१ मंसिर, काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले रोग नियन्त्रण तथा न्यूनीकरण गर्न सरकार एक्लैले मात्रै सम्भव नहुने भन्दै सबै मिलेर काम गर्नुपर्ने बताएकी छिन् ।
बुधबार आयोजित डामिन फाउन्डेसन डे कार्यक्रममा बोल्दै मन्त्री रेग्मीले कुनै पनि लक्ष्य पुरा गर्न सबै मिलेर काम गर्नुपर्ने बताएकी हुन् । ‘कुष्ठरोग, क्षयरोग नियन्त्रणको लागि सरकारले मात्रै काम गरेर सम्भव छैन ।’ उनले भनिन्, ‘यी रोगहरु मात्रै नभएर अन्य किसिमका रोग नियन्त्रण तथा जनचेतनाका लागि नागरिक स्तरबाट, विभिन्न संघसंस्थाहरु एक जुट भइ काम गर्नु जरुरी छ ।’
गैर सरकारी संस्था डामिन फाउन्डेसनले नेपालमा कुष्ठरोग तथा क्षयरोग नियन्त्रणको लागि काम गर्दै आइरहेको छ ।
कार्यक्रममा आईडिया नेपालका अमर न्यौपानेले कुष्ठरोगीलाई सरकारले कानून नै बनाएर विभेद गरेको बताए । उनले भने ‘कुष्ठरोग लागेका व्यक्तिसँग विहे गराउनु नहुने, पछि थाह पाए सम्बन्ध विच्छेद गर्न सकिने व्यवस्था गरेको छ । कुनै पनि रोगका कारण सरकारले नै यसरी विभेद गर्नु हुँदैन । यस्ता विभेदकारी कानुन तत्काल संशोधन हुनुपर्छ ।’
क्षयरोग न्यूनीकरणका लागि काम गरिरहेको भएपनि विभिन्न किसिमको चुनौतीको कारण लक्ष्यमा पुग्न नसकेको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको निर्देशक डा.प्रकाश प्रसाद शाहले बताए । उनले भने, ‘हामीले न्यूनीकरणका लागि काम गरिरहेका छौं । तर पर्याप्त जनशक्ति, आर्थिक स्रोत अभाव लगायतको कारण सफल हुन सकेका छैनौं।’
डामिन फाउन्डेसनका नेपाल प्रतिनिधि डा.शुशिल कोईरालाले फाउन्डेसनले नेपालमा क्षयरोग तथा कुष्ठरोग न्यूनीकरणको लागि सक्दो प्रभावकारी रुपमा काम गरिरहेको बताए। उनले भने ‘हामीले कामलाई संख्यात्मक भन्दा गुणात्मक स्तरीयतामा केन्द्रित भई काम गरिरहेका छौं ।’
मुख्य कार्यलय बेल्जियममा रहेको फाउन्डेसनले कोभिड महामारीको समयमा कुष्ठरोग तथा क्षयरोगबाट पिडितलाई लक्षित गरी विभिन्न स्वास्थ्य सामाग्री समेत वितरण गरेको जनाएको छ । फाउन्डेसनले पिपिई, अक्सिजन कन्सनट्रेटर, पल्स अक्सिमिटर, डिजिटल थर्मोमिटर, मास्क लगायत सामाग्री वितरण गरेको जानकारी दिएको छ ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4