+
+

एमालेमा नयाँ विकल्प : भीम रावललाई वरिष्ठ उपाध्यक्ष, पोखरेल फेरि महासचिव

नेकपा एमालेमा केन्द्रीय सदस्यहरुको सूची तयार पार्ने जिम्मा पाएका चार नेताले पदाधिकारीमा सहमति गर्ने विकल्प पनि सुझाएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १२ गते १६:३४
एमाले नेताहरु भीम रावल र ईश्वर पोखरेल ।

१२ मंसिर, कामाडौं । नेकपा एमालेमा केन्द्रीय सदस्यहरुको सूची तयार पार्ने जिम्मा पाएका चार नेताले पदाधिकारीमा सहमति गर्ने विकल्प पनि सुझाएका छन् ।

चितवनको सौराहामा जारी एमालेको दशौं महाधिवेशनको बन्दसत्रले शुक्रबार भीम रावल र घनश्याम भुसाल लगायतका नेताहरुको विरोधका बीच कमिटीको नामावली प्रस्ताव गर्ने सर्वाधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिएको थियो ।

ओलीले केन्द्रीय समितिको नाम प्रस्ताव गर्न आइतबार विहान १० बने बन्दसत्र राखेका थिए । तर बन्दसत्र रोकेर छलफलमा जुटेका उनले केन्द्रीय सदस्यहरुको सूची बनाउने जिम्मा संगठन विभाग प्रमुख विष्णु पौडेल र शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवालीलाई दिएका थिए । उनीहरुले केन्द्रीय सदस्यहरुको सूची बनाएर अध्यक्ष ओलीलाई बुझाएका छन् ।

उनीहरुले पदाधिकारीमा सहमतिको विकल्पहरु पनि सुझाएका छन्, जसमध्ये पहिलो विकल्प भीम रावललाई वरिष्ठ उपाध्यक्ष बनाउने र ईश्वर पोखरेललाई महासचिवमा दोहोर्‍याउने छ । रावलले अध्यक्षमा उम्मेदवारी दिने बताएका छन् भने पोखरेल वरिष्ठ उपाध्यक्षका दावेदार हुन् । उनीसँगै संसदीय दलका उपनेता सुवाङ नेम्वाङले पनि वरिष्ठ उपाध्यक्षमा दाबी छाडेका छैनन् ।

यो विकल्पअनुसार सहमति खोज्दा पोखरेललाई महासचिव बनाउन विधान संशोधन गर्नुपर्छ । स्रोत भन्छ, ‘अध्यक्षलाई सर्वाधिकार दिने प्रस्तावको विपक्षमा उभिएका घनश्याम भुसाललाई उपमहासचिवमा दोहोर्‍यायाउने तयारी छ । उहाँलाई सम्झाउने जिम्मा सचिव पृथ्वीसुब्बा गुरुङलाई दिने भनिएको छ ।’

साथै पदाधिकारीमा अरु नेतारुको व्यवस्थापन पनि सहज छैन । एक नेताका अनुसार पदाधिकारीमा सहमति खोज्न अध्यक्ष ओली आफैं छलफलमा जुटेका छन् ।

उनले सचिवमा दाबी गरेका नेताद्वय गोकुल बास्कोटा र महेश बस्नेतसँग छलफल गरिसकेका छन् भने सुवास नेम्वाङ र भीम रावलसँग पनि छलफल गर्ने तयारीमा छन् । नेम्वाङ ओलीबाहेक अरुलाई नेता नमान्ने सन्देश दिएर बन्दसत्र स्थलतिर गइसकेका छन् भने रावल ओली बसेको होटल परिसरमा आएकै छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?