+
+

धवलागिरि अस्पतालमा पहिलोपटक पाठेघरको शल्यक्रिया

पाठेघरबाट रगत बग्ने, तल्लो पेट दुख्नेलगायत समस्याबाट ग्रसित बागलुङ नगरपालिका–५ की ३६ वर्षीया महिलाको स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. केशव आचार्य नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले शुक्रबार शल्यक्रिया गरेको हो ।

रासस रासस
२०७८ मंसिर ४ गते २०:००

४ मङ्सिर, बागलुङ । धवलागिरि अस्पतालमा पहिलोपटक पेट चिरेर पाठेघरको सफल शल्यक्रिया गरिएको छ । पाठेघरबाट रगत बग्ने, तल्लो पेट दुख्नेलगायत समस्याबाट ग्रसित बागलुङ नगरपालिका–५ की ३६ वर्षीया महिलाको स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. केशव आचार्य नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले शुक्रबार शल्यक्रिया गरेको हो ।

अस्पतालका एनेस्थिया विशेषज्ञ डा नवीन पौडेल, वरिष्ठ नर्सिङ निरीक्षक देवी भट्टराईलगायत स्वास्थ्यकर्मी शल्यक्रियामा सम्मिलित थिए । चार सन्तानकी आमा रहेकी ती महिला शल्यक्रियामार्फत पाठेघर निकालिएपछि स्वास्थ्य लाभ गरेर घर फर्किसकेको डा. आचार्यले जानकारी दिए ।

‘लामो समयदेखि औषधोपचार गर्दा पनि निको नभएपछि पेट चिरेर गरिने शल्यक्रियामार्फत उहाँको पाठेघर निकालेका हौँ’, उनले भने । यस प्रकृतिको शल्यक्रिया धवलागिरि क्षेत्रमै पहिलोपटक भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट शैलेन्द्र विक पोखरेलले बताए । ‘यो पाठेघरको समस्यामा गरिने मेजर शल्यक्रिया हो, दक्ष चिकित्सक, तालिमप्राप्त स्वास्थ्यकर्मी र उपकरण व्यवस्थापनपछि सफलतापूर्वक शल्यक्रिया सेवा सुरु भएको छ’, उनले भने ।

यसअघि पाठेघरको शल्यक्रियाका लागि बिरामीलाई ठूला अस्पताल पठाउनुपर्ने अवस्था थियो । अब भने यहीँ सहज रुपमा पाठेघरको उपचार हुने बताइएको छ । जटिल प्रकृतिका शल्यक्रिया पनि जिल्लामै हुन थालेपछि बिरामीलाई पोखरा, काठमाडौँ धाउनुपर्ने बाध्यता हटेको छ । अस्पतालले गत असोजमा पहिलोपटक जोर्नी प्रत्यारोपण गरेको थियो ।

बागलुङ–१० की ८६ वर्षीया तुलसा थापाको देब्रे कम्मरको जोर्नीमा रहेको हड्डीको गेडी भाँचिएपछि जोर्नी प्रत्यारोपण गरिएको हो । त्यसलाई चिकित्सकीय भाषामा ‘नेक अफ फिमर’ भनिन्छ ।

दक्ष चिकित्सक र स्वास्थ्य उपकरणको उपलब्धता बढेसँगै अस्पतालले शल्यक्रियालगायत स्तरीय स्वास्थ्य सेवा विस्तार गर्दै लगेको छ । ‘सर्जिकलका उपकरण थप्नेदेखि स्वास्थ्यकर्मीलाई तालिममार्फत दक्ष बनाउनेमा अस्पतालले विशेष ध्यान दिएको छ’, मेसु पोखरेलले भने ।

पछिल्लो समय अस्पतालमा हाडजोर्नीको शल्यक्रिया धेरै हुने गरेको उनको भनाइ छ । दुई सय शय्याको उपप्रादेशिक अस्पतालका रुपमा घोषित धवलागिरि अस्पताललाई सोही अनुसारको स्वास्थ्य सेवा र सुविधा थप्नुपर्ने चुनौती छ । अस्पतालले अझै पनि दरबन्दीअनुसार मानव संसाधन र स्वास्थ्य उपकरणको अभाव झेल्दै आएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?