+
+

नासाको ‘आत्मघाती’ यान अन्तरिक्षमा पठाइयो

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ८ गते १४:५३

८ मंसिर, काठमाडौं । नासाले पृथ्वीतर्फ आउने उल्का पिण्डको दिशा परिवर्तन गर्ने उद्देश्यसहित आफ्नो ‘आत्मघाती’ यान अन्तरिक्षमा पठाएको छ ।

नासाले बुधबार परीक्षण स्वरुप उल्का पिण्डमा ठोक्याइने एक यान अन्तरिक्षमा प्रक्षेपण गरेको अलजजिराले जनाएको हो । क्यालिफोर्नियास्थित भन्डेनबर्ग स्पेश फोर्स बेसबाट उल्का पिण्डमा ठोक्याइने यान स्पेसएक्सको रकेटमार्फत् पठाइएको हो ।

डार्ट नामक नासाको पछिल्लो अन्तरिक्ष मिशनबाट पृथ्वीतर्फ आउने उल्का पिण्डको दिशा के-कति मोडेर पृथ्वीका प्राणीलाई बचाउँन सकिन्छ् भनेर हेरिने छ ।

‘हामीले जोखिमलाई कसरी पन्छाउन सकिन्छ भनेर परीक्षण गर्दै छौं’, नासाका वरिष्ठ वैज्ञानिक थोमस जुबुर्चेनले भने ।

हाल सूर्यलाई परिक्रमा गरिरहेका २ वटा उल्कापिण्डमध्ये डिमोर्फोस नामक उल्कापिण्डमा नासाको यान ठोक्याइने समाचारमा उल्लेख छ । झण्डै १६० मिटर चौडा उक्त उल्का पिण्डले ७६२ मिटर चौडा डिडिमोस उल्का पिण्ड वरपर समेत घुमिरहेको छ ।

उल्का पिण्डमा अन्तरिक्ष यान ठोक्याउने नासाको यो पहिलो परियोजना हो । परियोजनामा कुल ३३ मिलियन डलर खर्च हुनेछ ।

ठूलो फ्रिज आकारको डार्ट डिमोर्फोसमा प्रतिघण्टा १५ हजार माइलको गतिमा ठोक्किने अपेक्षा गरिएको छ । आगामी सेप्टेम्बर २६ वा अक्टोबर १ मा ठोक्किन सक्ने नासाको अनुमान छ ।

डिमोर्फोस र डिडिमोस दुवै उल्का पिण्डबाट हाल पृथ्वीलाई कुनै जोखिम छैन । तर यी दुवै ४८ मिलियन किलोमिटरभित्र रहेका र पृथ्वी नजिकका वस्तु (निअर अर्थ अब्जेक्ट)को सूचीमा पर्छन् ।
नासाको प्लानेटरी डिफेन्स कोअर्डिनेशन अफिसले १४० मिटरभन्दा ठूला उल्का पिण्डमा रुची देखाउँदै आएको छ । एक सय ४० मिटरभन्दा ठूलो उल्का पिण्ड पृथ्वीमा ठोक्कियो भने आणविक बमको भन्दा धेरै शक्ति उत्पन्न हुन्छ र एउटा शहर वा क्षेत्र पूर्ण ध्वस्त हुन सक्छ ।

हालसम्म उक्त साइज वा सोभन्दा ठूला ‘निअर अर्थ अब्जेक्ट’को संख्या १० हजार रहेको पत्ता लागेको छ । तर यी उल्का पिण्ड आगामी १ सय वर्षसम्म पृथ्वीमा ठोक्किने कुनै सम्भावना छैन । वैज्ञानिकाका अनुसार थप १५ हजार ‘निअर अर्थ अब्जेक्ट’ पत्ता लगाउन बाँकी नै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?