+
+

‘कोरोना प्रभावित ८७ प्रतिशत उद्योग-व्यवसाय पूर्ण सञ्चालनमा’

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ८ गते २१:१३

८ मंसिर, काठमाडौं । कोरोना भाइरसका कारण बन्द भएका उद्योग व्यवसायहरु मध्ये ८७ प्रतिशत उद्योग व्यवसाय पूर्ण रुपमा सञ्चालनमा आएको अध्ययनले देखाएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार पुनरावृत्ति सर्वेक्षणले २०७७ असारको सर्वेक्षणको तुलनामा उद्योग-व्यवसायको सञ्चालन स्थिति तथा उत्पादन र व्यावसायिक कारोबारमा सुधार आएको देखाएको हो ।

यस सर्वेक्षणले ८७.२ प्रतिशत उद्योग-व्यवसाय पूर्ण रुपमा सञ्चालनमा आएको देखाएको छ । कोभिडपूर्वको तुलनामा २०७७ असारमा २८.८ प्रतिशत मात्र रहेको उत्पादन/कारोबार स्थिति यो सर्वेक्षण सम्पन्न हुँदा ७४.७ प्रतिशत पुगेको छ भने रोजगारीको अवस्थामा समेत सुधार आई ७७.५ प्रतिशत बाट ९७.२ प्रतिशत पुगेको राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले बताएका छन् ।

राष्ट्र बैंकले २०७७ असारमा सम्पन्न गरेको सर्वेक्षणले बन्दाबन्दी अवधिमा सर्वेक्षणमा सहभागी ४ प्रतिशत उद्योग-व्यवसाय पूर्ण रुपमा सञ्चालनमा रहेको, ३५ प्रतिशत उद्योग-व्यवसाय आंशिक रुपमा सञ्चालनमा रहेको र ६१ प्रतिशत उद्योग-व्यवसायहरु पूर्णरुपमा बन्द रहेको देखाएको थियो ।

सो सर्वेक्षणले कोभिड महामारी २०७६ फागुनको तुलनामा २०७७ असारमा उद्योग-व्यवसायले औसतमा करिब २९ प्रतिशत मात्र उत्पादन/कारोबार गरेको, ७७.५ प्रतिशत मात्र रोजगारी प्रदान गरेको र ६३.४ प्रतिशत मात्र तलब-ज्यालामा खर्च गरेको देखाएको थियो ।

राष्ट्र बैंकले २०७७ मंसिरमा सम्पन्न गरेको पहिलो पुनरावृत्ति सर्वेक्षणले ५४ प्रतिशत उद्योग-व्यवसाय पूर्ण रुपमा सञ्चालनमा रहेको, ३७ प्रतिशत उद्योग-व्यवसाय आंशिक रुपमा सञ्चालनमा रहेकोर ९ प्रतिशत उद्योग-व्यवसायहरु पूर्णरुपमा बन्द रहेको देखाएको थियो ।

सो सर्वेक्षणले २०७६ फागुनको तुलनामा २०७७ मंसिरमा उद्योग-व्यवसायले औसतमा ५०.५ प्रतिशत उत्पादन/कारोबार गरेको, ८७.५ प्रतिशत रोजगारी प्रदान गरेको र ७०.४ प्रतिशत मात्र तलब-ज्यालामा खर्च गरेको देखाएको थियो ।

त्यसैगरी, राष्ट्र बैंकले २०७८ बैशाखमा सम्पन्न गरेको दोस्रो पुनरावृत्ति सर्वेक्षणले ८१.२ प्रतिशत उद्योग-व्यवसाय पूर्ण रुपमा सञ्चालनमा रहेको, १४.६ प्रतिशत उद्योग-व्यवसाय आंशिक रुपमा सञ्चालनमा रहेको र ४.२ प्रतिशत उद्योग-व्यवसायहरु पूर्णरुपमा बन्द रहेको देखाएको थियो ।

सो सर्वेक्षणले २०७६ फागुनको तुलनामा २०७८ बैशाखमा उद्योग-व्यवसायले औसतमा ६१.४ प्रतिशत उत्पादन/कारोबार गरेको, ९३.८ प्रतिशत रोजगारी प्रदान गरेको र ८८.५ प्रतिशत मात्र तलब-ज्यालामा खर्च गरेको देखाएको थियो ।

कार्यकारी निर्देशक श्रेष्ठका अनुसार तेस्रो पुनरावृत्ति सर्वेक्षण २०७८ कात्तिक महिनाको ७ गतेदेखि १७ गतेसम्म टेलिफोन अन्तरवार्तामार्फत सम्पन्न गरिएको हो । २०७७ असारमा सहभागी ६७४ उत्तरदाताहरुमध्ये करिब ८१ प्रतिशत अर्थात् ५४६ जना उद्योगी/व्यवसायीहरुले यस सर्वेक्षणमा सहभागिता जनाएका छन् । उद्योगी/व्यवसायीहरुलाई सोधिएको प्रश्नावलीमा कोभिड-१९ महामारीका कारण बन्दाबन्दी शुरुवात हुनुभन्दा अगाडि २०७६ फागुन महिनाको अवस्थासँग तुलना गर्न लगाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?