
मानवीय जीवन अमूल्य छ । अमूल्य भएकै कारण हरेक मानिसले धेरै वर्ष बाँच्ने चाहना राख्दछन् । मानिसको जीवनको सन्दर्भमा सद्गुरु भन्छन्– ‘मानिसको जीवन वा भौतिक शरीर तिम्रो लागि बाह्य कुरा मात्र हो । त्यसैलाई तिमी जीवन भन्दछौ ।
तिम्रो शरीरमा विचार, भावना, दर्शन, धर्म र पूर्वाग्रहको बादलले यति ढाकेको हुन्छ कि यो मनोवैज्ञानिक नाटकले जीवन प्रक्रियालाई नै पूर्ण रूपमा ढाकेको हुन्छ । त्यसैलाई मानिसहरूले ठूलो मात्रामा जीवन मान्छन् तर बुझ्नुपर्ने कुरा भनेको ती मानिसले मानेको जीवन भनेको उसको जागिर, व्यवसाय, परिवार, सम्पत्ति तथा पदको मात्र कुरा हुन् र त्यो बाह्य कुरा मात्र हो ।’ तर पनि मानवीय मूल्यको महत्वलाई कम आँक्न सकिंदैन ।
विश्वको समग्र विकास प्रक्रियामा मानव जीवन महत्वपूर्ण रहिआएको छ । प्रत्येक देशले स्वास्थ्य र सुरक्षित नागरिकको निर्माणलाई प्राथमिकतामा राखेको हुन्छ । उनीहरूले जनताको जीवन बचाउन ठूलो रकम विनियोजन गर्ने गरेको हुन्छ । तथापि प्रकृतिको आफ्नै नियम छ ।
मानिस जन्मेपछि मर्ने गर्दछ । सरकारले आफ्ना नागरिकलाई एउटा निश्चित समयसम्म मात्र सुरक्षित राख्न सक्दछ अर्थात् मानव जीवन अस्थायी रूपमा मात्र सुरक्षित हुन सक्छ, अनन्तसम्म होइन । निश्चित समय पश्चात् मानिस मर्दछ । यो ध्रुवसत्य हो । मानिसको मृत्युको विषयमा विभिन्न भाष्य र परिभाषा हुने गरेको छ ।
सेटिन (२०१५) ले मृत्युलाई मानिसको जीवनको अन्त्य, जीवन अस्तित्वको अन्त्य वा मानिसको सम्पूर्ण कार्यहरूको अन्त्य भनेका छन् । दार्शनिक रजनिश ओशो भन्छन्– ‘मृत्यु एक शरीरबाट अर्को शरीरमा आत्माको स्थानान्तरण हो वा एक मानिस ब्रह्माण्डमा पूर्ण रूपमा जागृत हुन्छ ।
यो महान् यात्रा हो तर तपाईंले यसलाई बाहिरबाट थाहा पाउन सक्नुहुन्न ।’ उनका अनुसार बाहिरबाट केवल लक्षणहरू उपलब्ध हुन्छ र ती लक्षणहरूले मानिसलाई डराउँछन् । जसले मृत्युलाई भित्रबाट चिनेको हुन्छ, ऊ मृत्युसँग धेरै डराउँदैन । ओशो भन्छन्– मृत्यु एक शाश्वत झूट हो अर्थात् मृत्यु जस्तो कुनै यथार्थ यो दुनियाँको अस्तित्वमा छैन । मृत्यु एक शाश्वत सत्य हो । मृत्यु अवश्यम्भावी छ । मृत्युबाट भाग्न सकिंदैन ।
बिरोल, (२००३) ले मेडिकल साइन्सको आधारमा दिएको परिभाषा अनुसार मृत्युलाई मानिसको हृदय र मस्तिष्कको कार्यहरूको अपरिवर्तनीय अन्त्यको रूपमा परिभाषित गरेको पाइन्छ ।
मान्छे मृत्युसँग किन डराउँदछन् भन्ने सम्बन्धमा विगतमा भएका अध्ययनको नतिजालाई केलाउनुपर्छ । जेड वू (२०२०) मा एक क्लिनिकल स्वास्थ्य मनोवैज्ञानिकको रूपमा फिजियोलोजी टुडे अनलाइनमा उल्लेख गरिएको छ कि त्यहाँ केही यस्ता अवस्थाहरू हुन्छन् जसको कारणले मानिस मृत्युसँग डराउने गर्दछ ।ती अवस्थाहरूमा वृद्ध मानिसहरू, राम्रो शारीरिक स्वास्थ्य भएका मानिसहरू र धार्मिक विश्वास राख्ने मानिसहरू मृत्युसँग कम डराउँछन् भन्ने निष्कर्ष निकालेका छन् ।
चैपम्यान युनिभर्सिटीद्वारा सञ्चालित २०१७ मा गरिएको अमेरिकी डरको सर्भेक्षण अनुसार, २०.३ प्रतिशत अमेरिकीहरू मर्नबाट धेरै डराउने देखिएका छन् । त्यहाँ अपरिचित व्यक्तिद्वारा हत्या १८.३ प्रतिशत र चिनेकै व्यक्तिबाट ११.६ प्रतिशत हत्या हुने गरेको अध्ययनमा देखाएको छ ।
मृत्यु सत्य हो र सबै मानिस निश्चित समयपछि मृत्यु भई जानुपर्छ भन्ने शाश्वत सत्य हुँदाहुँदै पनि डराउँदछन् र सधैं भाग्न खोजिरहेका हुन्छन् । मानिसहरू कोही बढी डराउँदछन् भने कोही कम । यो अवस्था किन आउँछ भनी नेपाल समाजको सन्दर्भमा पनि अध्ययन गर्न आवश्यक छ ।
अध्ययनको उद्देश्य
विभिन्न विद्वान् र अध्ययनको समीक्षालाई अवलोकन गर्दा मृत्यु सत्य हो र यो मानव जीवनको अन्तिम भाग पनि हो । तर, यो सत्यप्रति मानिसहरू बढी डर मान्दछन् । यो सन्दर्भमा नेपालीहरूमा मृत्युसँगको डरको अवस्था कस्तो छ ? भनेर अध्ययन गर्न आवश्यक देखिन्छ ।
नेपालीहरू व्यक्तिगत विशेषता र मृत्युप्रतिको डर, स्वास्थ्य अवस्था र मृत्युप्रतिको डर, शैक्षिकस्तर र मृत्युप्रतिको डर, आर्थिक अवस्था र मृत्युप्रतिको डरको सम्बन्धको बारेमा यस अध्ययनको मुख्य मुख्य उद्देश्य रहेको छ ।
अध्ययनको विधि
अध्ययनका लागि मूलतः नेपाली समाजको प्रतिनिधित्व गर्ने र सामाजिक सञ्जालमा जोडिएका विभिन्न तहका २२५ जना मानिसहरूबाट तथ्यांक संकलन गरिएको थियो । त्यसको लागि १० वटा प्रश्न सहितको प्रश्नावली तयार गरी उत्तर संकलन गरिएको थियो ।
सर्भेको लागि सर्भे मङ्की नामक सफ्टवेयर मार्फत तथ्यहरूको संकलन गरिएको थियो । यसरी प्राप्त तथ्यांकलाई वर्णनात्मक विधिको प्रयोग गरेर विश्लेषण गरिएको छ ।
अध्ययनको नतिजा
व्यक्तिगत विशेषताहरू र मृत्युको डर बीचको सम्बन्ध
सर्भेमा सहभागी ४० वर्षभन्दा कम उमेरका व्यक्तिहरू ३९ प्रतिशत मात्र थिए । तीमध्ये ६१ प्रतिशत मानिस मृत्युसँग डराएको पाइएन भने ४० वर्षभन्दा माथिका १५० जना अर्थात् ७० प्रतिशत मानिस भने मृत्युसँग डराएको देखियो । यसको मतलब कम उमेर भएका मानिसहरूमा कम डर र बढी उमेरका मानिसमा बढी डर भएको देखियो ।
यो सम्बन्ध एकअर्कासँग सकारात्मक रहेको पाइयो । यो नतिजा अनुसार नेपाली समाजलाई नजिकबाट अवलोकन गर्दा सामान्य नै देखिन्छ । समाजलाई नजिकबाट अवलोकन गर्ने हो भने अधिकांश वृद्धवृद्धा मृत्युसँग डराउँदै आएको पाउँदछौं ।
अध्ययनमा पुरुषको तुलनामा महिलाहरूमा मृत्युको डर बढी रहेको देखियो । तथ्याङ्क हेर्दा समग्र सर्वेक्षणमा १८६ पुरुष सहभागी थिए भने सबैभन्दा बढी पुरुषले आफूलाई मृत्युको डर कम रहेको र बाँकी महिलालाई बढी डर भएको पाइयो । नेपाली समाजको परिप्रेक्ष्यमा यो सामान्य देखिन्छ । यो समाजको बनोट पितृसत्तात्मक भएकै कारण यो परिणाम आएको अनुमान गर्न सकिन्छ ।
अध्ययनको अर्को पाटो वैवाहिक स्थिति र मृत्युसँगको डरलाई हेर्दा सर्भेक्षणमा सहभागी अविवाहित व्यक्तिहरूको संख्या थोरै रहेको थियो, तर तिनीहरूमध्ये बहुसंख्यक मानिसलाई मृत्युसँग कम डर भएको पाइयो तर विवाहित व्यक्तिहरूमा भने अविवाहितको तुलनामा बढी डर भएको पाइयो ।
यो बढ्दो उमेरको कारण हुन सक्छ र उनीहरूले आफ्नो परिवार र समाजप्रति बढी जिम्मेवारी महसूस गरेकै कारण अविवाहित भन्दा बढी डराएको अनुमान गर्न सकिन्छ ।
शिक्षाको स्तर र मृत्युको डरबीचको सम्बन्ध
अध्ययनमा व्यक्तिले हासिल गरेको शिक्षाको स्तर र मृत्युसँगको डरलाई हेर्दा दुवै चरहरू एकआपसमा सहसम्बन्ध रहेको देखियो । उच्च शिक्षा भएका मानिसहरू अशिक्षित व्यक्तिको तुलनामा बढी डराउने गरेको पाइयो ।
उच्च शिक्षा हासिल गरेकामध्ये ६५ प्रतिशतलाई मृत्युसँग डर भएको पाइयो भने अशिक्षितहरूमा ४० प्रतिशत मात्र डर भएको देखियो । यो नतिजाले नेपालमा साक्षर व्यक्तिको तुलनामा शिक्षित व्यक्तिहरू मृत्युसँग बढी डराउँछन् भन्ने देखिन्छ ।
शारिरीक स्वास्थ्य र मृत्युको डरबीचको सम्बन्ध
मानिसको स्वास्थ्य दीर्घ जीवनको लागि अनिवार्य शर्त हो । एउटा स्वस्थ र अस्वस्थ मानिस मध्ये को बढी मृत्युसँग डराउँदछ भनी गरिएको सर्भेको नतिजा अनुसार स्वस्थ व्यक्तिमध्ये ६७ प्रतिशत मानिसहरूमा मृत्युको डर नभएको र ३३ प्रतिशतमा मात्र डर भएको देखियो ।
त्यसैगरी अस्वस्थ मानिसमध्ये ६९ प्रतिशतमा मृत्युदेखि डर रहेको छ भने ३१ प्रतिशतमा डर नभएको पाइयो । यसले के देखाउँछ भने स्वस्थ मानिसको तुलनामा अस्वस्थ मानिसमा मृत्युको डर बढी हुँदोरहेछ ।
पेशा र मृत्युको डरसँगको सम्बन्ध
अध्ययनबाट कृषि पेशामा संलग्न रहेका मध्ये ५६ प्रतिशत, रोजगारी क्षेत्रमा संलग्न ६५ प्रतिशत र व्यापार तथा व्यवसायमा संलग्न मध्ये ६० प्रतिशतमा मृत्युदेखि डरको भावना रहेको पाइयो । यसले रोजगारी क्षेत्रको तुलनामा कृषि, व्यापार तथा उद्योग क्षेत्रमा संलग्न मानिसहरूमा डर कम रहेको देखिन्छ ।
यसबाट के भन्न सकिन्छ भने कृषि क्षेत्रमा संलग्न मानिसमा चेतनाको कमीको कारण र उद्योग व्यापारमा संलग्न मानिसमा रोग लागेको खण्डमा सजिलै स्वास्थ्य उपचार प्राप्त गर्न सक्ने भएको कारण रोजगारीमा संलग्न मानिसभन्दा तुलनात्मक रूपमा कम डर भएको हो भनेर अनुमान गर्न सकिन्छ ।
आर्थिक स्थिति र मृत्युको डरसँगको सम्बन्ध
अध्ययनमा आर्थिक अवस्था र मृत्युसँगको डरलाई हेर्दा निम्न वर्गमा ५८ प्रतिशत, मध्यम वर्गमा ६४ प्रतिशत र उच्च वर्गमा ८० प्रतिशत मानिसमा मृत्युसँग डराएको देखियो । यसबाट तल्लो वर्गका मानिसहरूको तुलनामा राम्रो आर्थिक स्थिति भएका मानिसहरू मृत्युसँग बढी डराउने रहेछन् भन्ने देखिन्छ ।
निचोड :
यो अध्ययनको समग्रतालाई हेर्दा नेपाली समाजमा रहेका मानिसहरूमा विशेषतः बढी उमेरका मानिसहरू कम उमेरको तुलनामा बढी डराउने रहेछन् । त्यसैगरी, पुरुषको तुलनामा महिलाहरू बढी डराउने गरेको देखियो ।
अविवाहित मानिसको तुलनामा विवाहितहरूमा बढी डर रहेको पाइयो । साक्षर मात्र भएका मानिसको तुलनामा उच्च शिक्षा हासिल गरेका मानिसमा बढी डर भएको पाइयो । स्वस्थ मानिसको तुलनामा अस्वस्थ व्यक्तिहरूमा मृत्युसँग बढी डर भएको पाइयो । त्यसैगरी कृषि, व्यापार र उद्योग क्षेत्रमा संलग्न व्यक्तिहरू रोजगारी मात्र भएका व्यक्तिहरूको तुलनामा कम डराएको पाइयो ।
निम्न वर्गको मानिसहरूमा मध्यम तथा उच्च वर्गको आर्थिक अवस्था भएका भन्दा कम डराउने गरेको अर्थात् कमजोर आर्थिक अवस्था भएकाको तुलनामा राम्रो आर्थिक अवस्था भएका मानिसहरू मृत्युसँग बढी डराउँछन् भन्ने देखिन्छ ।
अध्ययनको नतिजालाई हेर्दा मृत्युदेखि डराउनेहरूमा बढी उमेर भएका, आर्थिक रूपले सम्पन्न, विवाहितहरू, अस्वस्थ र शिक्षित मानिसहरू बढी रहेको पाइयो । यो नतिजाले समाजसँग बढी सम्बन्धित तथा आफूलाई बढी उत्तरदायी भएको महसूस गर्ने व्यक्तिहरू बढी संख्यामा डराएको देखिन्छ ।
डर आफैंसँग भन्दा पनि आफ्नो ज्ञान नष्ट हुने, आफूले आर्जन गरेको धनको उपयोग आफैंले गर्न नपाउने, पदको उपयोग गर्न नपाउने जस्ता तत्वहरूप्रतिको लोभ, मोह र भोगको कारण मानिस बढी डराउने गरेको देखिन्छ । साथै, व्यक्तिलाई समाज, परिवार, सम्पत्ति, पद तथा प्रतिष्ठा जस्ता तत्वले कमजोर बनाउने भएकै कारण उनीहरूमा बढी डर सिर्जना हुने गरेको पाइयो ।
अतः मानिसमा मृत्युदेखि लाग्ने डर कम गराउनको लागि उनीहरूमा विद्यमान लोभ, मोह, भोगको चाहनालाई घटाउनुपर्छ । त्यसको लागि व्यक्ति प्राकृतिक मानवको रूपमा परिणत हुनुपर्छ । मानिस जन्मँदा जस्तो अवस्थामा आएको र मृत्युपश्चात पनि त्योभन्दा बढी केही लैजान सक्दैन र पाउँदैन भन्ने कुराको विश्वास दिलाउनुपर्छ । समाजमा मृत्यु सत्य अरू सबै मिथ्या हो भन्ने कुराको बोध गराउनुपर्छ ।
समाजमा मृत्युलाई सहज रूपमा लिने संस्कार विकासको लागि मृत्यु उत्सव मनाउने संस्कारको विकास गर्ने, जीवनलाई नियन्त्रणमा लिने कोशिश गर्ने, मृत्यु प्राकृतिक हो भनेर स्वीकार गर्ने, आध्यामिक ध्यान योग गर्ने, विगतमा गरेका राम्रा र नराम्रा कामको समीक्षा गर्ने गर्नुपर्दछ ।
यसो गर्न सकिएको खण्डमा हरेक मानिसले मृत्युलाई सहज रूपमा लिनेछन् र समाजमा एन्जाइटीग्रस्त रोगीहरूको संख्या घटाउन समेत सहयोग पुग्न जानेछ ।
लेखक हङकङका लागि नेपालका महावाणिज्य दूत हुन् ।
प्रतिक्रिया 4