+
+

देवराज चालिसेले कांग्रेस गण्डकी प्रदेश सभापतिमा उम्मेदवारी दिने

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ८ गते ७:४३

८ मंसिर, पोखरा । नेपाली कांग्रेस क्षेत्रीय समिति निर्वाचनको सबै नतिजा आइसकेको छैन । विजयी भएका महाधिवेशन प्रतिनिधिले भने केन्द्र र प्रदेशका लागि तयारी थालिसकेका छन् ।

सोमबार भएको कास्की क्षेत्र नम्बर २ को निर्वाचनबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित देवराज चालिसेले गण्डकी प्रदेश सभापतिको उम्मेदवार बन्ने भएका छन् ।

गण्डकी प्रदेश समिति सभापतिको योजना अनुसार महाधिवेशन प्रतिनिधिको उम्मेदवार बनेका चालिसेले कास्की क्षेत्र नम्बर २ मा दोस्रो लोकप्रिय मत ल्याएका थिए । सर्वाधिक मत ल्याउने गण्डकी प्रदेश सभाका सांसद विन्दुकुमार थापा थिए ।

चालिसेले निर्वाचित भएलगत्तै प्रदेश सभापतिका लागि तयारी थालेका छन् । १० गते हुने जिल्ला सभापतिका लागि कास्कीमा कसैले औपचारिक घोषणा गरिसकेका छैनन् । चालिसेले भने १६ गते हुने प्रदेश कमिटी सभापतिको लागि आज बुधबार बिहान उम्मेदवारी घोषणा गरेर चुनावमा होमिने भएका छन् । प्रदेश सभापतिमा अहिलेसम्म कसैको उम्मेदवारी घोषणा भइसकेको छैन ।

नेपाली कांग्रेस वृतमा वौद्धिक नेताका रुपमा चिनिने चालिसे २०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा कास्की क्षेत्र नम्बर २ को उम्मेदवार थिए । चर्चित युवा नेता स्वर्गीय रवीन्द्र अधिकारीसँगको प्रतिस्पर्धापछि चालिसेको चर्चा अझै बढेको थियो ।

त्रिभुवन विश्वविद्यालयका स्थायी प्राध्यापक चालिसेले राजीनामा दिएर पोखरा महानगरपालिकाको मेयरको दाबी गरेका थिए । तर, रामजी कुँवरले टिकट पाएका थिए ।

प्रतिनिधि सभाको निर्वाचनमा एमालेबाट दुई पटकसम्म चुनाव जितिसकेका रवीन्द्र अधिकारीलाई पराजित गर्न सक्ने प्रखर नेता चालिसे नै देखेपछि कांग्रेसले टिकट दियो । तर, ८ हजार ५४६ मतान्तरले पराजित भए ।

चालिसे नेविसंघ कास्की अध्यक्ष, नेविसंघ केन्द्रीय कार्यवाहक अध्यक्ष हुँदै कांग्रेस राजनीतिमा प्रवेश गरेका हुन् । अहिले कांग्रेस महासमिति सदस्य छन् ।

बौद्धिक र तार्किक नेताका रुपमा चिनिएका चालिसे पृथ्वीनारायण क्याम्पसमै विद्यार्थी राजनीति गरेर कास्कीमा चिनिएका थिए । नेता चालिसे पृथ्वीनारायण क्याम्पसमा स्ववियु सभापतिमा उठे तर अनरास्ववियुको पकड भएकाले जित्न सकेनन् ।

०४९ सालमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा स्ववियु सभापति बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?