+
+

कांग्रेस प्यूठान सभापतिको मतगणना स्थलमा तनाव, ५ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ७ गते २३:२३

७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको प्यूठान जिल्ला अधिवेशनको मतगणना स्थल तनावग्रस्त बनेको छ ।

मंगलबार साँझ जिल्ला सभापतिको मतगणना अन्तिम अवस्थामा पुगेका बेला ढुंगामुढा भएपछि स्थितिलाई नियन्त्रणमा लिन दुई राउण्ड अश्रूग्याँस प्रहार गर्नुपरेको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले अनलाइनखबरलाई बताए ।

संस्थापन इतर पक्षका उम्मेदवार विष्णु गिरी १०६४ मध्ये ६५ मत गणना गर्न बाँकी छँदा ४६ मतले अगाडि रहेको अवस्थामा ढुंगामुढा भएको थियो । मतगणना स्थल स्वर्गद्वारी क्यापस बाहिरबाट आएको हुलले ढुंगामुढा गरेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरी परिचालित भएको बताइएको छ ।

त्यसक्रममा भएको झडपमा दुई सर्वसाधारण र नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका एक/एक जना सुरक्षाकर्मी गरी ४ जना घाइते भएका छन् ।

गिरी पक्षका नेताहरु संस्थापन पक्षका प्रतिद्वन्दी शिव रिजाल पक्षकाले ढुंगामुढा गराएको आरोप लगाउँछन् ।

तर प्रशासन चाहिँ ढुंगा कसले हान्यो भन्ने टुंगो लागिनसकेको बताउँछ । प्रजिअ भुसाल भन्छन्, ‘आक्रमण गर्नेको खोजी गरिरहेका छौं, पक्राउ परेपछि मात्रै थाहा हुन्छ ।’

भुसालका अनुसार मत पेटिका सुरक्षित साथ राखिएको छ । उनी भन्छन्, ‘तत्काललाई गणना स्थगित गरिएको छ, पुनः सुरु हुन्छ ।’

मतगणना स्थलमा रिजाल पक्षले केहिवेर नारावाजी पनि गरेको थियो । हाल स्थिति सामान्य रहेको भुसाल बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?