+
+

सर्वोच्चका न्यायाधीशहरु र कानुन व्यवसायीबीच छलफल

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २९ गते १७:०३

२९ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीशसँग असन्तुष्ट सर्वोच्च अदालतका न्यायाधीशहरु र आन्दोलनरत कानुन व्यवसायीबीच सोमबार छलफल भएको छ ।

छलफल हाल अदालतमा देखिएको गतिरोधको निकासको विषयमा केन्द्रित भएको छलफलमा सहभागी कानुन व्यवसायीले बताएका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले निकास दिनुपर्ने भन्दै सर्वोच्चका न्यायाधीशहरुले दुई साता भन्दा लामो समयदेखि बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दा सुनुवाइ गरेका छैनन् । त्यस्तै प्रधानन्यायाधीशको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनले सर्वोच्च अदालतको मूलगेटमा नै धर्ना दिइरहेका छन् ।

सोमबार कानुन व्यवसायीसँगको छलफलमा सर्वोच्च अदालतका ११ जना न्यायाधीश सहभागी थिए । नेपाल बार र सर्वोच्च अदालत बारका पदाधिकारी र न्यायाधीशहरुबीच भएको छलफल न्यायालयको गतिरोधको निकासको विषयमा केन्द्रित रहेको सर्वोच्च बारका सचिव ऋषिराम घिमिरेले जानकारी दिए ।

‘छलफलमा हामीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले किन राजीनामा दिनुपर्छ भनेर आफ्नो अवधारणा सुनायौं, उहाँहरुले सुन्नुभयो’ घिमिरेले भने, ‘आज लामो छलफल हुन पाएन । उहाँहरु पनि अहिलेको नेतृत्वबाट न्यायपालिकाको मर्यादा कायम हुन नसक्ने निश्कर्ष सुनाउनुभयो । आगामी दिनमा फेरि छलफल हुनेगरी हामी उठ्यौं ।’

नेपाल बार एशोसिएसनका एक पदाधिकारीका अनुसार, असन्तुष्टमध्येका केही न्यायाधीश सोमबारको छलफलमा सहभागी थिएनन् । यद्यपि छलफलमा सहभागी न्यायाधीशहरुले प्रधानन्यायाधीश जबरा बाहेकका अरु न्यायाधीशहरु एक ठाउँमा रहेको बताएका थिए ।

सोमबार सर्वोच्च अदालतको मूल गेटमा कानुन व्यवसायीले गरेको प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेको, कानून व्यवसायीलाई बुटले हानेको भन्दै नेपाल बार एशोसिएसनले आकस्मिक बैठक बोलाएको छ । बैठकपछि बारले निर्णय सार्वजनिक गर्ने एक पदाधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?