+
+

जर्मनी र इटलीमा पनि ओमिक्रोन भेरियन्टका संक्रमित भेटिए

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १२ गते ११:४२

१२ मंसिर, काठमडौं । केही दिनअघि दक्षिण अफ्रिकामा पत्ता लागेको कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित युरोपका थप मुलुकमा फेला परेका छन् ।

बेलायत, जर्मनी र इटली सहितका केही मुलुकमा ओमिक्रोनका संक्रमित फेला परेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । शनिबार बेलायतका २ जना व्यक्तिमा नयाँ भेरियन्ट फेला परेको छ । दक्षिण अफ्रिकाबाट आएका २ जनामा ओमिक्रोन देखिएको बेलायतका स्वास्थ्यमन्त्री साजिद जाभिदले बताएका हुन् ।

त्यस्तै, जर्मनीमा समेत नोभेमबर २४ गते दक्षिण अफ्रिकाबाट आएका २ यात्रुमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको म्युनिखस्थित माइक्रोबायोलोजी केन्द्र म्याक भोन पेटेनकोभरले बताएको छ ।

इटलीमा पनि मोजाम्बिकबाट फर्किएका एक व्यक्ति ओमिक्रोन भेरियन्टबाट संक्रमित भएको र दुई बालबालिकासहित परिवारका अन्य पाँच सदस्यमा समेत कोरोना संक्रमण पुष्टि भएको त्यहाँको समाचार माध्यम लाप्रेसेले जनाएको छ ।

चेक गणतन्त्रकी एक महिलामा पनि नयाँ ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको लिबेरेकस्थित क्षेत्रीय अस्पतालका प्रवक्ता भ्याक्लाभ रिकारले बताए ।

नेदरल्याण्डको नेशनल इन्स्टिच्युट फर पब्लिक हेल्थका अनुसार दक्षिण अफ्रिकाबाट दुई उडानमा आएकामध्ये ६१ यात्रुमा कोरोना संक्रमण पुष्टि पछि उनीहरूलाई आइशोलेशनमा राखिएको छ । जिन सिक्वेन्सिङमार्फत् ती व्यक्ति नयाँ भेरियन्टबाटै संक्रमित भए वा नभएको निर्धारण हुने इन्स्टिच्युटले जनाएको छ ।

यसअघि बेल्जियम, हङकङ, इजरालय र बोत्स्वानामा ओमिक्रोनका संक्रमित फेला परिसकेका छन् ।

ओमिक्रोन पत्ता लागेको समाचार बाहिर आएलगत्तै कैयौं मुलुकले दक्षिण अफ्रिकी क्षेत्रबाट हुने हवाई उडानमाथि प्रतिबन्ध लगाइसकेका छन् ।

‘बी.१.१.५२९’ पनि भनिने ओमिक्रोनलाई विश्व स्वास्थ्य संगठनले ‘चिन्ताको विषय’ भनेको छ । यसअघिका भेरियन्टभन्दा बढी संक्रामक ठानिएको यसको उत्परिवर्तन क्षमता समेत धेरै रहेको छ । तर कोभिड-१९ का अन्य भेरियन्टभन्दा ओमिक्रोन थप खतरनाक वा गम्भीर छ वा छैन भनेर पुष्टि हुन भने बाँकी नै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment