+
+

चार महिनामा व्यापार घाटा साढे ५ खर्ब नाघ्यो, तरकारी मात्र १६ अर्बको आयात

अच्युत पुरी अच्युत पुरी
२०७८ मंसिर ८ गते १७:४५
फाइल तस्वीर

९ मंसिर, काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो चार महिना (साउन–कात्तिक) मा नेपालको व्यापार घाटा साढे ५ खर्ब नाघेको छ ।

आयात अत्यधिक बढेको र आयातको तुलनामा निर्यातको मात्रा अत्यन्त कम हुँदा व्यापार घाटा उच्च रहेको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

गत साउनदेखि कात्तिक मसान्तसम्म ६ खर्ब ५० अर्ब २९ करोड रुपैयाँको वस्तु आयात भएको छ । निर्यात भने जम्मा ८२ अर्ब १२ करोड ४२ लाख रुपैयाँको छ । जसले गर्दा ५ खर्ब ६८ अर्ब १७ लाख रुपैयाँको व्यापार घाटा देखिएको भन्सार विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

गत आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म ४ खर्ब २ अर्ब रुपैयाँको वस्तु आयात भएकामा यसवर्ष साढे २ खर्बले बढेर ६ खर्ब ५० अर्ब २९ करोड रुपैयाँको वस्तु आयात भएको हो ।

गत आर्थिक वर्ष २०७७/७८ को पहिलो चार महिनामा व्यापार घाटा ३ खर्ब ६२ अर्ब २९ करोड रुपैयाँ रहेको थियो । यस वर्ष व्यापार घाटा ५६.८३ प्रतिशतले बढेको छ ।

तथ्यांक अनुसार चालु आर्थिक वर्षको चार महिनामा वैदेशिक व्यापारको आकार ७ खर्ब ३२ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ६५.४५ प्रतिशत बढी हो ।

गत वर्ष यो अवधिमा ४ खर्ब ४२ अर्ब ६९ करोड रुपैयाँको मात्र वैदेशिक व्यापार भएको थियो । नेपालको वैदेशिक व्यापारमा आयातको हिस्सा ८८.७९ प्रतिशत र निर्यातको हिस्सा ११.२१ प्रतिशत रहेको छ ।

चार महिनाको अवधिमा ८२ अर्ब १२ करोड ४२ लाखको वस्तु निर्यात भएकामा साउनदेखि असोजसम्म ६५ अर्ब ५ करोड रुपैयाँको निर्यात भएको छ । कात्तिकमा मात्र १७ अर्ब ७ करोड रुपैयाँको निर्यात भएको छ । नेपालबाट निर्यात हुने बस्तुमा पाम आयल र भटमासको तेलको हिस्सा सबैभन्दा बढी छ ।

पेट्रोलियम पदार्थमात्रै ८८ अर्ब माथि

गत साउनदेखि कात्तिक मसान्न्तसम्म खनिज इन्धन तथा तेल र बिटुमिनको आयातमा ८८ अर्ब २४ करोड ६९ लाख रुपैयाँ खर्च भएको छ । जुन नेपालबाट भएको कुल निर्यात भन्दा पनि बढी हो ।

यो अवधिमा ५५ अर्ब ६२ करोड रुपैयाँ बराबरको आइरन तथा स्टील आयात भएको छ । यसको खपत बढी विकास निर्माणको काममा हुने गर्छ । विभिन्न प्रकारका सवारी साधनको आयातमा ४४ अर्ब ५९ करोड रुपैयाँ विदेशिएको छ । विद्युतीय सामान तथा उपकरणको आयात भने ४६ अर्ब ९१ करोड रुपैयाँ बराबरको भएको छ ।

वनस्पति घिउ तथा तेल र सो जन्य सामग्रीको आयात ५६ अर्ब २४ करोड रुपैयाँ बराबरको रहेको छ । घिउ तथा तेलजन्य पदार्थको निर्यात भने ४७ अर्ब ४६ करोड रुपैयाँको रहेको छ ।

तरकारी मात्र १६ अर्बको आयात

चार महिनाको अवधिमा नेपालमा १६ अर्ब ९ करोड रुपैयाँ बराबरको तरकारी जन्य उत्पादन आयात भएको छ । नेपालबाट तरकारीजन्य उत्पादनको निर्यात भने ३८ करोड रुपैयाँको रहेको छ । चिया र कफी ३ अर्ब ८१ करोडको आयात भएकामा ३ अर्ब १२ करोड रुपैयाँको निर्यात भएको छ ।

भारतसँग मात्र ३ खर्ब १९ अर्बको घाटा

तथ्यांक अनुसार नेपालको वैदेशिक व्यापार भारतसँग बढी निर्भर छ । नेपालमा सबैभन्दा धेरै वस्तु आयात भारतबाटै हुन्छ र निर्यात पनि भारतमै बढी हुन्छ । नेपालले भारतबाट चार महिनामा ३ खर्ब ८५ अर्ब ९५ करोडको वस्तु आयात गरेको छ भने नेपालबाट ६६ अर्ब ९४ करोड रुपैयाँको निर्यात भएको छ । यस अनुसार चार महिनाको अवधिमा भारतसँगको व्यापार घाटामात्र ३ खर्ब १९ अर्ब रुपैयाँको छ ।

चीनबाट भने नेपालले ९४ अर्ब ३० करोड रुपैयाँको वस्तु आयात गरेको छ भने ३१ करोड रुपैयाँको वस्तु निर्यात गरेको छ । अमेरिकाबाट ९ अर्ब ९१ करोड रुपैयाँको वस्तु आयात गरेकामा ६ अर्ब १० करोड रुपैयाँको वस्तु निर्यात गरेको छ ।

चार महिनाको अवधिमा नेपालको वैदेशिक व्यापार १३८ भन्दा बढी मुलुकसँग भएको छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?