+
+

भरपेट भात रुच्छ, मस्त निद्रा लाग्छ

निर्मल शर्मा 'गैंडा' निर्मल शर्मा 'गैंडा'
२०७८ मंसिर ८ गते १५:०३

मेरो निद्रा गज्जब छ । निदाउनको लागि स्लिपिङ ट्याब्लेट खाइरहनु पर्दैन । सुतेको बढीमा ५ मिनेटमा म निदाइसक्छु भने ८ घण्टासम्म कुनै पर्वाहबिना नै म ढुक्कसँग निदाउँछु । मलाई सुत्नु सबैभन्दा ठूलो मेडिसिन हो जस्तो लाग्छ । सुत्नेबेलामा मेरो मोबाइल अफ हुन्छ । एकैपटक उठेपछि मात्रै मोबाइल अन गरेर मेरो दैनिकी शुरु हुन्छ ।

बिहान पौने ५ बजेदेखि ५ बजे जागेसँगै मेरो दैनिकीको शुरुवात हुन्छ, यो मेरो नियमित कार्यतालिका हो । राति नौदेखि साढे नौ बजेभित्र म सुतिसकेको हुन्छु । कहिलेकाहीं ढिलासम्म काम भयो र घरै ढिला आउँदाबाहेक मेरो सुत्ने तालिकामा सामान्यतया कुनै भिन्नता आउँदैन । यो बीचमा म दिनभरिका चिन्ता बटुलेर आफ्नो निद्रालाई बिथोल्ने काम गर्दिन । महत्वाकांक्षा त्यागेर म आनन्दसँग निदाउने गर्छु ।

बिहान म उठ्नासाथ मोबाइल अन गर्छु र अरूले जस्तै पहिले फेसबुक हेर्छु । रातभरमा के घटना घटेछन् ? को-को भाइरल भएछन् ? कसैले म्यासेज गरेका छन् भने म्यासेज रिप्लाई गर्छु । त्यसपछि मेरो बानी, त्यो हो जन्मदिनको शुभकामना । आज जन्मदिन भएकाहरूलाई नछुटाई शुभकामना दिनु मेरो विशेषता हो । सात/आठ वर्ष भयो नियमित यसरी शुभकामना दिएको । मेरो मान्यतामा चाहे गरिब होस् या धनी । जन्मेको दिन दुवैको लागि महत्वपूर्ण हुन्छ । ठूला मान्छेको जन्मदिनमा ऊसँग टाँसिएको फोटो पोस्ट गर्ने तर गरिबलाई बेवास्ता गर्नुहुन्न । मेरो फेसबुकमा भएका सबै साथीलाई शुभकामना दिँदा उसको अनुहारमा एकछिन भने पनि मुस्कान आउँछ भन्ने मेरो विश्वासले पनि म शुभकामना दिने गर्छु ।

शुभकामनाको काम सकेपछि म चिया पिउँछु । पानी पिउन मन लाग्दा प्रायः चिसो पानी नै पिउने चलन छ । तर कहिलेकाहीं श्रीमतीले पानी तताएर ल्याएको बेला भने म नकार्दिन ।

मेरो परिवार पूरा धार्मिक छ । तर म नियमित पूजापाठ गर्दिन । घरमा आमा र श्रीमती पूजापाठ र मन्त्रोच्चारणमा धेरै विश्वास गर्नुहुन्छ । म पनि उहाँहरुले गरेको सबै पूजापाठमा सहयोग र साथ दिन्छु । तर म व्यक्तिगत रूपमा भने कुनै पाप नगर्नु नै सबैभन्दा ठूलो धर्म हो भन्ने मान्छु । तर अरूलाई पनि यसरी पूजापाठ नै नगर्नु भनेर भने भन्दिन म ।

म दैनिक सातदेखि ८ हजार पाइला कम्तीमा पनि हिँड्छु । भण्डारखाल जंगल, पशुपति वनकालीजस्ता ठाउँमा म बढी हिँड्ने गर्छु । हिँडेर आइसकेपछि सिफल चोकमा रहेको एउटा पुरानो चियापसलमा साथीहरु भेला भएर चना, अण्डा र चिया पिउने गर्छौं । यो पसलको विशेषता छ । यहाँ मेरा बाल्यकालदेखिका साथीहरु सधैं भेटिन्छन् । त्यहाँ गफ गरिन्छ र दिनभरको लागि छुटिन्छ पनि । यो चियापसल मभन्दा अघिल्लो, मेरो र मभन्दा पछिल्लो गरी तीनै पुस्ताका लागि लोकप्रिय छ । चिया पसलबाट फर्किने बेलामा तरकारी र फलफूल किनेर फर्किन्छु । मैले १३ वर्षको हुँदादेखि तरकारी र फलफूल किन्न थालेको, अहिलेसम्म पनि तरकारी किन्ने काम घरमा मेरो नै हो ।

हामी घरमा धेरै तरकारी खाने परिवारको मान्छ । सबैखाले तरकारी घरका सबैलाई मीठो नै लाग्छ । मेरो जेठो छोरालाई केही तरकारी मन पर्दैन तर उसले मन नपराउने तरकारी भोलिपल्ट ल्याउनु छ भने अघिल्लो दिन पकाएको तरकारी बाँकी राखेर उसलाई दिन्छौं । हामी खानाभन्दा धेरै तरकारी खान्छौं ।

हामी बिहानको खाना ११ बजेतिर खान्छौं । खानामा सादा नेपाली खाना नै पाक्छ । यसमा पनि साग र अमिलो÷पिरो अचार अनिवार्य छ । अचारमा मुला, काँक्रो आदि बढी हुन्छ । अचार कहिले सिलौटोमा त कहिले ग्रिन्डरमा बनाइन्छ ।

घरमा मैले खासै खाना बनाउनु पर्दैन । म ठिकै मीठो बनाउँछु खाना । तर मेरी श्रीमतीले धेरै मीठो बनाउने भएकोले धेरै उनले नै बनाउँछिन् । हामी एक छाक मात्रै खाना खान्छौं र खाना थोरै खान्छौं । हाम्रो घरमा तेल अत्यन्त थोरै प्रयोग हुन्छ । नुन र मसला पनि । हामी अरु खाने कुराभन्दा पनि तरकारीमा धेरै फोकस गर्छौं ।

माछामासुको कुरा गर्दा हामी हप्ताको एकदिन जसो कुखुराको मासु खाने गर्छौं । आमाबाहेक अरुले खानुहुन्छ । तर खसीको मासु चाहिं २ महिनामा एकपटक ल्याइन्छ । खाजामा हामी मःम धेरै खान्छौं । कहिले घरमा बनाएर खाइन्छ त कहिले बाहिरबाट मगाइन्छ ।

मेरो दिन सुटिङ र कामको तयारीमा बित्छ । कसैलाई भेट्नु छ भने भेट्ने, फरदर कुनै प्रोजेक्ट छ भने त्यसको भिडियो एड तयार पार्ने लगायत काममा धेरै समय बित्छ । म अपरान्ह पाँच÷छ बजेसम्म घर आइसकेको हुन्छु ।

साँझ प्रायः दुईवटा रोटी र दूध खाएर सुत्छु । दिउँसो खाजा चाहिं टन्नै खान्छु । अनुकूल मिल्यो भने कहिलेकाहीं नेवारी खाना पनि खाइन्छ ।

फेसनको सवालमा म धेरै सौखिन त होइन । तर कलाकार भएपछि झिल्के हुन मन त लागिहाल्छ । अलिकति लुगामा पनि ध्यान दिनै पर्‍यो । तर मलाई तयार हुन धेरै समय त लाग्दैन । लुगामा ब्राण्ड नै चाहिने भन्ने होइन । आफूलाई सुहाउने र मनपर्ने लुगा लगाउने हो । कलाकार भएपछि अलिअलि आफूलाई पनि प्रेसर हुँदोरैछ । तर पनि राम्रो महँगो कुराको रहर त कसलाई लाग्दैन र ? मलाई लाग्छ तर त्योभन्दैमा आफ्नो हैसियतभन्दा माथि जानुहुन्न भन्ने मेरो बुझाइ हो ।

आइफोनको नयाँ–नयाँ मोडल आइरहेको छ । साथीहरु किन किन्दैनस् भन्छन् । तर ३ लाखको आइफोन हाम्रो लागि होइन के । मसँग अहिले आइफोन ६ छ । अहिलेसम्म राम्रै चलिरहेको छ । अब त्यो छाडेर मैले नयाँ ३ लाख रुपैयाँ तिरेर नयाँ फोन किन्न मलाई चाहिं आँट आउँदैन । म घडी पनि महँगो लगाउँदिन ।

म कियाको पिकान्टो गाडी छ । गाडीमा पनि म सौखिन छैन । म दिउँसो हिँड्दा मोटरसाइकलमा हिँड्छु । महँगो गाडी देख्दा राम्रो त लाग्छ । तर म आफ्नो अनुहार हेरेर किस्ताबन्दीमा नगरी सानो गाडी चलाउने गर्छु, त्यो पनि घरपरिवारको लागि हो । परिवारसँग कतै जाँदा मोटरसाइकलमा सम्भव नहुने भएकोले एउटा गाडी किनेर राखेको हो ।

म फेसबुकमा बढी सक्रिय छु तर पनि अनावश्यक कुरा पोस्ट चाहिं गर्दिन । सान्दर्भिक कुराहरु बढी हाल्छु । सुत्न जानुअघि साढे ८ बजेबाटै मलाई निद्रा लाग्न शुरु हुन्छ । जब मलाई निद्रा लाग्न थाल्छ । त्यसपछि म मोबाइल स्वीचअफ गरेर सुत्छु । अनि फेरि भोलिपल्टदेखि नयाँ संघर्ष त शुरु भइहाल्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?