+
+

दलाल पुँजीवादले एमालेलाई लतार्न खोजिरहेको छ

घनश्याम भूसाल घनश्याम भूसाल
२०७८ मंसिर १३ गते २०:५५

यदि कार्यक्रम भएन भने आज समृद्धि र समाजवाद जसलाई नवौं महाधिवेशनले समृद्ध नेपाल, सुखी नेपाली भनेको थियो । त्यो कार्यक्रम भएन भने कार्यदिशाले मात्र केही गर्दैन । मैले पटकपटक भन्दै आएको छु- कार्यदिशा भनेको रेखांकन हो, कार्यदिशा भनेको डीपीआर हो । डीपीआरबिनाको रेखांकनले काम गर्दैन ।

त्यसैले हामीले कार्यक्रम बनाऔं, उक्त कार्यक्रमलाई बोक्न सक्ने कस्तो संगठनात्मक सिद्धान्त हुन्छ भन्ने कुराको व्याख्या कार्यक्रमले माग्छ । विधान कस्तो बनाउने भन्ने कुरा त्यसपछि सुरु हुन्छ ।

यसो भयो भने हाम्रो सिद्धान्त, कार्यदिशा, कार्यक्रम, संगठनात्मक सिद्धान्त र विधान, यो संगतिपूर्ण हुन्छ । र कार्यभारहरुलाई, आजको क्रान्तिलाई समाजवाद र समृद्धितर्फको यात्रालाई अथवा हामीले भन्ने गरेको समृद्ध नेपाल, सुखी नेपालीको त्यो यात्रालाई वास्तविकरुपले बोक्ने संगठन बन्छ । नत्र भने सिद्धान्त एकातिर नेताहरु अर्कैतिर हुन्छ ।

दलाल पुँजीवादले घिसारिरहेको एमाले

अहिले समाजवाद र लोकतन्त्रका नाममा गैरलोकतान्त्रिक र गैरसमाजवादी मान्छेहरुले पार्टीलाई कब्जा गर्छन् । मैले भन्दै आएको छु- यदि ठोस कार्यक्रम भएन भने र तदनुरुपको संगठनात्मक व्यवस्था भएन भने हाम्रा जस्ता ५० औं मुलुकहरुमा दलाल पुँजीवादले क्रान्तिलाई अपहरण गरिदियो ।

आज हामीकहाँ पनि दलाल पुँजीवादले क्रान्ति अपहरण गर्ने, समाजवादको झण्डा तिनैले उठाइदिने । श्रमजिवीको हातमा श्रमजिवीको झण्डा नहुने, दलाल पुँजीवादी र तिनका एजेन्टहरुको हातमा समाजवादको झण्डा भइदिने विरोधाभाषपूर्ण अवस्था भइदिन्छ ।

यी तमाम मुलुकहरुमा गएको ५० वर्षको हाम्रो जनवादी क्रान्तिको इतिहासले यो कुरा भन्छ । त्यसैले यसमा जोड दिनुपर्छ भन्ने मेरो मान्यता हो र यसैलाई मैले जोड दिँदै आएको छु ।

यस अर्थमा, आज पार्टीभित्र सिद्धान्त, मार्क्सवाद, विचार ज्यूँदो छ भन्ने कुराको सशक्त हस्तक्षेप आवश्यक पर्छ भनेर मैले उपाध्यक्षमा उम्मेदवारी दाखिल गरेको छु ।

विजयको आधार

यदि हामी सचेत भएनौं भने गएका ५०-६०-७० वर्षमा खासगरी दोस्रोयुद्ध पछाडि संसारका तमाम मुलुकहरुमा लोकतान्त्रिक क्रान्तिहरु भए र ती धेरैजसो दलाल पुँजीवादले अपहरण गरिदयो । हामी करिब करिब त्यो तानातानीमा छौं । एकातिर विचार, संगठन र अरु तमाम हिसाबले दलाल पुँजीवादले हामीलाई घिसार्न खोज्दैछ ।

नेकपा एमालेलाई लतार्न खोज्दैछ । अर्कोतिर यो पार्टी बनाएका, निर्माण गरेका त्यागी, पुराना तमाम कार्यकर्ताहरु, यो पार्टी निर्माण गर्ने कर्मीहरु तिनीहरु यसलाई समाजवादको दिशामा टिकाइराख्नका लागि लागिरहेका छन् र म तिनीहरुको प्रतिनिधि ठान्छु । यसअर्थमा मेरो उम्मेदवारी हो ।

यसैपनि नेकपा एमाले जत्तिको समृद्ध, क्रान्तिकारी र लोकतान्त्रिक पार्टी, क्रान्तिकारी जनमतलाई एकठाउँमा ल्याएको पार्टी अर्को कुनै छैन । नेकपा एमालेले बेलाबेलामा गल्ती गरेको छ । तर त्यसले आफूलाई बेलैमा सुधारेको छ । किनभने यसका तमाम कार्यकर्ता, समर्थक, शुभचिन्तकहरु जहिलेसुकै परिवर्तन, क्रान्ति र श्रमजिवी वर्गको पक्षमा खडा छन् ।

त्यसैले एमालेको कार्यकर्ता पंक्तिले पार्टीलाई गल्ती गर्न दिँदैनन् । कहीँ पार्टीले गल्ती गरिहाल्यो भने त्यसलाई सुधार्ने पनि कार्यकर्ताको लामो परम्परा छ । त्यो परम्परा नै मैले जित्ने कुराको ग्यारेन्टी हो ।

पार्टीमा गल्तीका प्रशस्त सम्भावनाहरु छन् । अहिले पनि गल्ती हुँदैछ । एउटा एकीकृत पार्टी किन फुट्यो ? यसबारेमा हामी बेखबर बनेर हिंड्दैछौं । संसारमा हामीले एउटा मोडेल देखाउन सक्ने सम्भावनालाई कसरी हामीले बिगार्‍यौं । आफ्नै पार्टीलाई किन टिकाउन सकेनौं, आफ्नै सरकार किन टिकाउन सकेनौं ? यसको जवाफमा- तिमीहरुले नै किन भत्कायौ भन्न सकिन्छ ।

तर त्यो स्थिति नै किन आयो भन्ने बारेमा हामी बेखबर भएर जसरी एकदमै नहेरिकन आँखा बन्द गरेर हिंड्न खोज्दैछौं । यसले हामी र हाम्रो लोकतन्त्रलाई, समाजवाद र कम्युनिष्ट पार्टीका यी सम्भावनालाई धेरै डरलाग्दा खतराहरुतर्फ यसले डोहोर्‍याउनेवाला छ । त्यसैले पनि मेरो उम्मेदवारी जरुरी भएको हो ।

प्यानल होइन, व्यक्तिगत उम्मेदवारी

हामीले पार्टीको आम नीति र सिद्धान्तहरु मान्नुपर्छ । हामी आफैंले गरेका निर्णयहरु मान्नुपर्छ । मैले नवौं महाधिवेशनमा प्यानलहरु बनाउनु गल्ती भयो भनेर धेरैपटक स्थायी कमिटीमा उठाएको छ । हाम्रा नेताहरुको कानमा बतास लागेन । त्यो गल्ती थियो । यसरी एउटै पार्टीभित्र नवौंमा जुन प्यानल बनाइयो त्यो गल्ती थियो ।

म त्यतिबेलादेखि नै भन्दै छु । त्यो कुरा अहिले आएर यो दशौं महाधिवेशनमा पार्टीले करेक्सन गरेको छ । प्यानल नबनाउने भनेको छ । यसअर्थमा मैले व्यक्तिगत हैसियतमा यो उम्मेदवारी दिएको हुँ ।

लोकतन्त्रमा पार्टीलाई कब्जा गर्ने तागत उहाँ (केपी ओलीले)मा छ भन्नुभयो भने उहाँलाई निरंकुशता, तानाशाहीतर्फ र २१‍औं शताब्दिको गलत बाटोमा लैजान खोज्दै हुनुहुन्छ । उहाँलाई पनि हामीले बिगार्छौं र पार्टीलाई पनि बिगार्छौं । लोकतन्त्रमा पार्टी कसैको कब्जा हुँदैन । लोकतन्त्रमा हरेक मान्छे स्वतन्त्र हुन्छ । आफ्नो नाम हुन्छ । आफ्नो इज्जत हुन्छ ।

सामन्तवादमा एउटाको नाम र थर हुन्थ्यो । एउटाको इज्जत हुन्थ्यो । एउटाको प्रतिष्ठा हुन्थ्यो । अरु तमाम रैतीको कसैको नाम हुँदैनथियो । कुनै विचार र निर्णय हुँदैनथ्यो । त्यो सामन्तवाद हो । तर लोकतन्त्रमा हरेक मानिसको विचार हुन्छ । उसले स्वतन्त्रतापूर्वक निर्णय गर्छ । त्यसमाथि हामी कम्युनिष्ट भयौं । यस्तोमा अब कसैले पार्टी कब्जा गर्छ भन्ने कुरा कहिलेकाँही देखियो भने पनि त्यो गलत हो । त्यो दुई दिन पनि टिक्ने कुरा होइन ।

१० बुँदे पक्षधरको प्रश्न

एउटा कुरा १० बुँदे, १० बुँदेका १० जना, यसलाई सधैंभरीको गुटबन्दी भनेर तपाईंहरुले नबुझिदिनुहुनका लागि अनुरोध गर्दछु । १० बुँदेमा भएका साथीहरुमध्ये आठौं महाधिवेशनमा हामी अलगअलग ठाउँमा थियौं । नवौंमा कतिजना अलगअलग ठाउँमा थियौं । हामी एउटा खास मुद्दामा १० बुँदाको सन्दर्भमा एक ठाउँमा थियौं । त्यसबाहेक त्योभन्दा अगाडि र पछाडि हामी सबै स्वतन्त्र छौं ।

(उपाध्यक्ष पदमा उम्मेदवारीपछि भूसालले दिएको प्रतिक्रिया।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?