+
+
पुस्तक समीक्षा :

विश्वका निख्लाम कविताहरू

प्रगति राई प्रगति राई
२०७८ मंसिर ११ गते २०:४७

तीतो यथार्थलाई मीठो शैलीमा कविता बनाउन सक्ने क्षमतासहित गम्भीरतापूर्वक काव्य अभिव्यक्ति दिने प्रभावशाली कवि हुन्, विश्व सिग्देल । उनको कवितासंग्रह ‘तालिको समाजशास्त्र’को शीर्ष कविताबाट यस्तो छ :

हामीले त

हाम्रो हातको ताली

नजान्दै बालखैमा नामसारी गरिदिएछौं

नमान्दा–नमान्दै मनले

जो भीडको पछिपछि बजिहिँड्छ।

(पृष्ठ १३, ‘तालीको समाजशास्त्र’)

हामी कतिजनाले कतिचोटी मनले नमान्दा–नमान्दै पनि बाध्यतामा परेर ‘जी, हजुर, सही भन्नु भो’जस्ता शब्द बोलेका हौंला । आफन्तलाई रिझाइराख्न होस् वा कसैको अनुरोधलाई नकार्न नसक्दा उसको समर्थनमा हामी ताली बजाइदिन्छौं होला । यसरी नामसारी भइरहने तालीहरू समाजमा कति धेरै होलान् । जो सत्ता जतिसुकै फेरिए पनि उत्तिकै तालीको भीड लिएर शाषकहरू लोकतन्त्रको छातिमा ओहोर–दोहोर गरिरहन्छन् ।

जसरी हामी बाल्यकालमा मन लागेका बखतमात्र ताली बजाउँथ्यौं, उसरी नै जीवनभरि तालीको सही सही अर्थमा बजाए समाजको लगाम बलियो हुँदैन थियो र ? सत्ता र शक्ति नियन्त्रणमा रहन्नथ्यो, होला र ? कविताले सोच्न बाध्य गराउँछ ।

समाजको विकृतिहरूलाई मात्र चित्रण गरेर निख्लाम कविता लेख्ने कवि हुन् विश्व सिग्देल । यो संग्रहमा कवि आफू बाँचिरहेको समयलाई युगौंयुगसम्म छर्लङ्ग देखाउन सक्ने सामथ्र्य बोकेका झण्डै चार दर्जन कविताहरू संग्रहित छन् ।

लज्जावती झारको आत्मा दिएथ्यो सभ्यताले

तर, तिमी बिल्कुलै लजाउने छैनौ

अघिल्लो दिनजस्तै आज पनि

तिमी बुद्ध बनेर निस्किनेछौ संसद् भवनबाट !!

(पृष्ठ ७, ‘सार्वजनिक शौचालय’)

यो कविताले कुनै बेला भुँइमान्छेहरूको सपना बोकेर आउँदै गरेका नेताको भाषणलाई सम्झाउँछ । ‘देशमा उलटपुलट छाउँछ, नेपाल स्वीजरल्याण्ड बन्छ’ भन्दै जनता खुसीले बुरुक–बुरुक उफ्रिरहेको बेला नेताले जनताको नाममा पहिलो संवोधन गरेथ्यो, ‘अब, सबै युवाहरू विदेश जानू ।’

नाचिरहेका पुतलीहरूबीचको चम्किलो बत्ती झ्याप्प निभेजस्तो जनताको आँखामा फेरि बादल लागेको थियो । कविताले भनेजस्तै मानौं त्यो मान्छेले कहिल्यै विद्रोह गरेकै छैन । सिर्पm सही थप्न जान्दछ भने भैंm सुकिला लुगामा संसद भवनको गेटमा भित्र–बाहिर गरिरहे । शासकको आगनमा थुकेर सर्वहारा क्रान्तिमा हिँडेका भुँईमान्छेहरू फेरि उही आगनमा नतमस्तक शिर झुकाउन वाध्य भए । सधैंका लागि अस्ताएको उज्यालोको शोकमा कोरा पस्न विवश भए । सभ्यताले दिएको लज्जावती आत्मा नेताले कहाँ खसायो कहाँ ।

एउटा अमिल्दो कुरा, यो कवितामा ‘तिमी बुद्ध बनेर….’ भन्ने हरफले ‘सत्ता नपाऊञ्जेल विद्रोह गर्ने व्यक्ति सांसद् बनेपछि चुप हुन्छन्’ भन्ने आशय बोके तापनि ‘बुद्ध’ यस लाइनमा सुहाउँदो विम्ब भने होइन । किन कि बुद्ध आफैंमा अत्याचारको विद्रोही थिए । उनी शान्तिको पक्षमा थिए । तर अरु शन्तझैं शान्त बसेनन् । अन्याय र अत्याचारको विरुद्धमा जीवनभर लडेका बुद्धलाई कविले यसरी अन्याय हेरेर चुपचाप बस्ने नेताको रुपमा प्रतिविम्वित गर्नु गलत भएको छ ।

हामीहरू मार्क्स हौं

वा, हौं माओ

बुद्ध हौं वा ताओ

दर्शनलाई

रु. दशको पोलिमर नोट हुनबाट जोगाऔं !

(पृष्ठ २२, ‘पोलिमर नोट’)

‘पोलिमर नोट’ कविता सबै यति नै हो । थोरै शब्दमा धेरै परिभाषा दिने काव्यिक सामर्थ्यसहित आएको छोटो कविताले अर्थ साँच्चै गहिरो दिएको छ । मान्छेले बुझ्ने भएपछि आफ्नो जीवनमा एउटा दर्शन बनाउँछ । र, त्यो दर्शन जीवनको अन्त्यसम्म साथै रहन्छ/रहनुपर्छ । तर यहाँ त व्यक्तिका दर्शन ऋतुझैं फेरबदल भइरहन्छ । एकताका प्लाष्टिकको नोट थियो नि, अक्षर नै मेटिजाने पोलिमर नोट । नक्सा मेटिएको नोट ‘रु. दश हो’ भनि चिन्नु पर्दथ्यो । त्यसैगरी मान्छेमा यो चरित्र लागू हुन जान्छ ।

‘म कट्टर कम्यनिष्ट हुँ’ भन्नेले ठाउँ पर्नासाथ भेदभाव गरिहाल्ने । भ्रष्टाचार गरिहाल्ने । ‘बुद्धिष्ट हुँ’ भन्नेले पाए मान्छे बेच्दिने । दर्शनको अबलम्बन यसरी हुन थाल्यो कि, आफूमाथि भने केही आघात् नपरोस्; अरुलाई के भइरहेको छ, मतलव भएन । मन मस्तिष्कले श्रद्धासाथ अँगालेको दर्शन समयान्तरमा किन चम्किलो पोलिमर नोटझैं हराएर जान्छ ? आखिर कुनै न कुनै दर्शनमा बाँधिएको जीवनभन्दा अरु सुन्दर केही होला र ? यो कविताको खबरदारी मलाई गज्जबलाग्दो लाग्यो ।

म नाङ्गो साबुन हुँ

नाङ्गो

ओ तेस्रो विश्व !

तिम्रो आदिम आवरणहीन मुहार

र, मेरो अनुहारमा के फरक छ ?

शीत–ताप खोपिएको

तिम्रो जुरो उठेको काँध

र, मेरो मटमैलो रङ्मा के फरक छ ?

चपराले फर्काएको डल्ला

दाँदेले हिल्याएको खेत

के त्यही माटोजस्तो छैन मेरो वास्ना ?

(पृष्ठ १०२, ‘नाङ्गो साबुन’)

‘नाङ्गो साबुन’ संग्रहको सबैभन्दा शक्तिशाली कविता बनेको छ । शक्तिशाली राष्ट्रहरूले निल्न लागेका कमजोर देशहरूको नियति र देशप्रति चिन्तित् एक इमान्दार नागरिकको आक्रोश छ यो कवितामा । तीन पृष्ठ लामो कविता पुरै पढिसक्दा पाठकको शरिरमा पनि आक्रोशको काँडा उम्रिन्छ ।

चिन्ता लाग्छ, तयारी चाउचाइमा रमाउने पुस्तासँग देशले आफ्नो इज्जत कतिञ्जेल जोगाउन सक्ला ! दिनानुदिन आफ्नो सभ्यता विस्थापित हुँदै गएको कतिलाई थाहा होला ! समय बेचेर घडी किन्न हतारमा दौडेका पुस्ताले भोलि आफ्नो पहिचानको भेऊ पाउला नपाउला !

यसरी आधुनिकताको नाममा आफ्नोपन फालेर अर्काको सिकोमा मरिहत्ते गर्ने पुस्तालाई यो कविताले दनक दह्रो दिएको छ ।

अन्धाधुन्ध फालेर हातपाऊ

किनारा पाएको

कुनै मेयरले एकदिन

कागजमा बलियो बनाएको ढल

तीन दिन अघिदेखि फुटेर

किर्तिपुरको नयाँबजार

पुरानो बनाउन कुनै कसर छाडेको छैन ।

(पृष्ठ ९३, ‘राजनीति’)

सोचिबस्दा एउटा प्रश्न फनफन्ती घुम्छ दिमागमा । धनी देशका नागरिक र गरिब देशको नागरिकमा किन यतिधेरै सोंचको भिन्नता हुन्छ ? देश धनी वा गरिब हुने भनेको आखिर नागरिककै कारण होइन ? धनी देशका नागरिकले नयाँ नयाँ तरिकाले विकास गर्नमा प्रतिस्पर्धा गर्दा; गरिब देशका नागरिकले नयाँ नयाँ तरिकाले भ्रष्टचार गर्ने  तरिका अप्नाउँछन्, किन ? आखिर, एकजना राम्रो मान्छेको प्रयासले पनि समस्याको जड उखेलिन सक्दोरहेछ भन्ने विद्युत प्राधिकरणका निर्दैशक कुलमान घिसिङ् ज्वलन्त उदाहरण बनेका छन् त । बाँकी सबै किन पत्रु निस्कन्छन् । ‘जसले बढी भ्रष्टाचारको विरोध गर्छ उसैले देश डुबाउँछ’ भन्ने उखानले चरितार्थ हाम्रो समाजमालाई विश्वका कविताले सर्लक्क उतारेको छ ।

यसर्थ, यो संग्रहका कविताहरू सबै उत्तिकै पठनीय र मननीय रहेका छन् । जहिले पनि साहित्यकर्मको दुई धार हुन्छ । एक, स्थितिको मनन गरेर सुन्दर चित्रण गर्नु । अर्को, स्थितिको मनन गर्दै त्यहाँ समस्या छ भने परिवर्तनको पाटो पनि सृजना गर्नु । सिग्देलका कविताहरू यही पहिलो कित्तामा पर्दछ, जस्तोसुकै घटनाको पनि सचित्र बयान गरिदिएका छन् ।

तर, सुन्दर चिजहरूको चाहिँ चित्रण मात्र गरिदिनु स्वभाविक हुन जान्छ । भन्नलाई भन्छन्, ‘फूलको कविता किन लेख्नु; जो आफैंमा सुन्दर रहन्छ । जूनको कविता किन लेख्नु, जो आफैंमा शितल रहन्छ ।’ तर जहाँ पुग्दैन रवि, त्यहाँ पुग्छ कवि भनेझैं फूल नभएको ठाउँमा फूलजस्ता कविताको जरुरत पर्दछ ।

मनमा औंसीको रात छाएको बेला जूनजस्ता उज्याला र शितलता प्रदान गर्ने कविताको उपस्थिति आवश्यक पर्दछ । आखिर, कविताको गुण भनेकै कुनै चिजको रिक्तता कल्पनाको चित्र खडा गरेर पूर्णताको अनुभूति दिलाउनु हो । मानिस हौं, यथार्थता नपाए पनि कल्पनाले आफूलाई सन्तुष्ट गराउन चाहन्छौं । हृदयको स्थितिअनुसार मुटुले पनि गति बदल्ने गर्छ । हृदयका लागि नै लेखिने कर्म हो कविता ।

विश्वका कविताहरूले घटना परिस्थितिको सचित्र बयान गर्नुमा/आफ्नो समयको सत्यता सावित गर्नुमा कुनै कसर बाँकी राखेको छैन । तर सुन्दर चिजहरूका भने चित्रणमात्र गरिदिए काफी हुन्छ । असुन्दर चिजहरूलाई भने सुन्दर बनाउन कविको धर्म रहन्छ । असुन्दरता आफैंमा पीडादायी छ, झन् त्यसको बयान गरिँदिदा पीडा थप्ने काम हुन्छ । रोइरहेका मानिसलाई आँसुको बखान गरिदिएर झन् रुवाउनुझैं दुःखहरूको चित्रण गरेर पीडा थप्ने काममात्र हुन्छ ।

विश्व सिग्देल यति प्रखर कमल चलाउने कवि छन्, उनले दुःखदर्दको चित्रण मात्र नगरेर ती दुःख सहन गर्न सक्ने क्षमता विकास र दुःख निवारणको उपायसहितको कविता लेखिदिऊन् भन्ने अपेक्षा रहन्छ । अन्तमा, यस्तै शक्तिशाली कविताहरूको अर्को संग्रह पनि आओस् । कविलाई शुभकामना ।

प्रकाशकः अकाल–कुसुम, बनेपा काभ्रे

आवरणचित्रः रामनारायण महतो

मूल्यः १५०,  हार्ड कभर ५०० रुपैयाँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment