
१३ मंसिर, वीरगञ्ज । विश्व कोभिड–१९ को नयाँ भेरियन्ट ओम्रिकोनको त्रासमा रहेको बेला पर्सामा कोरोना भाइरस विरुद्ध विशेष खोप अभियान सञ्चालन हुने भएको छ ।
जिल्ला खोप समन्वय समितिले ‘हाम्रो खोप, हाम्रो सुरक्षा, खोप लगाउ सुरक्षित बनौं’ भन्ने नाराका साथ मंसिर २२, २३ र २४ गते खोप अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
खोप समन्वय समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालको अध्यक्षतामा बसेको बैठकले खोप लिन बाँकी रहेका १८ वर्ष उमेर भन्दा माथिका सबै व्यक्तिलाई खोप लगाउने निर्णय गरेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
१ सय २ खोप केन्द्र रहेको पर्सा जिल्लामा अभियानका लागि १० वटा खोप केन्द्र पनि थप गरिएको छ । आवश्यकताका आधारमा खोप केन्द्र थप गर्न सकिने स्वास्थ्य कार्यालयले जनाएको छ ।
वीरगञ्ज महानगरपालिकाको बढी भिडभाड हुने क्षेत्र घण्टाघर चोक, नयाँ बसपार्क, माईस्थान चोक, आदर्शनगर चोक, भन्सार र ड्राइपोर्ट चोकमा समेत खोप केन्द्र स्थापना गर्ने निर्णय गरिएको छ । पोखरिया नगरपालिकामा हाट बजार लाग्ने दिन थप एउटा खोप केन्द्र सञ्चालन गर्नेगरि तयारी गरिएको जिल्ला स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी दिए ।
‘कोरोना भाइरस विरुद्ध खोप लगाएपछि संक्रमणको जोखिम कम हुने र संक्रमण भईहालेपनि गम्भिर विरामी पर्ने दर कम छ’ उनले भने ‘सबै पालिकामा एकैपटक खोप अभियान शुरु गर्ने र पर्वको रुपमा अगाडी बढाउने लक्ष्य लिएका छौं ।’
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले भेरोसेल र सिनोफार्म खोपको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा खोपको समेत सुनिश्चितता भइसकेको पत्र स्वास्थ्य कार्यालय पर्सालाई पठाएको छ । त्यसैले अभियानमा भेरोसेल, सिनोफार्म खोपको छुटेको दोस्रो मात्रा पनि प्रदान गर्नेगरी तयारी गरिएको छ । गर्भाअवस्थाको पहिलो त्रैमासिक पछि सबै गर्भवतीलाई खोप दिइने छ ।
पर्सामा १ लाख ३० हजार ६ सय ७२ जनाले कोरोना भाइरस विरुद्ध खोप लगाईसकेका छन् । यो लक्षित जनसंख्याको २९.६७ प्रतिशत हो । पर्सामा १८ वर्ष भन्दा माथिका ४ लाख ४७ हजार जनसंख्या छ ।
प्रतिक्रिया 4