
६ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशन प्रतिनिधि छनोटको प्रक्रिया आजदेखि सुरु भएको छ ।
देशभरका ३३० प्रदेशसभा निर्वाचन क्षेत्रबाट दुई हजार ९७० प्रतिनिधि छनोट प्रक्रिया आजदेखि सुरू भएको राप्रपा प्रचार संयोजक मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्रतिनिधि छनोटको काम आज, भोलि र पर्सि हुने कार्यतालिका छ ।
प्रदेशसभा निर्वाचन क्षेत्र, भ्रातृ संगठन, प्रवासका संगठन र अध्यक्षबाट मनोनित गरी ४ हजार ५ सय प्रतिनिधिहरू महाधिवेशनमा सहभागी हुनेछन् । राप्रपाको महाधिवेशन मंसिर १५ गतेदेखि १७ गतेसम्म काठमाडौंमा आयोजना हुँदै छ ।
राप्रपाले प्रदेशसभा निर्वाचन क्षेत्रबाट समावेशी आधारमा नौं/नौं जना महाधिवेशन प्रतिनिधि छनोट गर्ने छ । तीन खस आर्य (अन्य), तीन महिला, एक जनजाति, एक दलित, एक अल्पसंख्यक, मुस्लिम, थारुलगायत नौ जना निर्वाचित हुनेछन् ।
गाउँपालिका, नगरपालिका, प्रदेश निर्वाचन क्षेत्र, संघीय निर्वाचन क्षेत्र, जिल्ला र प्रदेशको अधिवेशनबाट निर्वाचित अध्यक्षहरू पदेन महाधिवेशन प्रतिनिधि चयन भइसकेका छन् ।
प्रतिक्रिया 4