+
+

सुपर लघुवित्तमा ४० करोड अनियमितताको आशंका, राष्ट्र बैंकले थाल्यो अनुसन्धान

रोयल आचार्य रोयल आचार्य
२०७८ मंसिर ९ गते १३:३९

९ मंसिर, काठमाडौं । सुपर लघुवित्त वित्तीय संस्थामा ठूलो आर्थिक हिनामिना भएको भन्दै नेपाल राष्ट्र बैंकले अनुसन्धान शुरु गरेको छ । संस्थाका अध्यक्ष किरण चौधरीको प्रत्यक्ष संलग्नतामा ४० करोड रुपैयाँभन्दा बढी हिनामिना भएको उजुरी परेपछि केन्द्रीय बैंकको सुपरीवेक्षण विभागले अनुसन्धान शुरु गरेको छ ।

संस्थाको कुल ७२ करोड रुपैयाँ ऋण मध्ये आधा भन्दा धेरै फर्जी कागजात बनाएर कृत्रिम व्यक्तिलाई ऋण लगानी गरिएको राष्ट्र बैंकको प्रारम्भिक अनुसन्धानबाट देखिएको स्रोत बताउँछ । यो संस्था गैर सरकारी संस्था (एनजिओ)बाट लघुवित्त बनेको थियो ।

दाङको तुलसीपुर केन्द्रीय कार्यालय रहेको यस लघुवित्तको हाल अध्यक्ष किरण चौधरी रहेका छन् । संस्थाका अध्यक्ष भन्दा पनि अध्यक्षका बुवा ज्योति चौधरीले संस्थामा प्रत्यक्ष हस्तक्षेप गर्ने गरेको समेत अनुसनधानको प्रारम्भिक निष्कर्ष छ ।

निकै ठूलो अनियमितता भएको प्रारम्भिक सूचना पछि केही दिन अघि राष्ट्र बैंकको टोली निरीक्षणका लागि यस संस्थामा पुगेको थियो । तर संस्थाका कर्मचारीहरुले कागजातहरु लुकाउनुका साथै सफ्टवेयर समेत हेर्न दिएका थिएनन् । संस्थाले अनुसन्धानमा असहयोग गरेपछि अनुसन्धान प्रतिवेदन तयार पार्न पनि ढिलाइ भएको राष्ट्र बैंक स्रोत बताउँछ ।

संस्थाका अध्यक्ष चौधरीले राष्ट्र बैंकको टोली निरीक्षणका लागि आएको भएपनि अनियमितता भने नभएको दावी गरे । अहिले राष्ट्र बैंकसम्म पुगेको कुराहरु गलत रहेको दावी गर्दै उनले राष्ट्र बैंकलाई अनुसन्धानमा असहयोग गरेको कुरामा पनि सत्यता नरहेको दावी गरे । राष्ट्र बैंकलाई अनुसन्धानमा सहयोग गर्ने उनको प्रतिवद्धता छ ।

यस संस्थामा प्रभु बैंक, शाइन रेसुंगा डेभलपमेन्ट बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, आरएसडीसी लघुवित्त लगायतले ऋण लगानी गरेका छन् । संस्था स्रोतले दिएको जानकारी अनुसार प्रभु बैंकले मात्रै २५ करोड रुपैयाँ भन्दा बढी यस संस्थालाई ऋण दिएको छ ।

लेखकको बारेमा
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?