
२ मंसिर, रौतहट । बुधबार दिउँसो गौर कारागारमा मृत अवस्थामा फेला परेका लडाइ साहको हत्या भएको परिवारजनले आरोप लगाएका छन् ।
गौर कारागारको शौचालयमा मृत भेटिएका देवाही गोनाही नगरपालिका–७ का २४ वर्षका साहका परिवारजन र आफन्तले बिहीबार जिल्ला प्रहरी कार्यालय तथा गौर कारागार अगाडि प्रर्दशन गरेका हुन् ।
अपहरण तथा शरीर बन्धक र जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका साह बुधबार दिउँसो १:५० बजे शौचालयमा तौलियाको पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेका थिए ।
कैदी झुण्डिएको खबर पाएपछि कारागार प्रशासनले उनलाई तुरुन्त जिल्ला अस्पताल गौरमा लगेको तर अस्पतालले सोही समय साहलाई मृत घोषणा गरेको कारागार निमित्त प्रमुख शम्भुप्रसाद यादवले बताएका छन् । मृतकका परिवारजनले भने साहको हत्या गरेर झुण्ड्याएको आरोप लगाउदै जिल्ला प्रहरी कार्यालय र गौर कारागारलाई घेराउ गरेर प्रदर्शन गरेका हुन् ।
देवाही गोनाही नगरपालिका–७ घर भएका साहलाई अपहरण शरीर बन्धक तथा जबर्जस्ती करणी मुद्दामा जिल्ला अदालत गौरले २०७६ साल वैशाख ४ गते पुर्पक्षका लागि गौर कारागार पठाएको थियो । हिजो बुधबार उच्च अदालत वीरगञ्जमा यो मुद्दमा पेशी थियो ।
साहकी पत्नी सीमादेवी साहले भनिन् ‘उनलाई कारागारका नाइकेहरुले मारेका हुन् ।’ अदालतमा मुद्दा चलिरहेकोले आत्महत्या गर्नुपर्ने कारण नरहेको उनी बताउँछिन् । घटनाका बारेमा सत्यतथ्य पता नलागेसम्म आफूहरुले शव नबुझ्ने परिवारजनले बताए ।
घटनाका बारेमा मानवअधिकार आयोगले पनि चासो दिएको छ । आयोगको प्रादेशिक कार्यालय जनकपुरको एक टोलीले कारागार निरीक्षण गर्दै घटनाका बारेमा कारागारका नाइके विक्की सिंह सहितका व्यक्तिहरुसँग सोधपुछ गरेको छ ।
देवाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्र पटेल, उपमेयर परनियादेवी पटेलसहित चार जना जनप्रतिनिधिले पनि घटनास्थलको निरीक्षण गरेको छ ।
कारागारमा कैदी बन्दीको मृत्युका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहट प्रवक्ता डीएसपी नारायणप्रसाद चिमोरियाले बताए । पोष्टमार्टमको रिपोर्टपछि घटनाका बारेमा थप विषय खुल्ने जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
प्रतिक्रिया 4