+
+

बालबालिकाका लागि काठमाडौं महानगरमा बन्दैछन् पार्क

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १२ गते १२:५८
फाइल तस्वीर

१२ मंसिर, काठमाडौं । काठमाडौं मुलुककै ठूलो र सुविधासम्पन्न शहर पनि हो । अध्ययन, व्यवसाय, रोजगारी र स्वास्थ्य उपचारका लागि देशभरबाट आउनेहरुको भीड काठमाडौंमा हुन्छ ।

मानिसको चाप बढेसँगै काठमाडौंमा अव्यवस्थित शहरीकरण बढेको छ । बढ्दो अव्यवस्थित शहरीकरणले काठमाडौं दिनानुदिन साँघुरिँदै गइरहेको छ ।

खुला स्थानहरु ठूलाठूला भवनहरुले ढाक्दै जाँदा बालबालिकाको लागि खेल्ने ठाउँको अभाव हुन थालेको छ । बालबच्चाहरुलाई लिएर घुमफिर गर्न सकिने र उनीहरुलाई खेलाउन सकिने ठाउँहरु सीमित छन् ।

काठमाडौं महानगरपालिकाले अहिले ‘एक वडा एक पार्क’ कार्यक्रम सञ्चालन गरिरहेको छ । अर्को सार्वजनिक जग्गा संरक्षण गरी पार्कको रुपमा विकास गर्ने कार्यक्रम अघि सारेको छ । महानगरले निर्माण गरिरहेका पार्कहरु बालमैत्री बनाइरहेको सार्वजनिक निर्माण विभाग प्रमुख राम थापा बताउँछन् । उनी भन्छन्, ‘शहरीकरणले घरैघर मात्रै हुन थाल्यो । कतै घुम्न अथवा केही छिन बसेर गफ गर्ने सफा र खुला स्थानको अभाव परिपूर्ति गर्न महानगरले काम गरिरहेको छ । जहाँ सबै उमेर समूहकालाई सहज हुनेछ ।’

उनका अनुसार महानगरपालिकाले बालबालिकाको लागि ३१ नम्बर वडाको शान्तिनगरमा, ६ नम्बर वडामा शान्ति नमुना पार्क, हाँडी गाउँमा बालमैत्री पार्क, शंखपार्कको एउटा स्थान बालबालिकाको लागि खेलकुद सामग्री सहित छुट्याएको छ । त्यसका साथै महानगरको पाइपलाइनमा धारापाटी पार्कलाई पनि बालमैत्री पार्कको रुपमा विकास गरिरहेको र यो निर्माणको क्रममा रहेको बताए । १० नम्बर वडामा सानो गौचरणमा बालमैत्री पार्क बनाउने तयारीमा रहेको थापाले बताए ।

निजी तथा व्यावसायिक बालउद्यानहरुमा सबैको पहुँच नहुने भएकाले महानगरले खेलकुद सामग्रीसहितको बालमैत्री पार्क बनाइरहेको थापाको भनाइ छ । ‘महानगरले बनाइरहेको बालमैत्री पार्कमा जाँदा अब सबैलाई सहज हुन्छ । छुट्टाछुट्टै समय निकाल्नु पर्दैन । बालबच्चालाई छुट्टै, आफ्नो लागि छुट्टै, आमाबुवाको लागि छुट्टै पार्क खोज्नु परेन,’ उनले भने । यस्तो खालको पार्कले सबैलाई एकसाथ पुनर्ताजगी दिने थापा बताउँछन् ।

हालसम्म योजना अनुरुप २३ वटा पार्क निर्माण गरिसकेको र केही निर्माणकै क्रममा रहेको महानगरपालिकाले जनाएको छ । सार्वजनिक निर्माण विभाग प्रमुख थापाले भने, ‘शहरको आवश्यकता अनुरुप पार्कको निर्माण गरिरहेका छौं । पार्क निर्माण गर्ने क्रममा बालबालिका र ज्येष्ठ नागरिकलाई ध्यानमा राखेर काम गरिरहेका छौं ।’

यो आर्थिक वर्षभित्र ५० भन्दा बढी पार्क सम्पन्न गर्ने र त्यसको लागि ३० करोड रुपैयाँ हाराहारीमा बजेट खर्च हुने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?