+
+

महामारीअघि जग्गाको मूल्य २६ प्रतिशतसम्म बढेको अध्ययनको निष्कर्ष

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ३ गते १०:५८

३ मंसिर, काठमाडौं । कोभिड–१९ महामारी शुरू हुनुअघि समयमा घरजग्गाको मूल्य २६.४५ प्रतिशतले वृद्धि भएको एक अध्ययनले देखाएको छ ।

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७६/७७ मा गरेको अध्ययन अनुसार वाणिज्य बैंकहरूबाट प्राप्त तथ्यांकको आधारमा वार्षिक औसत गत वर्षको घरजग्गाको मुद्रास्फीति २६.४५ प्रतिशत रहेको पाइएको छ । आर्थिक वर्ष २०७६/७७ कोरानाको शुरुआती अवस्था हो । त्यस वर्षको चैत महिनादेखि नेपालमा पूर्ण लकडाउन गरिएको थियो ।

घरजग्गाको कारोबार हुँदा थैली रकम र घरजग्गा पास गर्दा मालपोत कार्यालयलाई तिरिने राजस्व दुवैलाई आधार मानेर राष्ट्र बैंकले अध्ययन गरेको थियो । मालपोत कार्यलयबाट प्राप्त तथ्यांकको यस्तो मुद्रास्फीति १९.७३ प्रतिशत रहेको राष्ट्र बैंकले बताएको छ ।

राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०७७/७८ को पहिलो नौ महिनामा भने यस्तो मुद्रास्फीति क्रमशः १६.३१ र १२.५७ प्रतिशत रहेको पाइएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७७/७८ को पहिलो नौ महिनामा घरजग्गाको कारोबारमा केही शिथिलता आएकोले मुद्रास्फीति केही कम रहेको निष्कर्ष सर्वेक्षणले देखाएको छ ।

वित्तीय क्षेत्र विकास रणनीति (२०७४–२०७७/७८) मा घरजग्गा मूल्य सूचकांक तयार गर्ने जिम्मेवारी नेपाल राष्ट्र बैंकलाई दिइएकोमा आर्थिक वर्ष २०७५/७६ लाई आधार वर्षको रूपमा लिई घरजग्गा सर्वेक्षण गरिएको हो ।

घरजग्गा मूल्य सूचकांक तयारी निम्ति प्रत्येक प्रदेशको भौगोलिक अवस्थिति, कारोबारको सघनता र तथ्यांक उपलब्धता समेतलाई दृष्टिगत गरी नमुनामा परेका २० वटा जिल्लाका २० स्थानलाई तथ्यांक स्रोत केन्द्रको रूपमा छनोट गरी त्यस्ता तथ्यांक स्रोत केन्द्रबाट तथ्यांक संकलन गरिएको राष्ट्र बैंकले बताएको छ ।

छनोट भएका जिल्लाभित्र घरजग्गाको धेरै कारोबार हुने नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका छनोट गरी त्यसभित्रका सबैभन्दा धेरै कारोबार हुने दुई वटा वडाको सर्वेक्षण सञ्चालन भएकोमा तत्काल कायम छ वटा महानगर क्षेत्रलाई तथ्यांक स्रोत केन्द्रमा पर्नेगरी छनोट गरिएको थियो ।

सो स्थानका सम्बन्धित मालपोत कार्यालयबाट जग्गा र घरजग्गाको रजिष्ट्रेसन कारोबारको आधारमा घरजग्गा मूल्य तथ्यांक संकलन गरिएको हो । नेपालको सन्दर्भमा तथ्यांक उपलब्ध हुनसक्ने आधारमा दुई वटा स्रोतबाट तथ्यांक संकलन गरेर घरजग्गा मूल्य सूचकांक तयार गरिएको छ । एउटा मालपोत कार्यालयबाट रजिष्ट्रेशन पास गर्दा राख्ने थैली रकम र दोस्रो बैंकहरूले कर्जा प्रवाह गर्दा धितोस्वरुप राखिने घरजग्गाको मूल्याङ्कनसम्बन्धी तथ्यांकको आधारबाट घरजग्गाको मूल्य संकलन गरिएको छ ।

घरजग्गा मूल्य सूचकांक निर्माणको लागि भाराङ्क निर्धारण गर्ने सम्बन्धमा २०७५/७६ को घरजग्गा रजिष्ट्रेशनको कुल कारोबार संख्यालाई आधार मानी भार निर्धारण गरिएको छ । उक्त भाराङ्कलाई जिल्लागत, प्रदेशगत एवं राष्ट्रियस्तरमा समेत निर्धारण गरिएको छ । राष्ट्रियस्तरमा जग्गा मात्रको भाराङ्क ७६.६७ प्रतिशत र घरजग्गाको भाराङ्क २३.३३ प्रतिशत रहेको पाइएको छ ।

मालपोत सर्वेक्षणको आधारमा घरजग्गातर्फ १८,९२० सर्वेक्षण संख्यामध्ये २,०९६ र जग्गातर्फ ८१,९५६ मध्ये ८,२४० वटा गरी कुल १०,३३६ वटा कारोबारलाई नमूनाका रुपमा लिइएको थियो । यसै गरी, वाणिज्य बैंकबाट प्राप्त तथ्यांकमध्ये घरजग्गा र जग्गातर्फ क्रमशः १,३३२ र १,१४४ गरी कुल २,४७६ वटा कारोबारलाई नमुनाका रुपमा लिइएको थियो ।

घरजग्गाको मूल्यमा आउने उतार चढाव मापन गर्ने उद्देश्यले नेपालमा पहिलो पटक घरजग्गा मूल्य सर्वेक्षण सम्पन्न गरी घरजग्गा मुद्रास्फीति मापन गर्न सूचकांक निर्माण गरिएको छ । यसरी प्राप्त हुने घरजग्गा मूल्य सूचकांक त्रयमासिक रूपमा नियमित प्रकाशन गर्न लागिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?