+
+
Shares
तस्कर समूहबाट सई हत्या घटना :

२२ महिनापछि मुख्य अभियुक्त समातिँदा जाग्यो न्यायको आशा

‘टुटिसकेको आशा फेरि जागेको छ । मुख्य अभियुक्त पक्राउ परेको खबरले हामीलाई ठूलो राहत मिलेको छ । ढिलै भएपनि अब त न्याय पाइन्छ कि !’

सुरेश राय सुरेश राय
२०८३ असोज ४ गते १५:२२

४ असोज, सिरहा । ‘न्याय पाउने आशा सबै टुटिसकेको थियो । महिनौं बित्दा भाइको हत्यामा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गर्नसक्छ भन्ने पनि विश्वास हराइसकेको थियो,’ तस्करी रोक्न खोज्दा तस्कर समूहबाट मारिएका सशस्त्र प्रहरी नायब निरीक्षक(सई) लक्ष्मणप्रसाद यादवका दाई पाण्डव यादवको भनाइ हो यो ।

तर, २२ महिनापछि शुक्रबार प्रहरीले मुख्य अभियुक्त पक्राउ परेपछि भने पाण्डवमा न्यायको आशा पलाएको छ ।

‘टुटिसकेको आशा फेरि जागेको छ । ढिलै भएपनि अब त न्याय पाइन्छ कि !’ उनले भने, ‘मुख्य अभियुक्त पक्राउ परेको खबरले हामीलाई ठूलो राहत मिलेको छ ।’

घटनामा संलग्न अरू व्यक्तिलाई पनि पक्राउ गरेर न्याय दिनुपर्ने उनले माग गरे ।

मृतक लक्ष्मणप्रसादका साला रञ्जित यादव पनि मुख्य अभियुक्त पक्राउ पर्दा न्याय पाउनेमा आशावादी देखिएका छन् ।

‘नागरिक अन्यायमा पर्दा प्रहरीले सुरक्षा दिन्छ र राज्यले न्याय दिन्छ भन्ने विश्वास हुन्छ । तर, सुरक्षामै खटिएको प्रहरीको हत्या हुँदा न्याय नपाइए विश्वास हराउँदै जाने रहेछ,’ उनले भने, ‘अहिले मुख्य अभियुक्त पक्राउ पर्दा हराएको विश्वास फर्किएको छ ।’

पाण्डव यादव

यसरी भएको थियो हत्या

२०८१ मंसिर १६ गते बिहानै भारतबाट नेपालतर्फ मदिरा तस्करी भइरहेको सूचना प्राप्त भएको थियो । त्यसपछि अँध्यारोमै ३ बजे बरियारपट्टी गाउँपालिका–१ कचनारीस्थित नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी टाली खटियो ।

बीओपी बडहरी बरियारपट्टीबाट सई लक्ष्मणप्रसादको नेतृत्वमा उक्त टोली खटिएको थियो ।

सूचनाअनुसार सशस्त्र प्रहरीको टोलीले शंकास्पद गाडी आइरहेको देख्यो । उक्त गाडी डीएल ५ सीजे ७१७१ नम्बरको सफारी जिप थियो ।

ड्युटी टोलीले उक्त जिपलाई रोक्न खोज्यो । तर, चालकले ड्युटीमा रहेका सई लक्ष्मणप्रसादलाई ठक्कर दिएर फरार भएको सशस्त्र प्रहरीले बताउँदै आएको छ ।

गम्भीर घाइते भएका सई लक्ष्मणप्रसादको उपचारका क्रममा मृत्यु भएको थियो ।

घटनापछि गाडीमा सवार व्यक्तिहरू फरार थिए । त्यसपछि प्रहरीले घटनाको अनुसन्धान अघि बढाउँदै संलग्न व्यक्तिहरूको खोजी गरिरहेको थियो ।

२२ महिनापछि गोली चलाएर मुख्य अभियुक्त पक्राउ

घटनाको २२ महिनापछि प्रहरीले भारत बिहारको मधुवनी जिल्ला, ललबनियाँ थाना, घोडमोहना गाउँका ३७ वर्षीय मोहम्मद कुरवान मंसुरीलाई पक्राउ गरेको छ । उनी नै मुख्य अभियुक्त रहेको प्रहरीले जनाएको छ । सई लक्ष्मणप्रसादको हत्यामा प्रयोग भएको गाडीका धनी उनी नै रहेको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार बरियारपट्टी गाउँपालिका–१ कचनारीस्थित नेपाल–भारत सीमा क्षेत्रबाट उनलाई पक्राउ गरिएको हो ।

प्रहरीले कुरवानसहित तीन जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय महेशपुरपतारको टोलीले उनीहरूलाई चिनेर पक्राउ गर्न खोजेपछि सीमाक्षेत्रबाट भाग्न खोजेको थियो ।

त्यसक्रममा उनीहरूले प्रहरीलाई लक्षित गरी एक राउन्ड गोलीसमेत चलाएको प्रहरीको भनाइ छ । जवाफमा प्रहरीले तीन राउन्ड गोली चलाएर उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीको गोली लागेर कुरवानको बायाँ हातको कुहिना र दाहिने खुट्टाको घुँडामा चोट लागेको छ । पक्राउपछि उनलाई प्रादेशिक अस्पताल सिरहामा उपचार गरिँदै छ ।

‘अन्य फरार चाँडै समातिन्छन्’

मुख्य अभियुक्त समातिएपछि जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी वासुदेव पाठक, सशस्त्र प्रहरीका एसपी सुमनजंग थापासहितको टोली मृतक सई लक्ष्मणप्रसादको घर पुगेका थिए ।

उनीहरूले बाँकी अभियुक्तलाई छिट्टै समातेर न्यायको प्रत्याभूति दिलाउने प्रतिबद्धता जनाएका छन् ।

एसपी पाठकले घटनामा संलग्न सबैलाई कानुनी दायरामा ल्याएर पीडित परिवारलाई न्याय दिलाउन प्रहरी प्रतिबद्ध रहेको बताए ।

‘घटनामा संलग्न अर्का एक जना अझै फरार छन् । उनको पनि खोजी भइरहेको छ,’ पाठकले भने ।

मुख्य अभियुक्त पक्राउसँगै प्रहरीले घटनाको अनुसन्धान थप अघि बढाएको जनाएको छ ।

लेखक
सुरेश राय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?