+
+

नागढुंगा सुरुङमार्ग आयोजनामा अझै मुआब्जाको उल्झन

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०७८ कात्तिक ३० गते १९:०५
फाइल तस्वीर

३० कात्तिक, काठमाडौं । शिलान्यास भएको दुई वर्षमा पनि सिस्नेखोला–दहचोक (नागढुंगा) सुरुङमार्ग आयोजनाको मुआब्जा विवाद सुल्झिएको छैन । यसका कारण आयोजनामा सुरुङसहित बाहिर गर्नुपर्ने फ्लाइओभर र मूल सडकसम्म जोडिने पहुँच सडक निर्माणको काम प्रभावित बन्ने अवस्था छ ।

सुरुङभित्र र बाहिर समानान्तर ढंगले काम नभएपछि विवाद समाधानमा सरकारले सक्रियता भने देखाएको छ । सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा भएको वार्तामा प्रभावित जग्गाधनीहरुले मुआब्जामा सहमत जनाएको दावी आयोजनाले गरेको छ ।

आयोजना प्रमुख नरेशमान शाक्यले सुरुङमार्गको दहचोकतर्फको करिब १० रोपनी जग्गाको मुआब्जामा सहमति जुटेको बताए । ‘के कस्तो सहमति भयो भन्ने पछि सार्वजनिक गर्छौं, एक–दुई जना जग्गाधनीले सहमतिपत्रमा हस्ताक्षर गर्न बाँकी छ,’ उनले भने, ‘अब फ्लाइओभरको जगको काम शुरु गर्न सकिने अवस्था बनेको छ ।’

गत २१ साउनमा राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिले नागढुंगा सुरुङमार्ग आयोजनाका कारण विस्थापित भएकाहरुको व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिएको थियो ।

समितिको बिहीबार बसेको बैठकले पनि यो सुरुङमार्गमा जग्गासम्बन्धी विषय मिलाउनुपर्ने देखिएको भन्दै तत्कालीन मूल्य अनुरुप विस्थापितहरुको व्यवस्थापन गर्न निर्देशन दिएको थियो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी, मालपोत र नापी कार्यालयलाई चन्द्रागिरि नगरपालिकासँग समन्वय गरी समस्या समाधान गर्न निर्देशन दिएपछि नयाँ मुआब्जा निर्धारण गरेर स्थानीयलाई मनाउने प्रयास भएको हो ।

तर, सोमबार सबै जग्गाधनी उपस्थित नभएकाले अझै मुआब्जा विवाद कायम रहने डर छ । आयोजना प्रमुख शाक्य हालको समस्यालाई ‘मुआब्जा विवाद’ भन्नुभन्दा ‘सहमतिको प्रयास’ भन्नु उचित हुने बताउँछन् ।

अब सहमतिअनुसार सबैले मुआब्जा बुझे सुरुङ खन्नेबाहेकको बाहिर गर्नुपर्ने कामाले गति लिने उनको भनाइ छ ।

कति छ काम ?

आयोजनाका प्रमुख शाक्यका अनुसार मुख्य र आकस्मिक प्रयोजनको सुरुङ गरेर ५ हजार ४९९ मिटर सुरुङ खन्नुपर्नेछ । त्यसमध्ये १ हजार ८१२ मिटर खनिएको छ । धादिङतर्फ २८० मिटर र काठमाडौंतर्फ २८३ मिटर मुख्य सुरुङको खनिएको छ ।

आकस्मिक प्रयोजनको सानो सुरुङ अहिलेसम्म १ हजार ७९ मिटर खनिएको छ । त्यसमध्ये काठमाडौंतर्फबाट ६६१ मिटर र धादिङतर्फ ४१८ मिटर खनिएको शाक्यले बताए । धादिङको वर्किङ अडिटतर्फ १२६ मिटर र क्रस प्यासेज ४३ मिटर खनिएको छ ।

आयोजनाको करिब ५० प्रतिशत काम भने सुरुङ बाहिर छ । सुरुङसँग राजमार्गलाई जोड्न पहुँच सडक र फ्लाइओभर निर्माण गर्नुपर्ने छ ।

सुरुङमार्गलाई त्रिभुवन राजपथसँग जोड्न २.८७ किलोमिटर (२ हजार ८७२) को पहुँचमार्ग बनाउनुपर्छ । यसका लागि गुर्जुधाराचोक र सुरुङको मुखमुनि दुईवटा फ्लाइओभर बनाउनुपर्छ । गुर्जुधारामा बन्ने फ्लाइओभर ६१० मिटरको हुनेछ ।

कलंकीबाट बलम्बु हुँदै नागढुंगा जोड्ने सडक क्रस गराउन करिब १५० मिटर लामो अर्को फ्लाइओभर बनाउनुपर्छ ।

‘आगामी चैतसम्म सानो सुरुङ खनिसकेर सबै मेसिन मूल सुरुङमा लगाउँछौं,’ आयोजना प्रमुख शाक्य भन्छन्, ‘पहुँच सडकको फाउन्डेसनको काम पनि शुरु भइसकेकोले तोकिएको समयभन्दा बढीमा तीन महिना ढिला आयोजना सक्ने स्थितिमा छौं ।’

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको १४ महिनापछि पुस २०७७ मा सुरुङमार्गमा खन्ने काम शुरु भएको थियो । २.६६८ किलोमिटर लामो यो सुरुङमार्ग ४२ महिनामा निर्माण गरिसक्ने योजना छ । सुरुङ खन्ने काम वैशाख २०७७ बाट शुरु गर्ने योजना थियो ।

समयमै मेसिन नआइपुगेको, सुरुङको मुखको जग्गाको मुआब्जा विवाद नसल्टिएको लगायत कारण देखाउँदै काममा ढिलाइ भयो ।

सुरुङमार्ग र पहुँचमार्गमा करिब २२ अर्ब खर्च हुने अनुमान छ । यसमध्ये १६ अर्ब ६० करोड जापान सरकारले ०.०१ प्रतिशत व्याजदरमा ४० वर्षका लागि सहुलियत ऋण उपलब्ध गराएको छ ।

नेपाल सरकारले ५ अर्ब ५३ करोड लगानी गर्ने यो सुरुङमार्ग बनेपछि सिस्नेखोलाबाट २० मिनेटमा काठमाडौं आइपुगिनेछ ।

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?