+
+

यात्रामाथि प्रतिबन्ध लगाउने कदम अनुचित : दक्षिण अफ्रिकी राष्ट्रपति

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १३ गते ११:१६

१३ मंसिर, काठमाडौं । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामापोसाले कोभिड-१९ को ओमिक्रोन भेरियन्टका कारण यात्रामाथि लगाएको प्रतिबन्धको निन्दा गरेका छन् ।

राष्ट्रपति रामापोसाले आफ्नो मुलुक र आफ्ना छिमेकीमाथि लगाइएको यात्रा प्रतिबन्धको आलोचना गरेका हुन् । उनले यात्रा प्रतिबन्ध लगाउने विभिन्न मुलुकको कदम गतल भन्दै तत्काल हटाउन समेत आग्रह गरेका छन् ।

‘हाम्रो मुलुक र हाम्रा दक्षिण अफ्रिकी छिमेकीहरूमाथि यात्रा प्रतिबन्ध लगाएका मुलुकलाई तत्काल आफ्नो निर्णय फिर्ता लिन आह्वान गर्न चाहन्छु’, ओमिक्रोन पत्ता लागेपछि पहिलो पटक राष्ट्रलाई सम्बोधन गर्दै रामापोसाले भने । यात्रा प्रतिबन्ध वैज्ञानिक रुपमा अनुचित र विभेदकारी भएको पनि उनको भनाइ थियो ।

यसअघि दक्षिण अफ्रिकाको विदेशमन्त्रालयले नयाँ भेरियन्ट पत्ता लगाएकोमा प्रशंसा गर्नुको साटो आफूहरूलाई दण्डित गरिएको बताएको थियो ।

कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन पत्ता लागेपछि अमेरिका, बेलायत र युरोपेली युनियनसहितका कैयौं मुलुकले दक्षिण अफ्रिकी मुलुकबाट हुने यात्रामा प्रतिबन्ध लगाएका छन् ।

विश्व स्वास्थ्य संगठनले ओमिक्रोनलाई ‘चिन्ताको विषय’ भनिसकेको छ । तर हतारमा यात्रा प्रतिबन्ध लगाउँदा जोखिम र वैज्ञानिक आधार हेर्नुपर्ने समेत संगठनको भनाइ छ ।

प्रारम्भिक प्रमाणअनुसार ओमिक्रोनको उत्परिवर्तन क्षमता धेरै रहेको र संक्रमणको जोखिम उच्च रहेको देखिन्छ । तर विद्यमान खोपलाई नयाँ भेरियन्टले छल्न सक्ने वा नसक्ने भनेर पुष्टि हुन भने बाँकी छ ।

हालसम्म ओमिक्रोन बेलायत, जर्मनी, अष्ट्रेलियासहित झण्डै एक दर्जन मुलुकमा फैलिइसकेको छ ।

(एजेन्सीहरूको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?