+
+

प्रधानन्यायाधीशलाई पत्रकार महासंघले भन्यो : उच्च नैतिकता देखाऊ, अदालतको गरिमा राख

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १ गते १४:५१

१ मंसिर, काठमाडौं । नेपाल पत्रकार महासंघले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई उच्च नैतिकता प्रदर्शन गर्न र अदालतको गरिमा रक्षा गर्न आग्रह गरेको छ ।

बुधबार विज्ञप्ति जारी गर्दै महासंघले नेपाल बार एशोसिएसन र नागरिक तहबाट उठेका प्रश्नलाई गम्भीर रुपमा लिँदै उच्च नैतिकता देखाउन, गतिरोध अन्त्य गरी अदालतको गरिमाको रक्षा गर्न न्यायालय नेतृत्वलाई आग्रह गरेको हो ।

महासंघले आन्दोलनरत पक्षलाई पनि अदालतको गरिमा र मर्यादाको ख्याल गर्न आग्रह गरेको छ ।

प्रधानन्यायाधीश जबराले सरकारमा भागवण्डा खोजेको, न्यायपालिकाको गरिमा कायम राख्न नसकेको, भ्रष्टाचार गरेको, न्यायिक विचलन देखिएको जस्ता आरोप लगाएर नेपाल बार एशोसिएसनले तीन हप्तादेखि सर्वोच्च अदालत परिसरमा प्रदर्शन गरेको छ । सर्वोच्च अदालतका धेरैजसो न्यायाधीशले पनि प्रधानन्यायाधीशको राजीनामा माग्दै बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दा सुनुवाइ गरेका छैनन् ।

महासंघले सर्वोच्च अदालतमा देखिएको गतिरोधले जनता न्याय प्राप्त गर्ने आफ्नो हकबाट वञ्चित भएको भन्दै यसले अदालतप्रतिको भरोसा कमजोर हुने खतरा देखिएको बताएको छ ।

अदालतमा गम्भीर समस्या उत्पन्न हुँदा पनि जननिर्वाचित संसद, सरकार र राजनीतिक दलले आश्चर्यजनक मौनता देखाएको भन्दै महासंघले असन्तुष्टि जनाएको छ ।

महासचिव रोसन पुरीले विज्ञप्तिमा भनेका छन्, ‘मुलुकको संवैधानिक निकाय सर्वोच्च न्यायालयमा लामो समयदेखि गम्भीर समस्या उत्पन्न हुँदा जननिर्वाचित संसद्, सरकार र राजनीतिक दलले देखाएको आश्चार्यजनक मौनताप्रति पनि महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । महासंघ संसद्, सरकार र राजनीतिक दललाई समस्या समाधानका लागि आवश्यक पहल र अग्रसरताको लागि अपिल गर्दछ ।’

हेर्नुहोस् विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?