+
+

सातौंपटक बढी आयकर तिर्ने व्यक्ति बने सिद्धार्थ राणा

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १ गते १८:२७

१ मंसिर, काठमाडौं । बुधबार आयोजित कर दिवसको कार्यक्रममा सर्वाधिक आयकर तिर्ने करदाताको नाम घोषणा भयो- सिद्धार्थ शम्शेर राणा । योसहित उनी हालसम्म सातपटक सर्वोत्कृष्ट व्यक्तिगत करदाता बनेका छन् ।

उनले तिरेको करको रकम सार्वजनिक गरिएको छैन । नेपालमा सर्वाधिक आयकर तिर्ने उद्योगीका रुपमा लगातार दोहोरिरहने सिद्धार्थ  ‘लाइमलाइट’ बाट टाढा छन् । अरुबेला कतै नदेखिने/नसुनिने राणा कर दिवसका दिन मात्रै सञ्चारमाध्यममा छाउँछन् ।

गत वर्ष सिद्धार्थ व्यक्तिगत उत्कृष्ट करदाताको सूचीमा भएपनि सर्बोत्कृष्ट हुन सकेनन् । जाउलाखेल ग्रुपका अध्यक्ष विजयकुमार शाहले गत वर्ष यो पुरस्कार हात पारेका थिए ।

राणा लगातार पाँच पटक उत्कृष्ट करदाताको रुपमा सम्मानित भइसकेका व्यक्ति हुन् ।

सिप्रदी ट्रेडिङका अध्यक्ष तथा सूर्य नेपालको सञ्चालक समितिका निर्देशक हुन् सिद्धार्थ । सिद्धार्थ जत्तिकै र कतिपय अवस्थामा उनीभन्दा सफल कहलिएका उद्योगी-व्यवसायी कर तिर्ने मामलामा चाहिँ निकै पछाडि छन् ।

सिद्धार्थले पनि सार्वजनिक रुपमा कर तिर्ने संस्कारबारे बोलेका छैनन् । निकटस्थका अनुसार सिद्धार्थले सर्वाधिक आयकारदाता बन्नुलाई नै ठूलो रुपमा लिने गरेका पनि पनि छैनन् । सात पटक पुरस्कार पाएकोमध्ये १ पटक मात्रै सिद्धार्थ समारोहमा आफैं उपस्थित भएका छन् ।

सिद्धार्थका स्वर्गीय बाबु प्रभाकर राणा नेपालमा स्वच्छ व्यवसायका लागि उनी ‘पायोनियर’ नै मानिन्छन् । जसरी बाबु प्रभाकर राज्यलाई तिर्नुपर्ने कर छल्नुहुन्न भन्ने मान्यता राख्थे, त्यही संस्कार बोकेर हिँडेका छन् सिद्धार्थले ।

उनको लगानी रहेको कम्पनी सूर्य नेपाल देशकै सफल कम्पनीको सूचीमा अग्रस्थानमा छ । त्यसैले सार्वाधिक कर तिर्ने कम्पनीका रुपमा पटक-पटक सम्मानित हुने गौरव उनलाई मिलेको हो । यसपटक पनि सूर्य नेपाल सबैभन्दा बढी कर तिर्ने करदाता बनेको छ ।

सिद्धार्थ राणाकै कम्पनी सिप्रदी ट्रेडिङ पनि सर्वाधिक कर तिर्ने कम्पनीको सूचीमा अग्रस्थानमा पर्छ । सिद्धार्थले आफ्नो नेतृत्वमा चलिरहेका कम्पनीलाई सकेसम्म कर विवादबाट टाढा राख्न खोजेका छन् । यसमा उनले अड्चन भने नभोगेका होइनन् । तर, आफ्ना बाबुको विरासतलाई उनले ढल्न दिएका छैनन् ।

कम्पनी पनि सफल

सिद्धार्थले नेतृत्व गरेका कम्पनीहरु सफल पनि हुँदै आएका छन् । नेपालमा टाटा मोटर्सको आधिकारिक विक्रेता रहेको यो कम्पनीले विभिन्न अटो पार्ट्सको पनि विक्री वितरण गर्छ । राणाको कम्पनी सिप्रदीले नेपालको यातायातको क्षेत्रमा पनि ठूलो योगदान गरेको छ । सिप्रदी यातयात व्यवसायमा आउन चाहने धेरै नयाँ व्यवसायीलाई आफैंसँग डोर्‍याउने कम्पनीमा रुपमा परिचित छ ।

सिप्रदीमार्फत देशभर हजारौं यातायात व्यवसायी स्वरोजगार छन् । विशेषगरी वित्तीय अवस्था कमजोर रहेका व्यवसायीलाई पनि सिप्रदीमार्फत सहज वातावरण बनाएर गाडी किन्न हौस्याउँछन् उनी । सिद्धार्थकै नेतृत्वमा टाटा नेपालको एक नम्बरको अटो कम्पनीका रुपमा स्थापित भएको छ ।

सिप्रदी व्यवसायिक सवारी साधनमा एक नम्बरमा छँदैछ, अब प्यासेन्जर कार सेगमेन्टमा पनि पहिलो बन्ने योजना लिएर हिँडेको छ ।

सिद्धार्थ नेतृत्वको कम्पनीको लगानी सोल्टी होटलमा पनि छ । नेपालमा अतिविशिष्ट विदेशी पाहुना सोल्टीमै राखिनुले यो होटलको विश्वसनीयता र गुणस्तरलाई झल्काउँछ ।

बाबुले स्थापना गरेको सोल्टीसहित होटल व्यवसायलाई विस्तार गर्न अहिले सिद्धार्थले जोडबल गरेका छन् । सोल्टी होटलको चेन नेपालगञ्जमा पनि खुलेको छ । काठमाडौंको रविभवनमा नयाँ पाँचतारे होटल सिद्धार्थकै नेतृत्वमा खुल्दैछ भने उनकै समूहले बर्दियामा लक्जरी रिसोर्ट सञ्चालन गर्ने तयारी गर्दैछ ।

पर्यटन क्षेत्रलाई पनि निकै माया गर्ने सिद्धार्थले आफ्ना कम्पनीभित्र कर्पोरेट वातावरण सिर्जना गरेका छन् ।

उनको बाबुको प्रयासमा खुलेको कम्पनीले प्रसिद्ध जोन प्लेयर ब्रान्डको कपडाको उत्पादन नेपालमै थालेको थियो । तर, राजनीतिक अस्थिरताका कारण उत्पन्न श्रम समस्याले कम्पनी बन्द हुन पुग्यो ।

विदेशी लगानीका माध्यमबाट विभिन्न विदेशी प्रविधिलाई नेपालमा ल्याउन उनको घराना सफल छ । विदेशी पुँजी र प्रविधि ल्याएर देशभित्रै रोजगारी सिर्जना गर्न यो राणा परिवारको ठूलो भूमिका छ । भोटेकोशी जलविद्युत आयोजनामा नेपालमा पहिलोपटक जलविद्युतमा प्रत्यक्ष विदेशी लगानी यही परिवारले भित्र्याएको थियो ।

सिद्धार्थले व्यवसायमा आउनुअघि बेलायतको बार्कलेज बैंक र नेपालको स्टान्डर्ड चार्टर्ड बैंकमा काम गरेका थिए । पछि उनले बाबु प्रभाकरका व्यवसाय सम्हाले । नेतृत्वमा आएपछि पनि उनले बाबुुको आदर्शलाई छाडेनन् । ‘परिवार र व्यवसाय विल्कुलै फरक हुनुपर्छ’ भन्ने प्रभाकरको मान्यतालाई सिद्धार्थले पनि आत्मसाथ गरे ।

सिद्धार्थ सन् २००१ मा ३४ वर्षको उमेरमा वर्ल्ड इकोनोमिक फोरम, डावोसद्वारा ‘ग्लोबल लिडर फर टुमरो’ का रूपमा सम्मानित भएका थिए । उनी शिक्षा, आर्थिक विकास, सम्पदा सुरक्षा र वन्यजन्तु संरक्षणका क्षेत्रमा पनि सक्रिय छन् । नेपालका ग्रामीण भेगमा स्वास्थ्य र शिक्षा क्षेत्रमा काम गर्ने संस्थालाई सहयोग गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?