
१० मंसिर, काठमाडौं । रुसको साइबेरियास्थित एक कोइला खानीमा आगो लागेर दुर्घटना हुँदा मजदुर र उद्धारकर्तासहित कम्तिमा ५२ जनाको मृत्यु भएको छ ।
साइबेरियाको लिस्टभ्याज्नाय कोइला खानीमा आलो लागेर दुर्घटना हुँदा मजदुर र उद्धारकर्तासहित कम्तिमा ५२ जनाको मृत्यु भएको रुसी समाचार माध्यमले जनाएका छन् । कोइलाको धुलोमा आगो लागेपछि खानीमा धुँवा भरिएको र ठूलो हताहती भएको समाचारमा उल्लेख छ ।
रुसको टास रिया नोभोस्टी समाचार माध्यमका अनुसार मृत्यु हुनेमा ६ जना उद्धारकर्ता रहेका छन् । बिहीबार बिहान केमेरोभो क्षेत्रको बेलोभो शहर नजिकैको कोइला खानीमा आगो लागेको थियो ।
दुर्घटनाका बेला खानीभित्र २८५ मानिस थिए । यसमध्ये केहीलाई उद्धार गरिएको छ भने दर्जनौं हराइरहेका छन् । यसैबीच, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दुर्घटनालाई ‘ठूलो वियोग’ भन्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेको समाचारमा उल्लेख छ ।
मस्कोबाट झण्डै ३५ सय किलोमिटर टाढा अवस्थित साइबेरियाको केमेरोभो क्षेत्र कोइला खानीका लागि प्रसिद्ध छ । तर उक्त क्षेत्रमा वर्षौंदेखि डरलाग्दा दुर्घटना हुँदै आएका छन् ।
सन् २०१६ मा रुसको उत्तरी क्षेत्रमा रहेको सेभेर्नाया कोइला खानीमा मिथेन ग्यास विस्फोट हुँदा ३६ जना मजदुरले ज्यान गुमाएका थिए । अधिकारीहरूले उक्त दुर्घटनापछि मुलुकका ५८ कोइला खानी के-कति सुरक्षित छन भनेर जाँच गरेका थिए । जाँचपछि २० खानीलाई असुरक्षित रहेको घोषणा गरिएको थियो ।
साइबेरियाको रासपाडस्काय कोइला खानीमा पनि मिथेन ग्यास विस्फोट हुँदा ९१ को मृत्यु भएको थियो भने १ सय जना घाइते भएका थिए । त्यस्तै, सोही क्षेत्रको एक कोइला खानीमा २००७ मा ग्यास विस्फोट हुँदा ११० जनाको मृत्यु भएको थियो । अलजजिराबाट
प्रतिक्रिया 4