+
+

ए डिभिजन लिग साविक विजेता मछिन्द्र र उपविजेता आर्मी भिड्दै

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १३ गते ८:२६

१३ मंसिर, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा साविक विजेता मछिन्द्र फुटबल क्लब र साविक उपविजेता त्रिभुवन आर्मी फुटबल क्लब यस सिजन दोस्रो चरणमै प्रतिस्पर्धा गर्दैछन् ।

दोस्रो चरणको अन्तिम दिन आज दुई खेल हुँदैछ । जसमा मछिन्द्र र आर्मीबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा ४:४५ मा सुरु हुनेछ ।

गत सिजन अन्तिम खेलमा आर्मीलाई पराजित गरेर पहिलो पटक लिग जितेको मछिन्द्र यस सिजन पनि उपाधि रक्षा गर्ने लक्ष्य राखेको छ । मछिन्द्रले यस सिजन जितबाट लिगको सुरुआत गरेको थियो ।

पहिलो खेलमा एनआरटीलाई २-१ ले पराजित गरेको थियो । दोस्रो खेलमा पनि जितलाई निरन्तरता दिने योजनामा मछिन्द्र छ ।

उता आर्मीले भने नेपाल पुलिस क्लबसँग १-१ को बराबरी खेल्दै लिग सुरुआत गरेको थियो । आर्मीले पनि यस सिजन उपाधि जित्ने लक्ष्य राखेको छ । पहिलो खेलमा बराबरी खेलेको आर्मी सिजनको पहिलो जितका लागि खेल्दैछ ।

उपाधि जित्ने लक्ष्य राखेका दुई टिमबीचको खेल प्रतिक्षित बनेको छ । दुवै टिममा राष्ट्रिय टिमबाट खेलेका खेलाडीहरू धेरै छन् । मछिन्द्रको पहिलो जितमा सुनिल बलले २ गोल गरेका थिए । सुनिलसँगै मनिष डाँगी, सुजन श्रेष्ठ, नुर्लान नोभ्रुजोभ, विशाल राई, विमल घर्ती मगर, रन्जित धिमाल, विशाल श्रेष्ठलगायत खेलाडी छन् ।

यस्तै भरत खवासको कप्तानीमा रहेको आर्मीमा विकेश कुथु, जर्ज प्रिन्स कार्की, सेसेहाङ आङदम्बे, दिनेश हेन्जन, अष्ट्रेलियाबाट आएका जगजित श्रेष्ठ, गौतम श्रेष्ठ लगायत खेलाडी छन् । फरवार्ड नवयुग श्रेष्ठ भने यस सिजन चोटका कारण मैदान उत्रने छैनन् ।
आजै दिउँसो १ बजे हुने पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लब र एनआरटीबीच प्रतिस्पर्धा हुनेछ ।

पहिलो खेलमा एपीएफ फुटबल क्लबलाई ३-२ ले पराजित गरेको ब्रिगेड ब्वाइज क्लब सोही लयलाई कायम राख्दै लगातार दोस्रो जितको खोजीमा हुनेछ ।

एनआरटी भने पहिलो जितको खोजीमा छ । एनआरटी पहिलो खेलमा मछिन्द्रसँग २-१ ले पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?