News Summary
Generated by OK AI. Editorially reviewed.- २४ भदौमा भएको जेनजी आन्दोलनका कारण तीनकुने प्रहरी वृत्तमा आगजनीले १०० भन्दा बढी मोटरसाइकल जलेर डल्लो परेको थियो।
- स्थानीय समुदायले प्रहरी वृत्त पुनर्निर्माणका लागि समिति गठन गरी स्वयंसेवक र विभिन्न संघसंस्थासँग सहयोग जुटाएको छ।
- कोटेश्वर, सातदोबाटो र टेकु प्रहरी बिटमा पनि समुदायको पहलमा पुनर्निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ।
७ असोज, काठमाडौं । प्रहरीको मनोबल खस्किएको थियो । आवासदेखि पोशाकसम्म सबै ध्वस्त थिए । प्रहरीलाई कुट्दै खोलैखोला लखेटिएको थियो भने हतियार खोसिएका थिए । जनतालाई सुरक्षा दिने प्रहरी आफैँ गुहार माग्नुपर्ने अवस्थामा आइपुगेको थियो ।
यसको कारण थियो- २४ भदौमा जेनजी आन्दोलनका नाममा भएको उग्र प्रदर्शन ।
यो प्रदर्शनमा समूह-समूहमा बाँडिएर विभिन्न सरकारी एवं निजी संरचना ध्वस्त बनाइए । देशभर आंतक मच्चियो । यसबाट अछुतो रहेन- तीनकुनेस्थित प्रहरी वृत्त बानेश्वर । त्यहाँ आगजनीले १०० भन्दा बढी मोटरसाइकल जलेर डल्लो परे, गाडी खरानी बने, ट्रस पूरै नष्ट भए ।

भवनका झ्याल-ढोका, फर्निचर र कागजात ध्वस्त भए । बाहिरी गेटदेखि भित्रैसम्म धुलो र धुवाँले भरिएको हृदयविदारक दृश्य थियो । ‘यहाँको अवस्था देख्दा मन रोयो । प्रहरीहरू खोलैखोला लखेटिए, सांघातिक आक्रमण भयो । यसले उनीहरूको मनोबल पूरै टुटेको थियो,’ स्थानीय रमेश गौतम सम्झन्छन् ।
काभ्रेका स्थायी बासिन्दा गौतम हाल तीनकुने बस्छन् । सामाजिक कार्यमा सक्रिय छन् । उनका अनुसार यो चौकी उनीजस्ता मर्निङ वाक गर्नेहरूको बाटोमा पर्छ । जेनजी आन्दोलनले जसरी क्षति पुर्याएको देखे, सबैलाई दु:खी बनायो । त्यसैले सबै मिलेर बनाउनुपर्छ भन्ने भयो । समुदायले आफूलाई सुरक्षा दिने प्रहरी वृत्त नै निरीह अवस्थामा रहेको हेर्न सकेनन् ।
पुनर्निर्माणको पहल तुरुन्तै सुरु भयो । २७-२८ भदौमा एकीकृत उपभोक्ता समिति, तीनकुने टोल सुधार समिति, सामुदायिक विकास समिति र मदन भण्डारी स्मृति प्रतिष्ठानको बैठक बस्यो । ‘हामीले गफगाफ गर्यौं । एकताको भावना जाग्यो,’ गौतम भन्छन् ।
समितिले तत्काल ५०-५० हजार सहयोग घोषणा गरेर कार्यालय सञ्चालनको आधार तयार गर्ने योजना बनायो । ३० भदौमा ३१, ३२, १० र ९ वडाका टोल सुधार समिति, संघसंस्था र सामाजिक व्यक्तित्वहरूको भेला भयो । यही भेलाले बानेश्वर प्रहरी वृत्त मर्मत-सम्भार तथा पुनर्स्थापना समन्वय समिति गठन गर्यो ।
१७ सदस्यीय यो समितिमा पूर्वसरकारी कर्मचारी, व्यवसायी र टोल प्रतिनिधिहरू सामेल भए । संयोजकमा भिमसेनगोला निवासी क्याप्टेन रमेश श्रेष्ठ र सह-संयोजकमा रमेश गौतम चुनिए । काम तीव्र गतिमा अघि बढ्यो ।

स्वयंसेवकहरूले निःशुल्क सफाइ गरे । च्वाइस नेपालले रङरोगनको जिम्मा लियो । शहीद नेपालले श्रमिकको व्यवस्थापन गर्यो । त्यसपछि एउटा कन्स्ट्रक्सन कम्पनीलाई जिम्मा दिइयो, जहाँ ५-७ जना मेसिनरी काम र ८-१० जना रङरोगनमा खटिए । यसपछि पनि समितिको खातामा नगद र चेक स्वतःस्फुर्त जम्मा भइरहेको छ ।
‘हामीले जबर्जस्ती माग्नु परेन, सहयोग आफैं आयो,’ गौतम बताउँछन् ।
यसरी तीनकुनेमा रहेको प्रहरी वृत्तमा एक हप्तामा ७५ फिट लामो ब्लक तयार भयो । दशैं अगाडि नै हस्तान्तरण गर्ने योजना रहेको गौतमले बताए ।

आवास त बन्ला । प्रहरीको मनोबल के होला ? गौतम भन्छन्, ‘हामी समुदाय छौं, चिन्ता नलिनुस् भनेर भनेका छौँ । उहाँहरूलाई सहज हुनेगरी काम गरेका छौँ । पहिलाभन्दा अहिले उहाँहरूको उत्साह धेरै बढेको छ ।’
कोटेश्वरको महानगरीय प्रहरी प्रभाग र ट्राफिक कार्यालय पुनर्निर्माणमा पनि उसैगरी समुदाय जुटेका छन् । यी कार्यालय पनि २४ भदौको ध्वंसबाट बच्न सकेनन् । प्रभागको ढलान र गाह्रो बाहेक सबै जलेका थिए । स्थानीयका अनुसार कार्यालयका झ्याल-ढोका, फर्निचर, सवारी साधन सबै जलेका थिए ।

पारिपट्टी रहेको ट्राफिक कार्यालयमा भने तुलानात्मक रूपमा क्षति कम थियो । भदौ २४ राति जेलबाट कैदी भागेपछि स्थानीय झन् आत्तिए । असुरक्षित महसुस गरायो ।
‘जेलबाट थुनुवा भागे, सुरक्षाको कुनै भर थिएन । घरमा बस्दा पनि म सुरक्षित छु कि छैन भन्ने लागिरह्यो,’ सरस्वती क्लबका अध्यक्ष र पुनर्निर्माण समितिका संयोजक स्थानीय उत्तम भण्डारी सम्झन्छन्, ‘प्रहरीको महत्व त त्यसबेला झन् बुझियो नि ।’
यसरी प्रहरीको रिक्तता महसुस गरेका स्थानीयले प्रहरीको मनोबल उकास्न र संरचना ठड्याउन आफूहरूले सहयोग गर्नुपर्ने बुझे । २६ भदौमा समुदायको पहिलो बैठक भयो । ‘पहिलो दिन शोकमय थियो, दिमागले काम गरेन,’ भण्डारीले भने, ‘तर, २७ भदौमा ७०-८० जनाको भेलाले पुनर्निर्माण समिति बनायो । ट्राफिक कार्यालयका इन्चार्जसँग समन्वय गरेर २९ भदौमा भाँडाकुँडा, ओछ्याउने-ओढ्ने, फलामका खाट, बिजुली र पानीको व्यवस्था गरियो ।’

उनले थपे, ‘हामीले ट्राफिकलाई पनि तपाईंहरू आउनुहोस्, हामी वातावरण बनाउँछौं भन्दा इन्चार्ज सहमत भए र ट्राफिक कार्यालय फर्कियो ।’
त्यस्तै, ३० भदौबाट कोटेश्वर चोकमै रहेको प्रभागको पुनर्निर्माण सुरु भयो । जलेका सवारी साधन पन्छाउन दुई दिन लाग्यो । काम तीव्र गतिमा अघि बढ्यो । ६-७ जना ढलान र ट्रसमा, १०-१२ जना रङरोगनमा, ४-५ जना फलामको काममा र ३ जना बिजुलीमा खटिए । कोटेश्वर क्याम्पसका विद्यार्थीले सफाइमा सहयोग गरे ।

भण्डारीका अनुसार स्वतःस्फुर्त सहयोग आयो । कसैसँग जबर्जस्ती माग्नु परेन । यसले पुनर्निर्माणको संयोजन गरिरहेकामा उत्साह थप्यो । त्यसपछि ढलानको पानी चुहावट रोक्न काम थलियो । ट्रस र रङरोगनको कामले गति लियो । प्रहरीको मनोबल पनि उकासियो ।
‘हामीले साथ दियौं, उहाँहरूको उत्साह बढ्यो । तपाईंलाई आज हेर्दा विश्वास नलाग्ला । तर दुई दिनमै हस्तान्तरण गर्छौँ भन्ने आत्मविश्वास छ,’ भण्डारीले भने, ‘समुदाय जागे जे पनि सम्भव छ । यसले बिगार्न पनि सक्छ, बनाउन पनि सक्छ । अब हामीले बनाउने नै हो । अरू विकल्प छैन ।’
सामुदायिक एकताको यस्तो प्रेरणा सातदोबाटो प्रहरी वृत्तमा पनि देखियो । हामी त्यहाँ पुग्दा विभिन्न सहयोगी भेला भइरहेका थिए । भित्री भागमा रङ लगाउने काम चलिरहेको थियो । बाहिर आवश्यकताअनुसार श्रमिकले काम गरिरहेका थिए । २४ भदौमा जलेर ध्वस्त भएको यो संरचना बनाउन कलाकार किरण केसी (रातामकै) भिडेका देखिए ।

उनीसँगै अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीलगायत व्यक्ति देखिए । उनीहरू एकजुट भएर प्रहरीको मनोबल उकास्ने भवन बनाउने काममा सक्रिए थिए ।
त्यस्तै, टेकु प्रहरी बिटमा निर्माणमा सक्रिय छन्, स्थानीय भरत शाही ठकुरी । स्थायी घर सुर्खेत भएका उनी होटल व्यवसायी हुन् । जब २४ भदौको जेनजी आन्दोलनले समुदायलाई सुरक्षा दिने प्रहरी बिट ध्वस्त भयो, उनलाई विरक्त लाग्यो । ठकुरीका अनुसार प्रहरी बिट काम नलाग्ने अवस्थामा थियो । त्यसैले उनी आफैँ लागि परेर पुनर्निर्माणमा खटिए । कलर लगाउनेदेखि अन्य काममा पनि सक्रिय भए ।
यसको पुनःनिर्माणमा करिब ८१ हजार रुपैयाँ खर्च भएको उनले बताए । ‘अब यो प्रहरी बिट बस्नलायक मात्र हैन, पहिलाको भन्दा पनि राम्रो भएको छ,’ उनले भने, ‘प्रहरीकै मनोबल गिर्नेगरी यस्तो घटना भयो, हामी आफैँ जुट्नुको विकल्प थिएन । मेरो अगुवाइमा ५-७ जना मिलेर पुनःनिर्माणमा जुट्यौं । अहिले राम्रो बनेको छ ।’
यसरी अन्य स्थानमा पनि समुदाय नै अघि बढेर ढलेका संरचना उठाउन थालेका देखिन्छन् । उनीहरूको एउटै स्वर सुनिन्छ- समुदाय मिले खरानी टक्टक्याएर उठ्न सम्भव छ । उठिन्छ ।
हेर्नुहोस् थप तस्वीरहरू :

प्रतिक्रिया 4