+
+

बुटवल–नारायणगढ सडक : विस्तार भइरहेको छैन, बिस्तारै भत्किरहेछ

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०७८ कात्तिक २९ गते २१:३२
Photo Credit : अमर बडुवाल
दाउन्नेमा सोमबार पल्टिएको ट्रक

२९ कात्तिक, काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दाउन्नेमा सोमबार मालबाहक ट्रक पल्टिएर लामो जाम लाग्यो , खाल्डोयुक्त साँघुरो कच्ची सडकमा ट्रक एक कारमाथि पल्टिएपछि लामो जाम लाग्याे ।

दाउन्नेमै गत बुधबार बिहान शुरु भएको जाम बिहीबारसम्म हटेन । खाल्डै खाल्डाको उकालो सडकमा ट्रक बिग्रिँदा लागेको जाम हटाउन प्रहरीलाई ३६ घण्टाभन्दा बढी मिहिनेत गर्नुपर्‍यो ।

बुटवल–नारायणगढ सडकखण्डलाई ४ लेनमा विस्तार गर्ने काममा ढिलाइ भएपछि सडकमा सवारी र यात्रुलाई हुने यस्तो सास्ती चर्किंदै गएको छ । लक्ष्यअनुसार काम भए यतिबेला ११३ किलोमिटरको यो सडक विस्तारको दुईतिहाई सकिएर धमाधम कालोपत्रे भइरहेको हुने थियो ।

२०७९ साउन मसान्तसम्म सकिनुपर्ने यो आयोजनामा अहिले मुस्किलले ९.५ प्रतिशत काम भएको छ । सयममै काम नहुँदा यो राजमार्ग भएर यात्रा गर्ने लाखौं सवारी तथा यात्रुले चरम सास्ती बेहोर्नु परिरहेको छ । खाल्डैखाल्डा भएको यो सडकमा यात्रुले धुलो र हिलोको सकस बेहोर्न परिरहेको छ ।

इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रहरी निरीक्षक हिक्मतबहादुर थापाका अनुसार सडकमा खाल्डैखाल्डा हुँदा सवारी र यात्रुले अनेक सास्ती भोगिरहेका छन् । घाम लाग्दा पार गरिनसक्नु धुलो र पानी पर्दा हिलो हुने उनले बताए ।

‘यो मुख्य राजमार्गको छोटो दूरी पार गर्न पनि अत्यासलाग्दो यात्रा गर्नुपर्ने वाध्यता छ’, इन्स्पेक्टर थापा भन्छन्, ‘जाम पर्दा खुलाउन पनि साह्रै सास्ती हुन्छ ।’

काठमाडौंमा पढिरहेका कपिलवस्तुका सरोज पौडेल यो सडक बनिरहेको नभएर भत्किरहेको बताउँछन् । ‘पोहोर दशैंमाभन्दा यसपाली तिहारमा घर जाँदा र आउँदा बढी सास्ती भयो’, उनी भन्छन्, ‘यसपाली त सडकमा खाल्डो, हिलो, धुलो र जामबाहेक केही भेटिएन । यो सडक बनिरहेको हैन, भत्किरहेको छ ।’

सधैं ब्यस्त रहने राष्ट्रिय महत्वको सडक फराकिलो पार्न गरिएको भत्काउने काम यति सुस्त भएकोमा विद्यार्थी पौडेल अचम्मित छन् । ‘पहिला सबै भत्किसकोस् अनि बल्ला बनाउँला भनेर कुरेको त होइन होला नि !’, उनी भन्छन् ।

काम विशेषले प्युठानबाट काठमाडौं आएका शालिराम गिरी विस्तारको काम सडकको दायाँबायाँ हुनपर्नेमा बीचमा पनि भत्काएर भद्रगोल छाडिएको बताउँछन् । ‘ठाउँ–ठाउँमा पाँच–दश जनाले काम गरिररहेको देखिन्छ,’ उनले भने, ‘यती श्रमिक खटाएर यती ठूलो आयोजना कहिले पुरा हुन्छ ?’

डेढ–दुई घण्टामा पार हुने सडकमा ७ घण्टा यात्रा गर्नुपरेको भन्दै उनले राष्ट्रिय राजमार्गको बेहालबारे काठमाडौं बेखबर हुनु दुःखद् भएको बताए । जनताको आँखामा छारो हाल्न सडकको आडमा डोजर राखेको भन्दै गिरीले आक्रोश पोखे ।

राजमार्ग आसपासका बासिन्दा घरको झ्याल ढोका खुला राखेर बस्न सकेका छैनन् । धुलो र हिलोले सडक ढाक्दा वरपरको क्षेत्र पनि प्रभावित बन्न पुगेका छन् । राजमार्ग छेछाउका व्यवसाय पनि प्रभावित छन् ।

पहिलो खण्डमा ९ प्रतिशत काम

गैंडाकोटदेखि दाउन्नेसम्मको ६४.४ किलोमिटर खण्डलाई ‘प्याकेज–१’ र दाउन्नेदेखि बुटवल चौराहासम्मको ४८.५ किलोमिटर खण्डलाई ‘प्याकेज–२’ बनाएर काम भइरहेको छ । दुवै खण्डको ठेक्का चिनियाँ कम्पनी चाइना स्टेट कन्सस्ट्रक्सनले पाएको छ ।

कामको गति बढाउन न ठेकदार कम्पनी चिन्तित देखिएको छ न त सडक विभागलाई तातो लागेको छ । दुवै पक्षको बेवास्ताका कारण आयोजना निर्माण अवधि र लागत बढ्न पक्कापक्की भइसकेको छ ।

आयोजनाका पूर्वी खण्ड प्रमुख रमेशकुमार दृष्टि प्याकेज–१ अन्तरगतको ६५ किलोमिटर खण्डमा बल्ल ९ प्रतिशतजति काम सकिएको बताउँछन् । पूर्वतयारीकै काम समयमा नसकिँदा समस्या भएको, त्यसमाथि कोरोना महामारी आएर ठेकदारले श्रमिक परिचालन गर्न नसकेको उनले बताए ।

‘पोल सार्ने काम शुरु भएको छ, साना पुल र कल्भर्ट निर्माणको काम पनि भइरहेको छ,’ दृष्टिले भने, ‘अबको ६ महिनाभित्र आयोजनामा देखिनेगरी काम हुने ठेकदारको प्रतिवद्धता छ ।’

उनका अनुसार यो वर्षको बेमौसमी वर्षाले पनि आयोजनाको कामलाई प्रभावित गरेको छ ।
दोस्रो प्याकेजको कथा उस्तै

४८.५ किलोमिटरको दोस्रो प्याकेजमा पनि कामको गति पहिलो खण्डको भन्दा फरक छैन । सो खण्डमा अहिलेसम्म करिब १० प्रतिशत काम सकिएको आयोजनाको पश्चिम खण्डका प्रमुख प्रदीपकुमार शाक्यले बताए ।

उनका अनुसार आयोजना निर्धारित समयमा नसकिने देखिइसकेको छ । ‘अगष्ट २०२२ सम्म काम सक्नुपर्ने हो,’ उनले भने, ‘तर, अब द्रूत गतिमा काम भएपनि नसकिने देखिएको छ ।’ उनले दोस्रो खण्डमा कामले बल्ल गति लिन थालेको बताए ।

‘४०–५० ठाउँमा श्रमिकको टोली परिचालित छ,’ उनले भने, ‘पुलहरु निर्माणको लागि पनि तयारी शुरु भएको छ, अहिले करिब २० कलिोमिटर खण्डमा माटो भर्ने काम भइरहेको छ ।’

शाक्यका अनुसार हालसालै नेपाल आएको निर्माण कम्पनीको नयाँ टिमले अब कामको गति पहिलेजस्तो सुस्त नहुने आश्वासन दिएको छ ।

‘सडक आयोजनामा शुरुका काम चुनौतीपूर्ण हुन्छन्, आधारभूत काम सकेपछि कालोपत्रे हुन्छ, र देखिने गरी प्रगति हुन्छ’ पश्चिम खण्ड प्रमुख शाक्यले भने, ‘वर्षामा धेरै काम हुन सकेन, अब सबैलाई महसुस हुने गरी प्रगति हुने अपेक्षामा छौं ।’

कम जनशक्तिबाट काम भइरहेकाले आयोजना निर्माण कति पर धकेलिन्छ भन्ने अनिश्चित छ । काम पुरै बन्द नगर्ने र गति पनि नदिने गर्दा समस्या भएको आयोजनाको भनाइ छ । सडक विस्तारका लागि दुबै खण्डमा रुख काट्ने र पोल सार्ने काम नै सकिएको छैन ।ठूलो लागत, अनिश्चित अवधि

२०७५ पुसमा ठेक्का सम्झौता भएर सोही वर्ष चैत्र ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवलमा सडक विस्तारको शिलान्यास गरेका थिए । एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा विस्तार भइरहेको सडकको लागत १६ अर्ब ९९ करोड ५२ लाख रूपैयाँ छ ।

गैंडाकोट–दाउन्ने खण्ड ९ अर्ब १३ करोड १८ लाख ९५ हजार र दाउन्ने–बुटवलखण्ड ७ अर्ब ८६ करोड ३४ लाख रुपैयाँमा ठेक्का लागेको थियो । आयोजनाको कूल लागतमध्ये एडीबीले ८५ प्रतिशत ऋण उपलब्ध गराउने छ भने बाँकी नेपाल सरकारले बेहोर्ने छ ।

एडिबीले १.५ प्रतिशत ब्याजदरमा ३२ वर्षमा चुक्ता गर्नुपर्ने गरी ऋण उपलब्ध गराएको हो । योजना अनुसार सडक चार लेनमा विस्तार हुनेछ । शहरी क्षेत्रमा अतिरिक्त सर्भिस लेन बन्नेछ ।

यो सडकको अधिकांश भाग वन क्षेत्रमा पर्ने भएकाले मध्यवर्ती क्षेत्रमा वन्यजन्तुमैत्री पुलसमेत निर्माण हुनेछ । जटिल भूगोलका कारण दाउन्नेको ४.१ किलोमिटर उकालो सडक भने तीन लेनमा मात्रै विस्तार गर्ने तयारी छ ।

२०७९ साउन २२ भित्र बनिसक्नुपर्ने यो सडकखण्ड पाँच वर्षसम्म निर्माण कम्पनीले नै मर्मत गर्नुपर्नेगरी सम्झौता भएको छ । कहिले निर्माण भएर सुविस्ताले यात्रा गर्न पाइने हो भन्नेमा चाही सडक विभागका अधिकारीहरु नै जवाफविहीन छन् ।

लेखकको बारेमा
रवीन्द्र घिमिरे

आर्थिक-सामाजिक बिषयमा कलम चलाउने घिमिरे अनलाइनखबर बिजनेसमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment