
पुसको चिसो जाडो ! कलंकीको काउन्टर छेउमा आएर अग्नि यातायातको बस रोकियो । बेलुकी त्यस्तै ९ बजेको थियो । धेरै अपेक्षा र सपना सहित काठमाडौंका सडकमा मेरा पाइलाहरू उत्रिए । चार हजार रुपैयाँका साथमा एउटा पातलो डस्ना, सिरक, सिराने, तन्ना, सानो चामलको बोरा, नीलो रंगको जेब्राको झोलामा अलिकति दाल, गुन्द्रुक, बेसार यस्तै केही चिजहरू आमाले पोको पारेर राखिदिनुभएको थियो ।
यो २०६१ सालको कुरा हो । मुलुकमा सशस्त्र जनयुद्ध चरम रूपमा अघि बढिरहेको थियो । त्यसका बाछिटाको प्रत्यक्ष भोगाइ, अनुभूति र प्रताडनाको शिकार भएको एउटा यात्री थिएँ, म पनि । मेरो बाल सखा उद्धव अग्नि यातायातको काउन्टरमा आएर मलाई पर्खिरहेको रहेछ । उसँग मीठो अंकमाल गरियो र कतिपय भावनाहरू बोलेर त कतिपय चुपचाप नै विनिमय भए ।ऊ अघिल्लो वर्ष कीर्तिपुर आएर अर्थशास्त्रमा स्नातकोत्तर गरिरहेको थियो ।
उद्धवले टयाक्सी बोलायो । ट्याक्सी ड्राइभरसँग मोलमोलाइ गर्दा ११० रुपैयाँमा ट्याक्सी कीर्तिपुर जान तयार भयो । ११० रुपैयाँ खर्च हुने कुराले मेरो मन अमिलो भयो तर मसँग उद्धवको निर्णय मान्नुको विकल्प थिएन, किनकि काठमाडौंमा मैले त्यसक्षणमा चिनेको कि त्यही उद्धव थियो कि बस काउन्टरको भित्तामा टाँसिएको सिनेमाको पोस्टरमा रहेको साहरूख खान । ट्याक्सीमा चढेर कीर्तिपुर जाँदै गर्दा काठमाडौंको रात सडकमा गुडिरहेका गाडीको बत्तीको उज्यालो देखेर उत्साहित भइरहेको थिएँ । लगभग १५ मिनेटको यात्रामा हामी कीर्तिपुर पुग्यौं ।
काठमाडौं मेरो सपनाको शहर थियो । ठूला देखिने पक्की घरका अँध्यारा छिंडीहरू र भोका पेटमा सल्बलाएका रहरहरूको विरोधाभास अनुभूति भएकै थिएन । त्यसैले मेरो मस्तिष्कमा पक्की घरको परिकल्पना सुन्दर थियो । एउटा गल्लीको बीचबाट साँघुरो छिंडी पार गरेर उद्धवको कोठामा छिरियो । ऊ एक जना साथीसँग बस्दो रहेछ । सानो अँध्यारो कोठा, भुइँमा रहेको ग्याँस चुलो र एउटा सिलिण्डर, छेउमा बाँसको र्याकमा रहेका केही किताब कपीहरू, एउटा खाट, सुत्नका लागि भुइँमा लगाएको अर्काे ओछ्यान, एउटा रातो रंगको प्लाष्टिकको बाल्टी, एउटा कुकर, कराही, दुईवटा थाल र केही बटुका, ढोकाको पछि झुण्ड्याएका केही कपडा बाहेक त्यस कोठामा अरु केही सामान थिएनन् ।
मेरो काठमाडौं शहरको पहिलो रात ! उत्साही त अवश्य थिएँ तर त्यस परिदृश्यले संघर्षको संकेत गराएको थियो । भोलिपल्ट कीर्तिपुरको डाँडोमा रहेको हामी बसेकै घरको छतबाट आँगनमा नै देखिए झैं गरी त्रिभुवन विश्वविद्यालय देखिंदा भने म खुशीले चिच्याएको थिएँ । अर्काेतर्फ, त्यसै दिनदेखि शुरु भएका थिए मेरा काठमाडौंका संघर्षपूर्ण दिनहरू ।
झापाको वीरेन्द्र मावि चन्द्रगढी र मेची क्याम्पसमा सँगै पढेको दाइ रामबाबु रिजालसँग कोठामा सँगै बस्ने तय भयो । पहिले राम दाइसँग त्यति धेरै अन्तरंग सम्बन्ध त थिएन, तर उद्धवले हाम्रो भेटलाई सहजीकरण गरेको थियो । उद्धवको समन्वयमा नै प्रति महीना ६०० रुपैयाँ तिर्ने गरी हामीले कीर्तिपुरको डाँडामा अवस्थित पुरानो घरको एउटा सानो कोठा भाडामा लियौं । मैले भाडा माझ्ने, राम दाइले भात पकाउने गरी कार्य बाँडफाँड भयो । सधैं कराहीभरी पानी हालेर पकाएको बन्दाकोभीको तरकारीले वाक्कै बनाएको थियो । मैले एकदिन राम दाइसँग झर्कंदै भने, ‘जहिले पनि तरकारीको झोल मात्र ! कहिलेकाहीं त झोल नहाली पकाए पनि हुने नि ।’
दाइले छड्के आँखाले अलि रिसाएर हेरे पछि म चुप लागें, किनकि मैले महीनाभरिको लागि भनेरऔसत ८/९ सय रुपैयाँ दाइलाई खर्चको रूपमा दिन्थें । त्यही पैसामा दाइले आफ्नो भागमा पर्ने पनि पैसा थपेर सबै कुराको जोहो गर्नुहुन्थ्यो । म भुइँमा ओछ्यान लगाएर सुत्ने गर्थें । पुस माघको जाडोमा भने रातभरि पेट कराउँथ्यो, दुख्थ्यो । त्यसबेला त थाहा पाइनँ, अहिले बुझ्दा पो थाहा हुँदैछ, मलाई सधैं चिसो लाग्दोरहेछ ।
म कक्षा कोठाको प्रायः अन्तिम बेन्चमा बस्थें, किनकि त्यहाँ मलाई निदाउन सजिलो हुन्थ्यो । रातभरि आफ्नै कोठामा हुने अध्ययनका कारण झुलिरहेका मेरा आँखाहरूको विश्रामस्थल बनेको थियो विश्वविद्यालयको कक्षाकोठा । मसँग किताब किन्न पर्याप्त पैसा थिएन, शायद यही थाहा पाएर मेरो मेची क्याम्पस पढ्दादेखिको प्यारो साथी टीकाले मलाई एमएको पूरै किताब दिएको थियो । मैले कहिले पनि नोट बनाइनँ । तीन चार वटा रफ कपीमा नै मैले एमएको पढाइ सिध्याएको थिएँ ।
परीक्षाको रिजल्ट आएपछि मात्रै हो- म विश्वविद्यालयका धेरै साथीमाझ परिचित भएको, किनकि मैले नेपाली साहित्यमा उत्कृष्ट स्थानका साथ एमए उत्तीर्ण गरेको थिएँ । धेरैपछि एउटा अपरिचित साथी भेट हुनुभयो र भन्नुभयो, ‘मैले हजुरको नोट पढेर एमए पास गरें । ‘उनको कुरा सुन्दा मलाई गौरवको अनुभूति कम तर हाँसो बढ्ता उठ्यो । पछि कुरा बुझ्दा विश्वविद्यालय परिसरका केही पुस्तक पसलेले नोटलाई मेरो नाम राख्दा बढी बिक्छ भनेर अरु कसैले बनाएको नोटमा मेरो नाम राखेर बेच्दा रहेछन् ।
एमए सकेपछि मैले जसरी पनि जागिर खानुपर्ने थियो । त्यसैले मैले सर्टिफिकेट र बायोडाटाका ४० वटा फोटोकपी गरेर जागिर खोज्न सडकमा निस्किएँ । मैले काठमाडौंका प्राइभेट स्कूल र कलेज गरी ३९ स्थानमा सर्टिफिकेट र बायोडाटा छोडिसकेको थिएँ, तर मलाई कसैले पनि पढाउन दिन योग्य सम्झेनन् । किनकि मेरो आफ्नो मान्छे कोही पनि थिएनन् ।
एमए सकिसकेको छोराले जागिर पाइनँ भन्दै लाचार भएर बुबासँग पैसा माग्ने आँट मसँग थिएन तर गोजीमा एक रुपैयाँ पनि नभएर तरकारी पकाउन छोडेको एक हप्ता जति भइसकेको थियो । बायोडाटाको फोटोकपी गर्न समेत अब पैसा थिएन, जागिर पाउने कुनै संकेत थिएन। जीवन त्यस्तो दोबाटोमा थियो, जहाँ एकातर्फ सपना, आकांक्षा र रहरका अग्ला पहाड थिए भने अर्काेतर्फ कीर्तिपुरका मलिन रातहरू, रित्ता भाँडा अनि कति दिनदेखि नअघाएको पेट ।
२०६४ साल साउनको एउटा गर्मी दिन, ३९औं बायोडाटा डिल्लीबजारस्थित टाइम्स इन्टरनेशनल कलेजमा छोडेर कोठातर्फ फर्कंदै थिएँ । त्यस कलेजमा पनि मैले जागिर नपाउने लगभग निश्चित जस्तै थियो । कालिकास्थानको सिंढीमा ओरालो झरेर बाँसझ्याङको आडमा पुग्दा मेरा पाइलाहरू रोकिए । अँध्यारो झाडीमा सुकेका बाँसका पतिङ्गरहरू यत्रतत्र थिए । म झाडीको छेउमा पतिङ्गरमाथि बसें । मन थामिन गाह्रो भयो,शायद आफूलाई पनि अर्थहीन सुकेको पतिङ्गर भएको महसूस गर्न पुगेछु। अनायासै भक्कानो फुटेर आयो, निःशब्द तर भरिपूर्ण अर्थ बोक्दै डाँको छोडेर रुन पुगें ।किनकि त्यो दिन आफैंले आफैंलाई सहाराहीन महसूस गरेको थिएँ ।
रुँदारुँदै मेरो मनमा एउटा विचार उब्जियो,’मैले यति उत्कृष्ट अंक ल्याएर एमए पास गर्दा पनि सामान्य जागिर समेत पाइएन भने पिएचडी गरेर यो दुनियाँलाई देखाउँछु, त्यसपछि त पक्कै एउटा जागिर पाइएला नि।’
त्यो विचार पश्चात रुँदारुँदै म एकपटक मुस्कुराउन पुगेछु, शायद त्यो क्षण मेरो जीवनमा आशाको एउटा ज्योति थियो । आखिर गरीबीको रोटी भनेको ‘आशा’ नै त रहेछ म त्यो अँध्यारो बाँसको झाडीबाट उठें र मनमनै पीएचडी गर्ने संकल्प गर्दै कीर्तिपुरतर्फ पाइला अघि बढाएँ । त्यसबखत म काठमाडौं भ्यालीभरि सामान्यत बस चढेर हिंड्दिनथें, किनकि बस चढ्न विद्यार्थी कार्ड हुँदा पनि चार रुपैयाँ लाग्दथ्यो । मसँग पैसा थिएन तर समय धेरै थियो । अवस्था यस्तो थियो, सूर्याेदय भएपछि सूर्यास्तको प्रतीक्षा गर्थें र सूर्यास्त भएपछि सूर्याेदयको। जाँदा जाँदै बाटोमा मैले सयौंचोटि पीएचडी गर्ने संकल्प गरिरहें । कीर्तिपुर पुग्दा पसिनाले लुथ्रुक्कै भिजेको शरीर थाकेर लखतरान थियो, यसै भन्न सक्दिनँ, म पसिनाले ज्यादा भिजेको थिएँ या आँशुले !
कीर्तिपुर कोठामा पुग्दा झमक्कै साँझ परिसकेको थियो । कोठामा छिर्दा राम दाइ चामल हेर्दै हुनुहुन्थ्यो । ‘केही तरकारी ल्यायौ ? ‘राम दाइले सोध्नुभयो । मैले भनें,’ पैसा भए पो तरकारी ल्याउनु, छोड्दिनुस दाइ, तरकारी सरकारीको कुरा, पीएचडी गर्ने हो अब ।’
उहाँले आँखा तरेर मतर्फ हेर्दै निराश भावमा फुसफुसाउनुभयो ‘पागल … !’
शायद म पागल नै पो भएको थिएँ कि, त्यसबखत । किनकि घरबाट पठाएको चामलभन्दा बाहेक कोठामा खानेकुरा केही थिएन । कोठा भाडा नतिरेको चार पाँच महीना भइसकेको थियो । केही गाली, केही आक्रोशका साथ ‘गोजीमा एक रुपैयाँ छैन, खुब पीएचडी गर्ने रे !’ राम दाइ झर्किनुभयो ।
मैले पनि पीडा मिश्रित भावमा अलि सारै स्वरमा बोलें, ‘बरु भात नखाने हो दाइ, अब पीएचडी त गरिछाड्ने हो ।’ त्यसदिन पनि पिसेको नुन, खुर्सानीसँग भात खाएर सुतियो । मनमा बेग्लै बेचैनी थियो, त्यसैले रातभरि सुत्न सकिएन । कतिबेला उज्यालो हुन्छ, प्रतीक्षामा बसें ।
भोलिपल्ट बिहानै म केही नखाई लाइब्रेरी गएँ । आफूले पीएचडी गर्ने विषयमा शोध प्रस्तावको तयारीमा लागें । बेलुका कोठामा फर्कंदा मन केही हल्का भएको थियो ।
त्यसपछि लाइब्रेरी जाने, शोध प्रस्तावको तयारी गर्ने क्रम चलि नै रह्यो, तत्कालका लागि लगभग जागिरको सपना छोडिसकेको थिएँ ।
एक दिन बिहानै घरबेटीको टेलिफोनमा बजेको घण्टीले मेरा आँखा खुले । घरबेटीले बोलाएपछि मात्र थाहा पाएँ, त्यो फोन मेरो लागि बजेको रहेछ । त्यो फोनमा मलाई मंगल उच्च मावि कीर्तिपुरमा पढाउनका लागि बोलाइएको थियो । समय पनि अचम्मको छ, जब भोको पेट नै भए पनि पढ्छु भनेर लागें, तब जागिरको अवसर आयो । लामो श्वास लिएँ, अनायासै ओठहरू मुस्कुराएछन् । फोन राखेर कुद्दै कौसीमा चढें, खुला आकाश अनि हाँसिरहेका हिमालहरूले मलाई बधाई दिइरहेका थिए ।
यो मेरो जीवन संघर्षको महत्वपूर्ण प्रतिफल भएको अनुभूति भयो। त्यस पश्चात मलाई लाग्न थाल्यो, मेरो जीवनको अध्यायमा सु-दिनहरू नजिकिंदैछन्। समयले विस्तारै त्यो प्रमाणित पनि गर्दैथियो । त्यसको केही समयपछि म चलचित्र विकास बोर्डमा अधिकृत भएँ । अब जीवनमा नयाँ गोरेटो तय भएको थियो । चरम अभावबाट म मुक्त हुँदैथिएँ । मैले अध्ययनलाई गम्भीरतापूर्वक निरन्तर अगाडि बढाइ नै रहें । चलचित्र विकास बोर्डमा जागिर खाँदै गर्दा लोक सेवा आयोगको परीक्षा पास गरी नेपाल सरकारको शाखा अधिकृत भएँ ।
तर पीएचडी गर्ने मेरो धोको उत्तिकै जीवन्त थियो । मलाई आज पनि लाग्छ, मेरो पीएचडीको त्यो सपना फगत जागिरसँग मात्रै जोडिएको थिएन । त्यो उत्कट चाहना र अथाह संघर्षको बलले २७ वर्षको उमेरमा मार्क्सवादी साहित्यमा विद्यावारिधिको उपाधि प्राप्त गरें । समयले मलाई त्यस पश्चात् उपसचिव तथा विभिन्न जिल्लाको प्रमुख जिल्ला अधिकारीको गहन जिम्मेवारीमा समेत पुर्यायो ।
कीर्तिपुरको त्यो रमणीय स्थानमा देशका विभिन्न कुनाबाट आएर एउटा सुन्दर सपना, अधुरा रहर र पीडामा अल्झिएका कति विद्यार्थी होलान् । सम्झँदा पनि ऐंठन हुन्छ, त्यही समयको सेरोफेरोमा बैंसले फक्रिएका रहरलाई अन्त्य गर्दै मेरा चिनजानका एकजना मित्रले आत्महत्या गरेथे । जब हरेक रात ठूलो आवाजमा बोइङ उडेको सुन्छु, मन झस्किन्छ, कता कता मुटु दुख्छ, किनकि मैले अनुभूति गरेको छु, कति गाह्रो छ, आफ्नै देशमा बसेर आफूले चाहेको रोजगारी पाउन । त्यसैले मलाई अभाव, गरीबी तथा बेरोजगारीको पीडा असह्य भएर आउँछ ।
प्रतिक्रिया 4