+
+

चित्लाङ–थानकोट सडक भोलिदेखि मात्रै बन्द हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २८ गते ९:०४

२८ कात्तिक, वीरगञ्ज । चित्लाङ–थानकोट सडकमा भोलिदेखि मात्रे आवागमन बन्द हुने भएको छ । यसअघि सूचना जारी गरेर कात्तिक २८ गतेदेखि नै सडक बन्द हुने भनिए पनि थप एक दिन आवागमन खोलिएको छ ।

दशैं तिहार लगायत चाडबाड सकिएलगत्तै निर्माणको काम अघि बढाउने उद्देश्यले सवारी आवागमन पूर्णरूपमा बन्द गर्न लागिएको चित्लाङ–चन्द्रागिरि–थानकोट सडक निर्माण सरोकार समितिले जनाएको छ । भोलिदेखि अर्को सूचना जारी नभएसम्मका लागि सडकमा सवारी साधन आवागमनमा रोक लगाउने निर्णय भएको समिति सदस्य बुद्धरत्न मानन्धरले जानकारी दिए ।

‘आजैदेखि चित्लाङ–थानकोट सडकमा आवागमन बन्द गर्ने निर्णय गरेका थियौं । तर बिहानैदेखि टाटासुमो र मोटरसाइकलको ताँती लागेको छ,’ उनले भने, ‘बन्द हुनेबारे जानकारी पाएनौं, त्यसैले आएको भनिरहेका छन् । त्यसैले आज एक दिन खोल्ने निर्णय गरेका छौं । भोलिदेखि भने बन्द नै गर्छौं ।’

सडक बनाउने क्रममा सवारी आवगमन जारी रहेको खण्डमा काममा अवरोध हुनुको साथै दुर्घटनाको जोखिम हुने समितिको ठहर छ । चित्लाङ थानकोट सडकअन्तर्गत थानकोट–चन्द्रागिरि खण्डको ठेक्काको म्याद चैतदेखि सकिंदैछ । तोकिएको म्यादभित्र तोकिएका काम सक्न स्थानीयले निर्माण पक्षमाथि दबाब दिँदै आएका छन् । विशेषगरी चित्लाङवासी छिटोभन्दा छिटो बाटो बनोस् भन्ने पक्षमा छन् ।

सडक निर्माण सरोकार समितिका अनुसार राम्चेको नयाँ ट्रयाकदेखि अँधेरी खोल्छाको शिरसम्म ८० मिटरजतिको पहाडलाई ५ मिटरमा झार्नुछ । त्यति गरेपछि उक्त खण्डमा डबल लेन तयार हुन्छ । यसअघि नै अँधेरी खोल्छामा ‘रक कटिङ’ गरेर उजेली खोल्सा बनाइसकिएको छ ।

टौखेल चनावनदेखि राम्चेसम्म डबल लेन तयार भइसकेको छ । दशैंअघि सवारी आवागमन रोकेर निर्माण सरोकार समितिले राम्चेको चार वटा घुम्तीमा काम गराएको थियो । पुरानो बस्ती भएकाले थानकोट चेकपोष्ट र चित्लाङ माझ गाउँमा मात्रै सडक साँघुरो छ । घर भत्काएर बाटो फराकिलो पार्नुपर्ने स्थिति छ ।

अबको डेढ÷दुई महिनाभित्र सडक पूर्णरुपमा सुचारु गर्न सकिने सरोकार समिति सदस्य मानन्धरले बताए । त्यसपछि पक्की ढलान र कालोपत्रे गराउका लागि सरोकार समितिले सम्बन्धित मन्त्रालयमा पहल गर्ने योजना बनाएको छ ।

बागमती प्रदेश सभा सदस्य रमा आले मगरको संयोजकत्वमा ५ सदस्यीय सडक निर्माण सरोकार समिति गठन गरेर सडक निर्माणको कामलाई गति दिन दबाब शुरु गरिएको थियो । हाल सडक निर्माण कार्यमा खटिनेहरुलाई समेत सदस्य बनाएर ३५ सदस्यीय समिति बनाइएको छ ।

तस्वीर : राजेन्द्र बस्नेत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?