+
+

प्रधानमन्त्रीले बाह्‍य लगानीमा सञ्‍चालित च्यानलको उद्घाटन गरेर कानुन विपरीत काम गरे : प्रदीप ज्ञवाली

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ५ गते १८:०४

५ मंसिर, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवाले बाह्य लगानीमा सञ्चालित टेलिभिजन च्यानल ‘आस्था नेपाल’ र ‘पतञ्जली नेपाल’ उद्घाटन गरेर कानुन विपरीत काम गरेको टिप्पणी गरेका छन् ।

पूर्वपरराष्ट्रमन्त्री समेत रहेका प्रवक्ता ज्ञवालीले नेपालको कानुनले निषेध गरेको ती टेलिभिजन च्यानलहरु उद्घाटन गर्नुको कारण के हो भनेर प्रधानमन्त्री देउवालाई प्रश्न समेत गरे ।

आइतबार प्रेस चौतारी नेपाल, उपत्यका प्रदेश कमिटीले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले नेपालले सञ्चार माध्यामहरुमा बाह्य लगानी निषेध गरेको उल्लेख गर्दै ती कुराहरु स्वागत गर्न नसकिने स्पष्ट पारे ।

गत मंसीर ३ गते योगगुरु रामदेवको स्वामित्वमा रहेको पतञ्जली कम्पनीले काठमाडौंमा सञ्चालनमा ल्याएको ‘आस्था नेपाल’ र ‘पतञ्जली नेपाल’ नाममा दुई टेलिभिजन च्यानलको प्रधानमन्त्री देउवाले उद्घाटन गरेका थिए । प्रधानमन्त्री देउवाले उद्घाटन गरेको ती दुई च्यानल कानुनसम्मत नभएको प्रवक्ता ज्ञवालीको दावी छ ।

उनले सो च्यानल नेपालको कानुन विपरीत राष्ट्रिय हितभन्दा फरक ढंगले सञ्चालनमा आएको प्रारम्भिक प्रतिक्रिया समेत दिए ।

‘नेपालले बाह्य लगानीका लागि केही क्षेत्रलाई निषेधित गरेको छ । यो अहिले कुनै व्यक्ति विशेषलाई, संस्था विशेषलाई लक्षित गरेर होइन । प्रवक्ता ज्ञवालीले भने, ‘खास गरेर सञ्चार क्षेत्रमा टेलिभिजनदेखि लिएर अरु विभिन्न क्षेत्रहरु सञ्चार माध्यामहरुमा बाह्य लगानीलाई पूर्ण रुपले निषेध गरिएको छ । अब कुन ढंगले प्रधानमन्त्रीले त्यो टिभी च्यानल उद्घाटन गर्नु भयो । त्यो हामीले बुझेका छैनौं ।’

प्रवक्ता ज्ञवालीले सो टेलिभिजन च्यानलबारे विस्तृत रुपमा छलफल गर्ने जानकारी समेत दिए । उनले कानुनसम्मत, विधिसम्मत र नेपालले प्राथमिकता तय गरेको क्षेत्रमा आउने बाह्य लगानीलाई भने आफूहरुले सधैं स्वागत गर्ने बताए ।

प्रवक्ता ज्ञवालीले पार्टीको दशौं महाधिवेशनमा नेताहरुको व्यवस्थापनका लागि विधान संशोधन गर्ने सम्भावना नरहेको बताए । विधानको परिधिभित्र रहेर योग्यभन्दा योग्य नेताहरुलाई नेतृत्वमा चयन गर्ने उनको भनाइ थियो ।

उनले महाधिवेशनमा विधानको विषयले नेतृत्व चयनमा समस्या पारेकाले त्यसलाई समाधान गरेर अघि बढन पहिलो पटक पार्टीको विधान महाधिवेशन छुट्टै आयोजना गर्नु परेको पनि स्मरण गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?