
८ मंसिर, काठमाडौं । र्यापर भिटेन (समीर घिसिङ) गायकबाट नायक बन्ने तयारीमा छन् । उनले अभिनय गर्न लागेको चलचित्र ‘रत्नपार्क’को छायांकन शुरु गर्ने तयारीमा यसका निर्माता नवराज गिरी लागेका छन् । बुढासुब्बा ओरिजिनलले निर्माण गर्ने यो चलचित्रको कथा नवराजकै हो ।
यो चलचित्रमा एक जना मानिसले बाँच्नका लागि कतिसम्म संघर्ष गर्छ भन्ने कथालाई उठाइएको छ । यही कथा पढेर भिटेन चलचित्रमा काम गर्न उत्सुक भएका हुन् ।
यो चलचित्रका लागि नवराजले तीन जना निर्देशक फेरिसकेका छन् । यसैले लिखित सम्झौता नभएसम्म बाँकी कलाकार र निर्देशकको नाम सार्वजनिक नगर्ने नवराज बताउँछन् । चलचित्र ‘रत्नपार्क’को वर्कसप पुसबाट शुरु हुनेछ । नवराज भन्छन्, ‘भिटेन बाहेक अरु कलाकार त व्यावसायिक नै हुनेछन् ।’
‘रत्नपार्क’का लागि आफूले सकेको मिहिनेत गर्ने भिटेनले बताए । चलचित्रमा काम गर्न पाउँदा उत्साहित भएको उनको भनाइ छ । ‘भिटेनले वर्कसपमा लिने समयको आधारमा हामी चलचित्रको छायांकन कहिलेबाट शुरु हुन्छ भन्न सक्नेछौं,’ निर्माता गिरीले भने ।
तर, यो चलचित्रलाई आगामी दशैंको फूलपातीमा रिलिज गर्ने गिरीको योजना छ ।
प्रतिक्रिया 4