+
+

कांग्रेसको काठमाडौं सभापतिमा बानियाँ र कार्कीबीच प्रतिस्पर्धामा हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ९ गते १९:१३

९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको काठमाडौं जिल्ला सभापतिमा कृष्ण बानियाँ (सबुज) र उपेन्द्र कार्कीबीच प्रतिस्पर्धा हुने भएको छ ।

कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत काठमाडौं जिल्ला अधिवेशनमा बानियाँ र कार्कीबीच प्रतिस्पर्धा हुने निश्चित भएको हो । बानियाँ काठमाडौं सभापतिमा दोहोरिने तयारीमा हुन् भने कार्की यसअघि काठमाडौं क्षेत्र नम्बर २ को सभापति थिए ।

कार्कीले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जिल्ला सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा सहमहामन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्य अम्बिका बस्नेत, किरण गिरी, सांसद भीमसेनदास प्रधान, काठमाडौं–४ का पूर्व क्षेत्रीय सभापति राजु श्रेष्ठलगायत उपस्थित थिए । पार्टी संस्थापननिकट उनलाई कांग्रेस नेता एवं पूर्व रक्षामन्त्री प्रधान समूहको समर्थन रहेको छ ।

बानियाँ भने कांग्रेस नेता प्रकाशमान सिंह निकट हुन् । उनलाई काठमाडौंकै अर्का नेता गगनकुमार थापाको समर्थन छ । प्रकाशमान–गगन समूहले बानियाँलाई काठमाडौं सभापतिमा दोहोर्‍याउने यसअघि नै निर्णय गरिसकेका छन् ।

कांग्रेसको जारी अधिवेशनमा काठमाडौंमा प्रकाशमान–गगन एउटा समूहमा छन् भने संस्थापन समूह र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहका नेता प्रधान एक ठाउँमा छन् ।

१३ औं महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा समूहको समर्थनमा बानियाँ काठमाडौं जिल्ला सभापति निर्वाचित भएका थिए । १४ औं महाधिवेशनमा काठमाडौं कांग्रेसमा समीकरण बदलिएको हो ।

काठमाडौं कांग्रेसको जिल्ला अधिवेशन मंसिर १२ गते हुने जनाइएको छ । कांग्रेसले दुई वा दुई भन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा मंसिर १० गते अधिवेशनको मिति तोकेको छ । कांग्रेस केन्द्रीय महाधिवेशन मंसिर २४–२६ सम्म काठमाडौंमा हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?