+
+

फोरजी अघि लाग्यो, विस्थापनको बाटोमा थ्रीजी

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०७८ मंसिर १३ गते २०:१०

१३ मंसिर, काठमाडौं । नेपालमा चौथो पुस्ताको मोबाइल सेवा (फोरजी) प्रयोगकर्ताको संख्याले थ्रीजी प्रयोगकर्ताको संख्यालाई उछिनेको छ । गत असोज २०७८ सम्मको विवरणका आधारमा नेपाल दूरसञ्चार प्राधिकरणले हालै सार्वजनिक गरेको ‘एमआईएस प्रतिवेदन’ले अब थ्रीजीलाई फोरजीले विस्थापित गर्दै लगेको स्पष्ट पारेको छ ।

प्राधिकरणका अनुसार फोरजी सेवा प्रयोग गर्ने ग्राहकको संख्या एक करोड २८ लाख ६० हजार १४१ पुगेको जनाएको छ । जबकी एक करोड २५ लाख ८७ हजार ०४७ जना थ्रीजी प्रयोगकर्ता छन् ।

नेपाल टेलिकमको ६६ लाख ३४ हजार ०६५ जना फोरजी ग्राहक छन् भने एनसेलको ६० लाख ५९ हजार ४८० जना छन् । एमआईएस प्रतिवेदनअनुसार स्मार्ट टेलिकमका १ लाख ६७ हजार ९६ जना प्रयोगकर्ताले फोरजी चलाउँछन् । भदौसम्म टेलिकमको ६२ लाख ६८ हजार, एनसेलको ५७ लाख २५ हजार रस्मार्ट टेलिकमको १ लाख ७६ हजार फोरजी प्रयोगकर्ता थिए ।

तथ्यांक तुलना गर्ने हो एक वर्षका बीचमा फोरजीको प्रयोगकर्ता दोब्बरभन्दा बढीले बढेका छन् । असोज २०७७ सम्म १ करोड ११ लाख ९७ हजार जनाले थ्रीजी चलाउँथे भने फोरजी चलाउनेको संख्या ५७ लाख ७२ हजार मात्रै थियो ।

फोरजी सेवामा लामो समय एनसेलले नै बर्चस्व कायम गरेको थियो । नेपाल टेलिकमले चार वर्षपछि गत भदौ महिनामा मात्रै फोरजी सेवामा निजी सेवाप्रदायक एनसेललाई उछिनेको थियो ।

विस्थापनतर्फ थ्रीजी

नेपाल टेलिकमले प्रवन्ध निर्देशक डिल्लीराम अधिकारी ६९३ वटा भन्दा बढी स्थानीय तहमा कम्पनीले फोरजी सेवा पुर्‍याएकाले मोबाइल डेटाको सस्क्राइबर बढ्दा फोरजी प्रयोगकर्ताको संख्या पनि वृद्धि भएको बताउँछन् ।

‘अहिले हामीले थ्रीजीमा थप लगानी गरेका छैनौं, भ्वाइस सेवालाई टुजी र डेटा सेवालाई फोरजीको लेयर मात्रै राखेर नेटवर्क विस्तार गरिरहेका छौं,’ उनले भने, ‘फ्रिक्वेन्सीको अधिकतम् प्रयोगका हिसाबले थ्रीजीभन्दा फोरजी धेरै किफायती भएकाले अब हाम्रो नेटवर्कमा थ्रीजी सेवा थप हुँदैन ।’

अहिले पनि नेपाल टेलिकमका १ करोड ३ लाख थ्रीजी प्रयोगकर्ता छन् भने एनसेलमा यस्तो संख्या २२ लाख ८४ हजार छ । तर, टेलिकम अब क्रमैसँग थ्रीजी सेवाका ग्राहकलाई फोरजीमा लैजाने रणनीतिमा छ ।

फोरजी नेटवर्क विस्तारपछि भोओएलटीई (भोल्टे) सेवामा पनि प्रयोगकर्ता बढिरहेको भन्दै प्रवन्ध निर्देशक अधिकारीले भविष्यमा बार फोनको प्रयोग घट्दै गएपछि फोरजी र फाइभजीको मात्रै नेटवर्क तयार हुने अधिकारी बताउँछन् ।

‘अहिले अधिकांश स्मार्ट फोनले फोरजी प्रविधि सपोर्ट गर्छ, अहिले हाइडेफिनेसन कन्टेन्ट र भिडियोहरुको प्रयोग बढिरहेकाले इन्टरनेटमा फोरजीको स्पिड अनिवार्य जस्तो भइसकेको छ,’ अधिकारीले भने, ‘त्यसैले विस्तारै थ्रीजीलाई फोरजीमार्फत प्रतिस्थापन गर्दै लैजाने क्रममा छौं ।’

उनले अहिले थ्रीज्री नेटवर्क रहेका क्षेत्रमा केही सुधारका काम गरेपनि यसमा थप ठूलो लगानी नगरिने बताए । सरकारले अब क्रमैसँग फोरजी नेटवर्ककको प्रयोग गरेर त्यसैमार्फत भ्वाइस र डेटा सेला लिने गरी भोओएलटीईलाई प्रवर्द्धन गर्ने नीति लिनुपर्ने अधिकारी बताउँछन् ।

‘अब फोरजी नचल्ने मोबाइल फोन नभित्र्याउने नीति लिने हो भने ग्राहले भ्वाइस र डाटा सेवाका पनि सुधारको महसुस गर्न पाउँछन्,’ उनले भने, ‘टुजी र थ्रीजी नेटवर्कको भन्दा फोरजी नेटवर्कमार्फत पाइने सेवा धेरै हदसम्म गुणस्तरीय हो ।’

एनसेलले पनि थ्रीजीका ग्राहकलाई अहिले अनेक अफर दिएर फोरजीमा आकर्षित गरिरहेको छ ।

फोरजी थ्रीजीसेवा भन्दा उच्च गतिमा चल्ने भएकाले यसबाट उठ्ने महसुल पनि धेरै लाग्छ । त्यसैले टेलिकम कम्पनीहरु फोरजीलाई नै प्रवद्र्धन गर्न प्रतिस्पर्धा गरिरहेका छन् ।

टेलिकमको अलमलले लामो अन्योल

टेलिकमले १७ पुस २०७३ गतेदेखि काठमाडौं र पोखरामा फोरजी सेवा उपलब्ध गराउन थालेको थियो । तर, टेलिकमभन्दा ५ महिनापछि (१७ जेठ, २०७४) फोरजी सेवा थालेको एनसेलले शुरुआतमै तीव्र रुपमा देशभर नेटवर्क विस्तार गरेर सेवा दिएपछि टेलिकम तत्कालै ग्राहक संख्यामा पछि परेको थियो । एनसेलले शुरुआतमै ४० मुख्य शहरबाट थ्रीजी नेटर्वकको अपग्रेड गरेर सेवा थालेको थियो ।

तर, टेलिकमलाई काठमाडौं र पोखराबाहेकका क्षेत्रमा सेवा विस्तारका लागि ठेक्का लगाउन मात्रै २ वर्ष समय लागेको थियो । २०७५ माघमा टेलिकमले एक वर्षभित्र फोरजी सेवा देशभर पुर्‍याउने भन्दै दुई चिनियाँ कम्पनीलाई ठेक्का दिए पनि काम भएन । टेलिकमका अरु परियोजना जस्तै फोरजी विस्तारको काम पनि अलमलमा फस्दा एनसेलले ठूलो संख्यामा ग्राहक बटुलिसकेको थियो ।

टेलिकमले बजार मूल्यभन्दा महँगोमा ठेक्का लगाउन खोजेको भन्ने विवाद अख्तियारसम्म पुगेको थियो । बोलपत्र लिइसकेको ठेक्का प्रक्रिया अघि बढाउने वा नयाँ लागत मूल्य तयार गरेर अर्को ठेक्का प्रक्रियामा जाने राय अख्तियारले सञ्चार मन्त्रालयलाई दिएको थियो ।

तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ३६ महिनाको परियोजनालाई १२ महिनामै सक्ने शर्तमा दुई चिनियाँ कम्पनीलाई ठेक्का लगाउन सहमति दिएका थिए । छिटो विस्तार सक्दा त्यसबाट टेलिकमले छिटै लगानी उठाउने र लागत महँगो भए पनि लाभ हुने बास्कोटाको तर्क थियो ।

टेलिकमले फोरजी सेवा विस्तारका लागि चिनियाँ कम्पनी जेडटीई कर्पोरेसन र हङकङको सीसीएसआई कम्पनी (हुवावे)सँग गत माघमा १८ अर्बको सम्झौता गरेको थियो ।

तर, ठेक्का भएर काम शुरु भएपछि पनि टेलिकमले तीव्र गतिमा नेटवर्क विस्तार गर्न सकेन । २०७६ फागुनसम्म फोरजी विस्तारको सबै काम सकिनुपर्थ्यो । अहिले आगामी डिसेम्बरसम्म परियोजना सक्न ठेकदार कम्पनीलाई समय दिइएको छ ।

२०७६ फागुनपछि ६ महिनामा काम सक्ने भनेर टेलिकमले ठेक्काको समय थपेको थियो । तर, २०७७ असारमा पनि नसकिएपछि पटक–पटक म्याद थप्दै आयोजना लम्ब्याइरहेको छ ।

कोरोना महामारी रोकथामको लागि भएको लकडाउन र निषेधाज्ञासहित साइटमा देखिएको समस्याका कारण परियोजना प्रभावित भएको टेलिकमले बताउँदै आएको छ । फोरजी सेवा विस्तार अन्तिम चरणमा पुग्नै लाग्दा मात्रै टेलिकम एनसेललाई जित्न सफल भएको टेलिकमका प्रवन्ध निर्देशक अधिकारी बताउँछन् ।

‘परियोजना अन्तिम चरणमा पुगेको छ, सेवा विस्तार हुँदै जाँदा सेवाग्राही पनि बढ्दैछन्,’उनले भने, ‘फोरजी सपोर्ट गर्ने मोबइलको प्रयोग बढेकाले पनि ग्राहक बढाउन मद्धत पुगेको छ ।’

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?