राणाको न्यायिक आचरणमाथि प्रश्न उठेको र पछिल्लो चरणमा नैतिक रुपमा झनै च्युत भएकाले शीघ्र राजीनामा दिन माग गरे ।

प्रधानन्यायाधीश जबराको राजीनामा नदिने अडानका कारण न्यायिक क्षेत्रमा असामान्य परिस्थिति सिर्जना भएको र यस्तो अवस्था उत्पन्न हुनु दुर्भाग्यपूर्ण भएको भन्दै उनले यो अवस्था लोकतान्त्रिक पद्धति र न्यायिक प्रणालीका लागि घातक हुने औंल्याए ।

न्यायिक क्षेत्रमा विद्यमान विकृतिहरू अन्त्य गर्न शुद्धीकरणका लागि सबै क्षेत्रबाट व्यापक पहल हुनुपर्ने खनालले आग्रह गरे । न्यायिक क्षेत्रमा विद्यमान विकृतिहरू उत्पन्न  हुनुका पछाडि लामो समयदेखि हुँदै आएको अस्वस्थ अभ्यास, तीव्र राजनीतीकरण, विचौलियाको विगविगिदेखि अनेकौं कारणहरू रहेका र यसमा प्रमुख राजनीतिक दलहरू पनि जिम्मेवार रहेका खनालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?