+
+

‘अध्यक्षले नामहरु घोषणा गर्नुहुन्छ, हामीले ताली पड्काउनुपर्छ’

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ११ गते १८:१९

११ मंसिर, चितवन । नेकपा एमालेका वर्तमान केन्द्रीय कमिटीको अन्तिम बैठकमा शुक्रबार राति अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारीसँगै केन्द्रीय सदस्यहरुको संख्या बढाउने प्रस्ताव राख्दा नाम पनि ल्याउन माग गर्ने दुई नेतामध्ये एक हुन् विशाल भट्टराई । उनले भनेको थिए, नाम पनि प्रस्ताव गर्नुस्, हामी समर्थन गर्छौं ।

यद्यपि ओलीले नाम प्रस्ताव गरेनन् । ओलीले सहमतिको प्रयासमा अझै छलफल गरिहेका छन् । एमाले संसदीय दलका प्रमुख सचेतक भट्टराई भने ओलीले नाम प्रस्ताव गरे एकध बाहेक सबै प्रतिनिधिले सहजै स्वीकार गर्ने दाबी गर्छन् ।

प्रस्तुत छ, केन्द्रीय सदस्य भट्टराईसँग अनलाइनखबरकर्मी सइन्द्र राईले गरेको कुराकानीको सम्पादित अंश :

एमालेको नेतृत्व चयनमा तपाईँहरु सर्वसम्मति भन्दै हुनुहुन्छ, उम्मेदवारी घोषणा पनि भइरहेको छ, खास के भइरहेको छ ?

नेकपा एमालेले अरु राजनीतिक दलले भन्दा पृथक ढंगले गत असोज १५ देखि १७ गतेसम्म गोदावरीमा सम्पन्न गरेको विधान महाधिवेशनबाट विधि र नीति पास गर्‍यौं । त्यसबेला पारित गरेको विधि अनुसारको नेतृत्व निर्माण गर्ने ऐतिहासिक क्षण दशौं राष्ट्रिय महाधिवेशनमा छौं । हामीले विधान अनुसार नयाँ नेतृत्व चयन गर्नुपर्ने थियो । तर केन्द्रीय कमिटीको अन्तिम बैठकले विधानको अहिलेको प्रावधानलाई तन्काएर अलिकति ठूलो कमिटी बनाउने प्रस्ताव गर्‍यो ।

त्यो गर्नुको मतलब के हो भने पार्टीमा केही समयदेखि उम्मेदवारी घोषणा गर्ने र आफू जित्ने सम्भावना नहुनेवित्तिकै चर्चामा आउन वा चुनौती खडा गर्न वा जबर्जस्त टिम बनाउनपार्टीमा नेतृत्वमा आकांक्षा व्यक्त गर्ने जुन प्रचलन आयो, त्यसप्रति धेरै नेता कार्यकर्ताले विमति पनि जाहेर गर्नुभयो । किनभने निर्वाचनमा आफ्नो उम्मेदवारी जाहेर गर्ने भनेको पार्टीको निर्वाचन आयोगमा हो ।

निर्वाचन आयोगले सूचना निकालेपछि मनोनयन दर्ता गर्न पाइन्छ । तर अगाडि नै हल्लाखल्ला गरिएको छ । यसलाई निरुत्साहित गर्न हामीजस्ता केही सांसद र केन्द्रीय कमिटीका सदस्यहरुले छलफल गर्‍यौं । हामीले के निधो गर्‍यौं भने सानो डेलिगेसन टिम बनाऔं र देशभरका नेता कार्यकर्ताको एकतावद्ध पार्टी निर्माणको भावनालाई नेतृत्वसम्म पुर्‍याऔं । सर्वसम्मत रुपमा नेतृत्व चयन गरौं भनेर दबाब दिऔं । त्यसअनुसार लबिङ गर्‍यौं र अन्ततः सर्वसम्मतको नजिकनजिक पार्टी पुगेको छ ।

सर्वसम्मत नेतृत्व चयनको पहल गर्नुपर्नाका केही आधार छन् । एउटा, हामीले कात्तिक ६ गते देशभरका ६ हजार ७४३ वटा वडामा सर्वसम्मत नेतृत्व चयन गर्‍यौं, कात्तिक ९ गते ७५३ पालिकामा सर्वसम्मत नेतृत्व चयन गर्‍यौं । देशविदेशका गैर भौगोलिक क्षेत्रबाट पनि सर्वसम्मतिले प्रतिनिधि चयन गर्‍यौं । सबैतिर सर्वसम्मत गर्ने, तल्ला कमिटीमा व्यक्तिको आकांक्षा पार्टी भन्दा माथि हुन सक्दैन भनेर दबाब दिने, केन्द्रीय नेतृत्वमा चाहिँ हामी सर्वसम्मत नगर्ने भन्ने हुनै सक्दैन, त्यसकारण हामीले सर्वसम्मत गर्नैपर्छ ।

दोस्रो, जे भए पनि पार्टीमा विभाजनको रेखा कोरिएको छ, सानोसानो टुक्रै भए पनि पार्टीबाट बाहिरिएको छ । यसले सर्वत्र हल्ला छ, एमाले विभाजित भयो । यस्तो बेलामा हामी विभाजित हुनु राम्रो हुँदैन ।

तेस्रो, कार्यकर्ता नेताभन्दा पार्टी प्रधान हो । पार्टी मजबुत भयो भने म आफैं त्यसभित्र स्वतः मजबुत हुन सक्छु । त्यसकारण मेरो निजी स्वार्थलाई पार्टीको अधिनस्थ राख्नुपर्छ भनेर एउटा जबर्जस्त भावना आम नेता कार्यकर्तामा छ ।

विधान महाधिवेशन दुई महिनाअघि भएको हो, त्यसलाई अहिले नै उल्ट्याइयो, विधान महाधिवेशनको औचित्य रहेन भन्ने भनाइ पनि आएको छ नि ?

त्यो बेला दूरदृष्टि नपुगेको जस्तै देखियो । तर आजको आवश्यकता अविभाजित, अखण्डित र एकतावद्ध एमले बनाउन हामीले (विधान संशोधन) गर्नैपथ्यो, हामीले त्यो गर्‍यौं । यो विधानको प्रावधान टेकेर गरिएको हो, वैधानिक नै छ । विधानमै विधान महाधिवेशनपछि सम्पन्न केन्द्रीय कमिटीको बैठकले आवश्यक परेको खण्डमा विधान संशोधन गर्न सकिने छ भनेको छ ।

अझ म त हामीले ताली पड्कएर पार्टी अध्यक्षलाई सर्वाधिकार दिनुपर्छ भन्ने पक्षमा छु । उहाँले जे भन्नुहुन्छ, हामीले ताली पड्काएर उठौं भन्ने मेरो प्रस्ताव छ । कसैले यसलाई देवत्वकरण गर्‍यो, पार्टी अध्यक्षलाई जंगबहादुर बनाइयो पनि भन्लान्, तर यो हाम्रो पार्टी अध्यक्षप्रतिको श्रद्धा हो ।

पार्टीमा केही विमति राख्ने बाहिरिएपछि केपी ओलीलाई सर्वस्वीकार्य जस्तो नेता देखिनुभएको छ । मलाई लाग्छ जसले अहिले अध्यक्षमा उम्मेदवारी दिने भन्दै हुनुहुन्छ, उहाँलाई बेलैमा रेस्पोन्स गरेको भए उम्मेदवारी घोषणा गनुहुन्थ्यो । त्यहाँ कमजोरी भयो होला । नेकपा एमालेमा केपी ओली जसरी सर्वस्वीकार्य नेता हुनुहुन्छ, देशमै पनि केपी ओलीजत्तिको नेता छैन भनेर अरुहरुले भनिरहेका छन् । यस्तो बेलामा सर्वसम्मत गरेपनि केपी ओलीले नै जस पाउने हो । त्यसैले उहाँले अगुवाइ गर्नुपर्छ, नेकपा एमालेलाई विभाजित हुन दिनुहुँदैन ।

२०४९ सालको पाँचौ राष्ट्रिय महाधिवेशन काठमाडौंको प्रज्ञा भवनमा भएको थियो । त्यहाँ मनमोहन अधिकारी, सीपी मैनाली लगायतले विमति राखेर हामी चुनावमा पनि उठ्दैनौं, पार्टीमा पनि बस्दैनौं भन्नुभएको थियो । त्यतिबेला हामी धेरै भावुक भयौं, धेरै मानिसले आँशु झारे । अन्तिममा मदन भण्डारीले मनमोहन अधिकारी, सीपी मैनालीलगायत थुपै्र नेताहरुलाई बोलाउनुभयो र तपाईंहरुसहितको पार्टी निर्माण गर्न खोजेको हो, तपाईंहरु बस्नुस् भनेर कन्भिन्स गर्नुभयो ।

अन्ततः त्यो महाधिवेशनबाट नेकपा एमाले एकतावद्ध भएर निस्कियो । अहिले केपी ओली त्यस्तै त्यस्तै क्षणमा हुनुहुन्छ । उहाँले त्यो क्षणलाई सम्झिनुपर्छ, मदन भण्डारी, मनमोहन, पुष्पलाल सम्झिनुपर्छ । अरु नेताहरुले पनि यतिबेला पार्टीविरुद्ध चौतर्फी घेराबन्दी छ, ठूलो गठबन्धन निर्माण भएको छ । यो घेराबन्दीको चक्रब्युह तोड्न पनि हामी एकतावद्ध हुनुपर्छ ।

सर्वसम्मतिको पहल त पदाधिकारीको संख्या बढाएपछि गरिएको हो ? अब अध्यक्षलाई प्राधिकार दिने, उहाँले घोषणा गर्ने ताली बजाउने भन्न खोज्नुभएको हो ?

विधान महाधिवेशनले पारित गरेको पदाधिकारीको संख्या नपुग भयो, त्यसलाई बढाएर सर्वसम्मतिको वातावरण बनाऔं भनेर नै हामीले विधान संशोधन गरेका हौं ।

केन्द्रीय कमिटी बैठकमा मैले समय मागेर भनेको थिए, सर्वसम्मत हुन्छ भने मात्र विधान संशोधन स्वीकार गर्छौं । सर्वाधिकार तपाईलाई हुन्छ, तपाईंले घोषणा गरेको हामी मान्छौं । हामी जो कोही तलमाथि परौं, तपाईंको नामलिस्ट स्वीकार गछौं भनेको थिएँ । यो नै नेकपा एमाले एकतावद्ध बनाउने अचुक उपाय हो । संख्या बढाएर पनि चुनाव हुन्छ भने हामीलाई स्वकार्य हुँदैन ।

तपाईका अनुसार अब अध्यक्षले भीम रावललाई बोलाएर सम्झाएर अनुसार भीम रावललाई बोलाएर सम्झाएर फकाएर अर्को कुनै पद दिएर मनाउनुपर्‍यो होइन त ?

भीम रावल अन्तर मनदेखि कन्भिन्स हुनुहुन्छ । तर नेताहरुले अलि रेस्पोन्स गर्नुपर्‍यो । उहाँ लगायत नेताहरु घनश्याम भुसाल, योगेश भट्टराई, उपाध्यक्ष अष्टलक्ष्मीशाक्य लगायत विगतको माधव नेपालको लिगेसी तोडेर आउनु हुने र माओवादीको लिगेसी तोडेर आउने बादल नेतृत्वको जुन टिम छ, त्यसलाई एमालेभित्र मेरो सम्मान छ, म जिम्मेवारी पाउँछु भन्ने अनुभूति दिलाउने गरी हामीले एकतावद्ध बनाउनुपर्छ ।

सर्वसम्मत गर्दा आन्तरिक लोकतन्त्रको कुरा पनि उठ्ला ?

जे गर्दा पनि आलोचना, विरोध त हुन्छ नै । सर्वसम्मत हुँदा पनि लोकतान्त्रिक अभ्यासहरु अवरुद्ध भयो, चुनाव लड्न पाइएन भनेर असन्तुष्टि हुन्छ । चुनाव भयो भने एमालेले यति पनि मिलाउन सकेन, तलतल चाहिँ सर्वसम्मत भनेर कार्यकर्तालाई दबाव दिने, उठ्न खोज्नेलाई रोक्ने, माथि गइसकेपछि चाहिँ हाम्रो खुसी हो, हामी लड्छौं भन्दा नेतालाई मात्र लोकतन्त्र हो कि जस्तो देखिन्छ । त्यसैले कार्यकर्ता र नेतालाई समान लोकतन्त्र स्थापित गर्न पनि सर्वसम्मति गर्नुपर्छ भन्ने हाम्रो भनाइ हो ।

सर्वसम्मति हुन्छ भन्नेमा विश्वस्त हुनुहुन्छ ?

म त ९९ प्रतिशत विश्वस्त छु । पार्टी अध्यक्षले यसको अगुवाइ गर्नुपर्छ, हामी सहयोगी हुन्छौं । हामी त अभियन्ता बनेर हिँडेका छौं । जति साथीहरुलाई भेटेका छौं, तपाईँको महत्वकांक्षाभन्दा पार्टी एकता, पार्टीको हित ठूलो हो । पार्टी हितका सामू तपाईंको हित अनिधस्त हुनुपर्छ भनेका छौं ।

अध्यक्षले घोषणा गर्ने लिस्टमा पर्दिनँ, चुनाव लडेँ भने जित्छु भन्ने अहम भएका केही नेताहरु बाहेक सारा प्रतिनिधिहरुलाई पनि सर्वसम्मति स्वीकार्य हुन्छ भन्ने लाग्छ । म पनि एउटा पदमा उम्मेदवार हुनसक्थेँ । तर मैले नेताहरुलाई के भनेको छु भने पार्टी एकतावद्ध हुन्छ भने मलाई जे मा राख्नुभए पनि हुन्छ । त्यस्तै भन्ने अवस्थामा नेता कार्यकर्ताहरु छन् र हुनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?