+
+

मोइनको शिक्षण मोह

नुनुता राई नुनुता राई
२०७८ मंसिर १३ गते २०:०७
मोइन उद्दिन

१३ मंसिर, काठमाडौं । विद्यार्थीलाई पढाउँदै कथा खोज्न सिन्धुपाल्चोक पुगेका मोइन उद्दिन अहिले शिक्षण पेशाको विकल्प सोच्न नसक्ने भएका छन् । टिच फर नेपालको फेलोसिपमा सिन्धुपाल्चोकको तालमाराङस्थित तेर्से माध्यमिक विद्यालयमा उनी शिक्षकको रूपमा तीन वर्षअघि पुगेका थिए ।

त्यसबेला शिक्षण पेशा उनको पहिलो रोजाइ थिएन । उनलाई आवश्यकताले जागिर खानुपर्ने बाध्यता थियो । जागिर खाँदै आफूले लेख्न खोजेको जस्तो कथा र पात्र भेटिने लोभले सिन्धुपाल्चोकतर्फको बाटो सोझिएको थियो ।

पटक–पटकको अन्तर्वार्ता र तालिमपछि मोइन विद्यार्थी पढाउन तेर्से मावि पुगेका थिए । टिच फर नेपालसँग जोडिनुको पछाडि केही कारण जिम्मेवार छन् । पहाडी क्षेत्रको जनजीवन बुझ्न सहयोग पुग्छ भन्ने बुझाइ त छँदैथियो, साथमा आफूले खोजेको कथा र पात्र त्यहाँ भेटिन सक्ने अपेक्षा पनि थियो मोइनलाई ।

काठमाडौंमा जन्मेर सुविधासम्पन्न निजी विद्यालयमा अध्ययन गरेका मोइन व्यापारिक घरानाका सदस्य हुन् । आफ्नो रुचि पहिल्याउन सक्ने भएदेखि नै उनी मिडिया क्षेत्रप्रति आकर्षित भए । लेख्न, पढ्नमा रुचि राख्ने उनले विभिन्न विषयमा पत्रपत्रिकामा लेख र कथाहरू लेखे । उनले लेखेका सामग्रीहरू पढेर उनका साथीले थप लेख्न प्रोत्साहन गर्थे ।

एकातिर विस्तारै निको हुँदै गरेको बुवालाई तन्दुरुस्त बनाउने जिम्मेवारी, अर्कोतिर जीवन निर्वाह गर्ने व्यवसाय, साथमा बिरामी आमा । अप्ठ्याराहरूले नै परीक्षा लिन्छ र मानिसलाई परिपक्व बनाउँछ ।

मोइनले उपत्यकाको एक निजी अस्पतालमा कम्प्युटर अपरेटरको रूपमा आफ्नो जागिरे जीवन शुरू गरेका थिए । काम गर्दा पनि उनले आफ्नो लेखनलाई नै भने निरन्तरता दिए ।

प्रायः छोटो कथा लेख्ने मोइनलाई सहकर्मीहरूले निरन्तर प्रोत्साहन दिइरहन्थे । सहकर्मीहरूको हौसला र सुझावले हौसिएका मोइनले सोही अस्पतालमा कार्यरत नर्सको कथा लेख्ने निर्णय गरे । उनले ती नर्सको संघर्ष, बिरामीप्रतिको सेवाभाव लगायतलाई आफ्नो लेखनको विषय बनाए ।

नर्ससँग कुरा गरेर लेख्दै जाँदा ४० पृष्ठ लामो भयो । त्यसलाई उनले उपन्यासको रूप दिए । अंग्रेजीमा लेखिएको उपन्यास प्रकाशित गर्नका लागि प्रकाशक खोज्न गए । तर अधिकांशले छाप्ने रुचि देखाएनन् ।

अंग्रेजीमा भएकैले छाप्न रुचि नदेखाएको महसूस गरेपछि मोइन आफैंले त्यसलाई नेपालीमा अनुवाद गरे । नेपालीमा लेखेको उपन्यास एक प्रकाशकलाई पठाए, प्रतिक्रिया आएन ।

मोइन त्यसबेला एक एफएममा कार्यक्रम सञ्चालकको रूपमा कार्यरत थिए । पछि पत्रिकामा पनि जोडिए । पढ्दै आफ्नो रुचिको क्षेत्रमा काम गरिरहेका मोइनलाई २०७४ सालमा पारिवारिक व्यवहारले थिच्यो । उनका बुवालाई पक्षघात भयो । त्यसपछि उनलाई आफ्नो बुवाको व्यवसाय (पोते व्यापार) सम्हाल्नुपर्ने बाध्यता आयो । पत्रिकाको जागिर छुट्यो ।

उनका बुवा नियमितको व्यायामपछि बिस्तारै सञ्चो हुँदै गए । तर लगत्तै उनकी आमालाई हृदयघात भयो ।

एकातिर विस्तारै निको हुँदै गरेको बुवालाई तन्दुरुस्त बनाउने जिम्मेवारी, अर्कोतिर जीवन निर्वाह गर्ने व्यवसाय, साथमा बिरामी आमा । अप्ठ्याराहरूले नै परीक्षा लिन्छ र मानिसलाई परिपक्व बनाउँछ । पसल सम्हाल्ने जिम्मा दाइलाई दिएर उनी आमासँग एक महीना भन्दा बढी गंगालाल अस्पताल बसे । आमा त बिस्तारै निको हुनुभयो, तर आर्थिक अवस्था बिरामी हुँदै गइरहेको थियो ।

यसरी मोइनलाई जागिर खोज्नैपर्ने बाध्यता आइलाग्यो । उनले कर्मचारी मागिएका विज्ञापनहरूमा आवेदन दिइरहेका थिए । त्यही बेला नर्सबारे लेखिएको उपन्यास प्रकाशन गरिदिन भनेको प्रकाशकसँग उनको भेट भयो । प्रकाशकले लेखनशैली सुधार गर्न र घुम्न सुझाए ।

मोइन उद्दिन

टिच फर नेपालको फेलोसिपले देखाएको नयाँ बाटो

टिच फर नेपाल फेलोसिपले मोइनको बाटो परिवर्तन गर्‍यो । टिच फर नेपालमा मोइन छनोट भएपछि उनले स्थानको छनोटमा चलाखी देखाए । एकातिर प्रकाशकको सुझाव मानेर पहाडी क्षेत्र घुम्नुपर्ने थियो भने अर्कोतिर घरमा आमाबुवा दुवै जना बिरामी भएकाले जुनसुकै समय पनि काठमाडौं आउनुपर्ने बाध्यता थियो । त्यसैले उनको रोजाइमा पर्‍यो, सिन्धुपाल्चोक ।

तेर्से मावि पुगेर अध्यापन गराउन थालेपछि उनले नेपालको शिक्षण शैलीलाई नजिकबाट अनुभूत गरे । विद्यार्थी र अभिभावकको अवस्था पनि नियाले । त्यसपछि उनले आफ्नो कथा खोज्न भन्दा पनि कसरी पढाउँदा विद्यार्थीलाई सहज रूपमा बुझाउन सकिन्छ भन्नेतर्फ बढी ध्यान केन्द्रित गर्न थाले । विद्यार्थीको समस्या नजिकबाट बुझ्न सक्दो प्रयास गर्न थाले उनले । उनी भन्छन्, ‘विद्यार्थीमा केही सिक्ने उत्सुकता हुनुपर्छ । त्यो उत्सुकता शिक्षकले भर्नुपर्छ । मैले त्यही प्रयास गरें ।’

पढाउँदै कथा खोज्न पुगेका मोइनले त्यहाँ विद्यार्थीका फरक–फरक कथा भेटे । विद्यार्थीका कथालाई भिडियोमा उतारे । नियमित गृहकार्य नगर्ने छात्राहरूको समस्या बुझ्न उनीहरूको घरमै पुगे । विद्यार्थीको दैनिकीलाई देखाउने भिडियो पनि बनाए । ‘हरेक विद्यार्थीको आ–आफ्नै कथा भेटें । त्यसैले उनीहरूमध्ये केहीको कथामा छोटो फिल्म बनाएको छु’, उनले भने ।

‘छात्राहरू बिहान उठेपछि भाइबहिनीलाई खाजा खुवाउने, घरको सरसफाइ गर्ने, खाना पकाउने, भाँडा माझेर दुई घण्टा हिंडेपछि विद्यालय पुग्ने, साँझ घर फर्केपछि घाँस काट्ने, साँझको खाना खाएर भाँडा माझिसक्दा रातिको ९ बज्ने रहेछ’ उनले भने, ‘सबै काम सक्दा थकित भएर नियमित गृहकार्य छुटेको रहेछ ।’ केही भिडियो बनाएपछि विद्यालयमा कुरा राखेर होस्टलको व्यवस्था भएको मोइनले सुनाए ।

मोइनले हरेक दिन विभिन्न विषयमा भिडियो बनाएका छन् । विद्यार्थीले सिकेको नयाँ विषयहरू उनको भिडियोका प्रमुख विषयवस्तु बनेका छन् । विद्यालयमा नै विद्यार्थीलाई खाजा बनाउन सिकाएको र त्यसलाई बेचेर उनीहरूले आर्थिक जोहो गरेको जस्ता सामग्री समेटिएको भिडियो उनको युट्युब च्यानलमा हेर्न सकिन्छ ।

दुई वर्षको लागि तेर्से माध्यमिक विद्यालय पुगेका उनले विद्यार्थीलाई सक्दो सिर्जनात्मक बनाउने कोशिश गरे । विद्यालयको नियमित भिडियो बनाइरहेका मोइनलाई पछ्याइरहेका केही विदेशीले विद्यालयमा दुई लाख बराबरको पुस्तकालय पनि स्थापना गरिदिएका छन् ।

उनले त्यसबीचमा तेर्से माध्यमिक सहितका विद्यार्थीलाई काठमाडौं ल्याएर विभिन्न स्थानको प्रत्यक्ष भ्रमण गराए । ‘करिअर एक्स्पोजर ट्रिप’ भनेर होटल, सञ्चार संस्था, उद्योगहरूमा भ्रमण गराए । विभिन्न व्यक्तित्वहरूसँग भेट गराए ।

यस्ता गतिविधिले विद्यार्थीलाई आफ्नो ‘करिअर रोज्न’ सहज बनाएको उनको बुझाइ छ । अंग्रेजी विषयका शिक्षक मोइनले विद्यालयको अनुरोधमा सामाजिक विज्ञान विषय पनि पढाए । दुई वर्ष सिन्धुपाल्चोक पढाएर फर्किंदासम्म उनी शिक्षण पेशालाई नै निरन्तरता दिने सोचमा पुगेका छन् ।

तेर्से माविमा उनले प्रधानाध्यापक तथा शिक्षकहरूको भरपूर सहयोग मिलेको अनुभव गरे । उनको काम प्रभावकारी भएकै कारण विद्यालयले उनलाई बस्न आग्रह गरेको थियो । तर विकट हिमाली क्षेत्रमा पढाउने इच्छा भएकोले उनी काठमाडौं फर्किए । उनले उपल्लो डोल्पाको धो तरापमा रहेको क्रिष्टल माउन्टेन स्कुलमा आवेदन दिएका थिए ।

यसरी टिच फर नेपालको फेलोसिप सकिएर फर्किंदा उनको लक्ष्यले नयाँ बाटो लिइसकेको थियो । यसबीचमा उनले सिकेको शिक्षा र सँगालेको अनुभूति छ– गुणस्तरीय शिक्षाले नै असल नागरिक उत्पादन गर्न सकिन्छ र त्यसका लागि शिक्षकले मिहिनेत गर्नुपर्छ ।’

टिच फर नेपालको फेलोसिप सकिएर फर्किंदा उनको लक्ष्यले नयाँ बाटो लिइसकेको थियो । यसबीचमा उनले सिकेको शिक्षा र सँगालेको अनुभूति छ- गुणस्तरीय शिक्षाले नै असल नागरिक उत्पादन गर्न सकिन्छ र त्यसका लागि शिक्षकले मिहिनेत गर्नुपर्छ ।’

उपल्लो डोल्पाको अग्लो अनुभव

उपल्लो डोल्पाको विद्यालयमा शिक्षकको रूपमा छनोट हुने आशामा काठमाडौं फर्केका मोइनको आवेदन अस्वीकृत भयो । त्यसपछि के गर्ने भन्ने अलमलमा परे उनी । संयोगवश विद्यालयले छनोट गरेको शिक्षक उपल्लो डोल्पा जान नसक्ने भएपछि उनको पालो आयो । आफूले इच्छाइएको विद्यालयमा छनोट भएपछि उनी तुरुन्तै जान तयार भएर हिंडे ।

नयाँ जोश र छुट्टै उत्साहका साथ उपल्लो डोल्पाको विद्यालय पुगेका मोइनलाई त्यहाँको चिसोले केही समय अत्यायो । तर मनभित्रको संकल्पले सपना सेलाउन दिएन । उनी भन्छन्, ‘एकैनाशको चिसो मौसमले शुरूमा त निकै अत्यायो । तर आफ्नो संकल्पले गर्दा काम गरें ।’

चिसोको कारण त्यहाँको जनजीवन अत्यन्तै कष्टकर रहेको उनले बुझे । केही दिन घुम्न जाँदा रमाइलो भए पनि त्यहाँको जनजीवन बुझ्दै जाँदा निकै गाह्रो छ । विद्यार्थी पनि त्यस्तै । त्यहाँ जानुअघि उनले त्यहाँको पढाइबारे नकारात्मक अफवाह सुनेका थिए । त्यसले उनमा पनि शंका पैदा गरेको थियो । तर विद्यालय जाँदा सोचेभन्दा सिकाइ प्रणाली राम्रो पाएको उनी बताउँछन् ।

उपल्लो डोल्पा पुगेर पनि उनले हरेक दिन भिडियो बनाएका छन् । उनले चारवटा छोटो फिल्म तयार गरेका छन् । यसमा विद्यार्थीलाई नै पात्र बनाएका छन् । यसले विद्यार्थीलाई थप आत्मविश्वासी बनाएको उनको जिकिर छ । उनी भन्छन्, ‘मैले स्यानिटरीप्याड, न्यूज रिपोर्टिङ लगायत विषयमा विद्यार्थीलाई नै सहभागी गराएर सर्ट फिल्म बनाएको छु । विद्यार्थीले गज्जब अभिनय गरेका छन् । उनीहरूलाई आत्मविश्वासी बनाएको छ ।’

मोइनले अभिभावक तथा विद्यार्थीसँग अन्तरक्रिया गराए । विद्यालयमा नै साहित्यिक मेलाको आयोजना गरे । यी सबै क्रियाकलापमा विद्यार्थीको उत्साहजनक उपस्थिति रहेको उनको जिकिर छ । उनी भन्छन्, ‘विद्यार्थीलाई कोर्ष भन्दा बाहेकको कुरा पनि जतिसक्दो धेरै सिकाउनुपर्छ, बुझाउनुपर्छ, देखाउनुपर्छ । यसले उनीहरूको बुझ्न सक्ने दायरा फराकिलो बनाउँछ ।’

अहिले विद्यालय बिदा छ । ६ महीना पढाएपछि जाडो महीनाको विदामा उनी मंसीरको पहिलो हप्ता काठमाडौं आइपुगेका छन् । उनी अब बिदा अवधिभर पनि तराई अथवा सिन्धुपाल्चोकको कुनै विद्यालयमा गएर खाली समय सदुपयोग गर्ने सोचमा छन् । यस्तो लाग्छ– भविष्यका कर्णधारलाई पढाउनु अब उनको आदत बनिसकेको छ । ‘अहिले खाली समय कतै न कतै विद्यालयमा गएर विद्यार्थीमाझ नै समय बिताउने सोचमा छु,’ मोइन कुराकानीको बिट मार्दै भन्छन्, ‘तर विद्यालय अथवा स्थानीय तहको विविध अप्ठ्यारा नीतिका कारण सहज छैन । हेरौं के हुन्छ ।’

मोइन उद्दिन

मोइन अब शिक्षण पेशाको विकल्प सोच्न छोडेका छन् । उनलाई शिक्षण पेशा बाहेक अरू पेशामा रमाउन सक्छु भन्ने कल्पनामा आउन छाडेको बताउँछन् । भन्छन्, ‘अब त म बालबालिका भन्दा टाढा रहेर बस्न सक्छु जस्तो लाग्दैन ।’ यही पेशामा धेरै काम गर्नुपर्ने रहेछ भन्ने बुझेका मोइन अन्तर्राष्ट्रिय शिक्षण कक्षा लिने सोचका साथ अवसरको खोजीमा रहेको बताउँछन् । भन्छन्, ‘कम्तीमा दुई वर्ष अन्तर्राष्ट्रिय तालिम लिएर आउन पाएँ भने मेरो सिकाउने शैली, दायरा फरक हुन्छ भनेर प्रयास गरिरहेको छु ।’

शिक्षकले विद्यार्थीमा उत्सुकता भर्न सकेका छैनौं

मोइनले करीब तीन वर्ष शिक्षण पेशामा समय बिताएका छन् । यो अवधिमा उनले शिक्षकले विद्यार्थीमा उत्सुकता भर्न नसकेको अनुभूति गरेका छन् । उनी भन्छन्, ‘सिकाउने मान्छेमा ज्ञानको भण्डार हुनुपर्छ । पढाउने विषयमा गहिरो अध्ययन र अरू विषयमा पनि जानकार हुनुपर्छ । त्यो हामीमा कमी छ ।’

अहिलेका अधिकांश शिक्षकमा अध्ययन गर्ने जाँगर नभएको उनको बुझाइ छ । शिक्षकको बुझाइको दायरा साँघुरो भएको कारण विद्यार्थीलाई सिर्जनशील र उत्सुक बनाउन नसकेको उनी बताउँछन् । भन्छन्, ‘विद्यार्थीमा उत्सुकता भर्न सक्नु नै शिक्षकको पहिलो गुण हो । कौतूहल नहुनेले कहिल्यै केही नयाँ सिक्न, जान्न सक्दैन । त्यसैले हामी शिक्षकको कमजोरीको कारण विद्यार्थी कमजोर भइरहेका छन् ।’

विद्यार्थीले जस्तो पनि, जुनसुकै विषयको प्रश्न सोध्न सक्ने र त्यसको सही जवाफ विद्यार्थीले बुझ्न सक्ने गरी दिनुपर्ने हुन्छ । त्यसको लागि शिक्षक अध्ययनशील हुन जरूरी छ । तर शिक्षकहरू अध्ययन नगर्ने र विद्यार्थीले प्रश्न सोध्न सक्ने वातावरण नै विद्यालयमा नहुने उनी बताउँछन् ।

शिक्षकले आफ्नो भविष्य सम्झेर अध्यापन गराउनुपर्ने बताउँछन् । शिक्षक आफैंले पढाएको विद्यार्थी नै भविष्यमा डाक्टर, इन्जिनियर, पाइलट, शिक्षक, राजनीतिज्ञ हुने भएकोले शिक्षक इमानदार र सिर्जनात्मक भई पढाउन आग्रह गर्छन् । भन्छन्, ‘शिक्षकले विद्यार्थीलाई दिने भनेको नै सकारात्मक र गुणस्तरीय ज्ञान हो । हामी इमान्दार भई मिहिनेत साथ पढाए गुणस्तरीय जनशक्ति अवश्य उत्पादन हुन्छ ।’

तस्वीर : चन्द्र आले

लेखकको बारेमा
नुनुता राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?