+
+

कांग्रेसमा फरक दृश्य : नवलपुरमा देउवा–कोइरालाको गठबन्धन

अमृत सुवेदी अमृत सुवेदी
२०७८ मंसिर ७ गते २०:१६

७ मंसिर, पोखरा । नेपाली कांग्रेसको पालिका र क्षेत्रीय अधिवेशनमा सभापति शेरबहादुर देउवा र इतर सूमहबीच प्यानलै बनाएर प्रतिस्पर्धा भइरहेको छ । तर महामन्त्री शशांक कोइरालाको जिल्ला नवलपुरमा भने फरक दृश्य देखिएको छ ।

नवलपुरमा संस्थापन इतर समूहभित्र पनि शशांक पक्ष हाबी छ । त्यहाँ शशांक पक्षले देउवा पक्षसँग मिलेर एउटै प्यानल बनाएको छ भने कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको अर्को प्यानल छ । देउवा–कोइराला र पौडेल समूहबीच प्यानलै बनाएर क्षेत्रीय सभापतिका लागि चुनाव भएको छ ।

‘कांग्रेसको यो आन्तरिक चुनाव हो तर, देशका अन्य ठाउँभन्दा यहाँको दृश्य थोरै फरक छ,’ नवलपुर क्षेत्र नम्बर २ (क) का सांसद तथा महाधिवेशन प्रतिनिधिका उम्मेदवार विष्णु लामिछाने भन्छन्, ‘देउवा–कोइराला र पौडेल समूहबीच प्रतिस्पर्धा भइरहेको छ । यहाँको परिणाम भोलि बिहानसम्म आइपुग्ला ।’

नवलपुर क्षेत्र नम्बर १ को सभापतिका लागि देउवा–कोइराला प्यानलबाट कमलप्रसाद पराजुली र पौडेल पक्षबाट अमृत भट्टचन सभापतिको उम्मेदवार बनेका छन् । यस्तै क्षेत्र नम्बर २ को सभापतिका लागि देउवा–कोइराला प्यानलका जगतबहादुर कार्की र पौडेल प्यानलका सूर्य गुरूङबीच प्रतिस्पर्धा चलिरहेको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल पनि नवलपुर क्षेत्र नम्बर १ को (क) बाट प्रदेशसभा सदस्य चुनाव जितेका हुन् । मुख्यमन्त्री पोखरेल देउवा–कोइरालाको प्यानलबाट महाधिवेशन प्रतिनिधिको उम्मेदवार बनेका छन् ।

क्षेत्र नम्बर १ मा ११६७ र क्षेत्र नम्बर २ मा ७९९ क्षेत्रीय प्रतिनिधि छन् । दुबै क्षेत्रबाट सबै क्लस्टरमा गरी २४ जना महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी परेको छ । सांसद तथा महाधिवेशन प्रतिनिधि उम्मेदवार ओमकला गौतम भन्छिन्, ‘भूूगोल र परिस्थिति अनुसार पनि राजनीतिलाई प्रभाव पार्ने रहेछ । नवलपुरमा अन्य ठाउँको राजनीतिक दृश्यभन्दा फरक छ । भूगोल र राजनीतिक पृष्ठभूमिले पनि यस्तो प्यानल बन्ने गर्दोरहेछ । यसलाई त्यसरी नै बुझौं, सबै ठाउँमा एकै हुँदैन ।’

क्षेत्रीय महाधिवेशन मात्रै होइन, जिल्लाको पदाधिकारीमा पनि यही प्यानल बन्ने नेताहरुले बताएका छन् ।

मदनभक्त अधिकारीले देउवा–कोइराला समूहबाट सभापतिको दाबी गरिरहेका छन् भने महेन्द्रध्वज जिसी पौडेल समूहबाट उम्मेदवारको दाबी गरिरहेका छन् ।

कास्कीमा पूर्व सांसद र सभापतिको उम्मेदवार नै पराजित

कास्कीमा पूर्व सांसद तथा राष्ट्रिय सभा सदस्य वृन्दा राना र जिल्ला सभापतिमा दाबी गरिरहेका कृष्ण कार्की महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् ।

अघिल्लो कांग्रेस महाधिवेशन कोषाध्यक्ष लडेका कार्की यसपटक कास्की जिल्ला सभापति उठ्ने घोषणा गर्दै क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिको उम्मेदवार बनेका थिए । खुलाबाट १० जना प्रतिनिधि छानिनेमा कार्की ११ औं स्थानमा आएका हुन् ।

पूर्व सांसद राना कास्की क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिको उम्मेदवार बनेकी थिइन् । कास्की क्षेत्र नम्बर १ का राजेन्द्रमणि लामिछाने, क्षेत्र नम्बर २ मा केशरप्रसाद निर्दोषी र क्षेत्र नम्बर ३ मा मनोज गुरुङ सभापति बनेका छन् ।

क्षेत्र नम्बर ३ का निर्वाचित गुरुङ देउवा समूहका हुन् भने लामिछाने र निर्दोषी पौडेल समूहका हुन् ।

स्याङ्जामा जिल्ला सभापति र सांसद पराजित

स्याङ्जामा जिल्ला सभापति तथा संघीय सांसद नै महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । खुलातर्फबाट उम्मेदवार बनेका कांग्रेस स्याङ्जा कार्यवाहक सभापति बुद्धिबहादुर राना (कुमार) महाधिवेशन प्रतिनिधिमा हारेका हुन् ।

रानाले जिल्ला सभापतिका लागि दाबी गरिरहेका थिए । स्याङ्जा क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका राना १२ औं स्थानमा परेका थिए । उनी सभापति शेरबहादुर समूहका हुन् ।

संघीय सांसद मोहनप्रसाद पाण्डे पनि महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । रामचन्द्र पौडेल समूहका सांसद पाण्डे पनि खुलबाट प्रतिस्पर्धामा थिए ।

स्याङ्जा कांग्रेस पूर्वसभापति खगेन्द्र रेग्मी पनि महाधिवेशन प्रतिनिधिमा पराजित भए । वालिङ नगरपालिकाका पूर्व मेयर भोजराज अर्याल पनि महाधिवेशन प्रतिनिधि बन्न सकेनन् ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment