
१२ मंसिर, काठमाडौं । मंगलबारदेखि इङल्याण्डका पसल र सार्वजनिक सवारी साधनमा मास्कलाई अनिवार्य बनाइएको छ ।
बेलायतका स्वास्थ्यमन्त्री साजिद जाभिदले मंगलबारदेखि पसल र सार्वजनिक सवारी साधनमा मास्क अनिवार्य लगाउनुपर्ने बताएका हुन् । नयाँ ओमिक्रोन भेरियन्टका कारण मास्क अनिवार्य गरिएको जाभिदको भनाइ थियो ।
तर जाभिदले स्काइ न्युजसँग कुरा गर्दै केही हप्ताभित्रै अनिवार्य मास्क लगाउनुपर्ने नियम हटाइन सकिने पनि बताए ।
इङल्याण्ड, वेल्स, स्कटल्याण्ड र उत्तरी आयरल्याण्डसँग सहमति भएपछि विदेशबाट आउने यात्रुले अनिवार्य रुपमा पीसीआर परीक्षण गर्नुपर्ने नियम छिट्टै लागू हुने पनि स्वास्थ्यमन्त्री साजिदले बताए ।
सबैले आ-आफ्नो परिवारसँग क्रिसमस मनाउन सकून् भनेर पछिल्ला कदम चालिएको उनको भनाइ थियो ।
‘हालसम्म हामीले हासिल गरेको प्रगति रक्षा गर्दै सबैले आ-आफ्नो परिवारसँग क्रिसमस मनाउन सकून् भनेर नै हामीले हिजो यी नियम ल्याएका हौं,’ बीबीसीको एन्ड्रु मार शोमा बोल्दै उनले भने ।
सरकारले आवश्यक परेको खण्डमा तत्काल उपयुक्त कदम चाल्ने पनि साजिदले बताए । सरकारका खोप सल्लाहकारले चाँडै नै बुस्टर कार्यक्रम परिमार्जनका हकमा सुझाव दिने पनि उनको अपेक्षा थियो । बीबीसीबाट
प्रतिक्रिया 4