१० भदौ, काठमाडौँ । नेपाल प्रहरीले रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण सम्पर्कविहीन भएका प्रहरी कर्मचारीको खोजी कार्यलाई तीव्रता दिन र उनीहरूका परिवारजनसँग आवश्यक समन्वय गर्न सम्पर्क अधिकृत तोकेको छ ।
प्रहरी प्रधान कार्यालयले आज एक विज्ञप्ति जारी गरी बाढीका कारण सम्पर्कविहीन भएका प्रहरी कर्मचारीको खोजी कार्यलाई तीव्रता दिन सम्पर्क अधिकृत तोकेको जनाएको हो ।
चीनको तिब्बत क्षेत्रबाट आएको आकस्मिक बाढीले रसुवाको बेत्रावती, टिमुरे, स्याफ्रुबेँसी र सीमावर्ती क्षेत्रमा ठूलो क्षति पुर्याएको छ । यस विपद्मा परेर टिमुरेस्थित इलाका प्रहरी कार्यालय र अन्य पोस्टमा कार्यरत केही प्रहरी कर्मचारीहरू सम्पर्कविहीन भएका छन् ।
प्रहरी प्रधान कार्यालयले बेपत्ता प्रहरीको अवस्थाबारे जानकारी लिन र परिवारलाई सूचित गर्नका लागि प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषकुमार भट्टराई, प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारी, प्रहरी निरीक्षकत्रय चुडाकुमारी खड्का, प्रकाश थापा, राजेश बस्नेत र प्रहरी सहायक निरीक्षक ज्ञानेन्द्र कोइरालालाई तोकेको छ ।
बाढीका कारण सञ्चार सेवा अवरुद्ध भएको र भौगोलिक विकटताका कारण खोजी कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । हाल नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले घटनास्थलमा खोजी तथा उद्धार कार्य जारी राखेको छ । हेलिकप्टर र ड्रोनको समेत प्रयोग गरी प्रभावित क्षेत्रमा उद्धार कार्य भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । अहिलेसम्म २८ जना प्रहरी कर्मचारी सम्पर्कमा नआएको प्रहरी बुलेटिनमा उल्लेख छ।
प्रतिक्रिया 4