+
+

ए डिभिजन लिग : दोस्रो चरणका ६ विशेषता

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७८ मंसिर १४ गते ७:२०

दोस्रो चरणको खेलमा पहिलो पटक ए डिभिजन लिग खेलिरहेको नवप्रवेशी सातदोबाटोले पूर्वविजेता तथा उपाधिको दाबेदार मानिएकै थ्री स्टारलाई हराएर सनसनपूर्ण जित हात पार्‍यो भने साविक विजेता र उपविजेता मछिन्द्र र आर्मीबीचको खेल गोलरहित बराबरीमै रोकियो ।

१४ मंसिर, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत म्याच विक टु का खेलहरू सोमबार सकिएका छन् ।

दोस्रो चरणमा लिगकै प्रतिक्षित खेलमध्ये एक साविक विजेता मछिन्द्र फुटबल क्लब र साविक उपविजेता त्रिभुवन आर्मी फुटबल क्लबबीचको खेल पनि भयो ।

यस्तै नवप्रवेशी सातदोबाटोले यही चरणमा ए डिभिजनको पहिलो जित हात पार्‍यो । दोस्रो चरणमा दुई खेल गोलरहित बराबरीमा सकिँदा जम्मा ७ गोल मात्र भए । जबकि पहिलो चरणमा कुल १६ गोल भएको थियो ।

दोस्रो चरणमा सातदोबाटोले थ्री स्टारलाई पराजित गर्नै सबैभन्दा सनसनीपूर्ण नतिजा बन्यो ।

यस्तै मछिन्द्र र आर्मीबीचको खेल प्रतिस्पर्धात्मक बने पनि फरवार्डले गोल गर्न नसक्दा गोलरहित बराबरीमै सकियो ।

संकटाले प्रेण्ड्सविरुद्ध एक गोलले पछि परेको अवस्था उल्टाउँदै पुनरागमन जित हात पार्‍यो ।

दोस्रो चरणका केही विशेषताहरू –

सातदोबाटोको सनसनीपूर्ण जित

पहिलो पटक ए डिभिजन लिग खेलिरहेको नवप्रवेशी सातदोबाटोले पूर्वविजेता तथा उपाधिको दाबेदार मानिएकै थ्री स्टारलाई हरायो । यस हारले थ्री स्टारलाई उपाधि यात्राको बाटोमा धक्का लागेको छ ।

थ्री स्टारले पहिलो खेलमा च्यासल युथ क्लबलाई ३-० ले पराजित गर्दै शानदार सुरुआत गरेको थियो । तर दोस्रो खेलमा भने त्यसको केही छनक देखिएन । थ्री स्टारको प्रदर्शन राम्रो रहन सकेन ।

बी डिभजन च्याम्पियन बनेर ए डिभजनमा बढुवा भएको सातदोबाटोले भने पहिलो लिगमै उत्कृष्ट प्रदर्शन गर्‍यो । सिजनको उद्घाटन खेलमै फ्रेण्ड्सससँग गोलरहित बराबरी खेल्दै लिग सुरुआत गरेको सातदोबाटोले थ्री स्टारलाई हराएर लिगमा पहिलो जित दर्ता गर्‍यो । दुई खेलमै क्लिनसिट राखेको सातदोबाटोले चार अंक जोडेको छ ।

मनाङ र पुलिसको भाग्य

मनाङ र पुलिसले दोस्रो चरणमा समान १-० को जित हात पार्दा भाग्यमानी रहे ।

मनाङले हिमालयन शेर्पा क्लबलाई र पुलिसले जावलाखेल युथ क्लबलाई पराजित गर्दै ३ अंक जोडेका हुन् । मनाङको लगातार दोस्रो जित हो भने पुलिसले पहिलो जित हात पारेको हो ।

मनाङले ओलावाले आफिजले ८४औं मिनेटमा गरेको गोलमा जित निकाल्दा पुलिसका लागि वैकल्पिक  खेलाडीको रुपमा मैदान प्रवेश गरेका सुमन लामाले ७०औं मिनेटमा उत्कृष्ट गोल गरे ।

मनाङविरुद्ध हिमालयन शेर्पाले उत्कृष्ट खेले पनि भाग्यको साथ पाएन । मनाङ भने भाग्यमानी बन्यो ।

यस्तै पुलिसविरुद्ध जावलाखेल युथ क्लबले पहिलो हाफमा दबाब बनायो । दुवैले गोल गर्ने केही अवसरसमेत गुमाए । जावलाखेलका दुई प्रहारमा पोष्ट बाधक बन्यो ।

तर पुलिसले भने काउन्टर अट्याकमा उत्कृष्ट गोल गर्दै खेल जित्यो । सुमन लामाले निर्णायक गोल गरे ।

मनाङको क्लिनसिट

सर्वाधिक ८ पटकको विजेता मनाङले लगातार दोस्रो खेल जित्यो । जारी लिगमा शतप्रतिशत नतिजासहित गोल नखाने एक्लो टिम मनाङ मात्रै हो । क्लिनसिट राख्ने अर्को टिम भने नवप्रवेशी सातदोबाटो युथ क्लब हो । मनाङले पहिलो खेलमा जावलाखेललाई १-० ले नै पराजित गरेको थियो ।

यसै सिजन मात्र मनाङ आएका युवा गोलकिपर विशाल सुनारले दुवै खेलमा क्लिन सिट राखे । उनले पछिल्लो पटक ब्रिगेड ब्वाइज क्लबबाट ए डिभिजन लिग खेलेका थिए । गत वैशाख-जेठमा नेपाल सुपर लिग एनएसएल खेलेका उनी पहिलो पटक राष्ट्रिय टिममा समेत परेका थिए । विश्वकप छनोटका लागि कुवेत भ्रमणमा टोलीमा रहे पनि उनले राष्ट्रिय टिममा डेब्यु गर्न भने पाएनन् ।

यस्तै ताजिकस्तानमा भएको एएफसी यू-२३ एसियन कप छनोटमा उनी नेपाली यू-२३ टिममा थिए । तर कप्तान अर्पण कार्की पहिलो रोजाईको गोलकिपर रहेकोले उनले त्यहाँ पनि खेल्ने मौका पाएनन् ।

एपीएफ र जावलाखेलको लगातार दोस्रो हार

विभागीय टोली एपीएफ र जावालाखेल युथ क्लबले लिगमा लगातार दुई खेल हारिसकेको छ । एपीएफले पहिलो खेलमा ब्रिगेडसंग ३-२ ले पराजित भएको थियो । दोस्रो खेलमा च्यासलसँग १-० ले पराजित भयो । अहिलेसम्म एपीएफले २ गोल गरेपनि अंक भने जोड्न सकेको छैन ।

अर्कोतर्फ जावालखेल भने लगातार दोस्रो खेलमा पनि गोल गर्न सकेन र १-० ले पराजित भयो । पहिलो खेलमा मनाङ मर्स्याङ्दीसँग पनि १-० ले नै पराजित भएको थियो ।

घट्यो गोल

यस पटक लिग विकेन्ड अर्थात सप्तान्हमा खेलाइएको छ । यसले गर्दा हप्तामा जम्मा चार दिन खेल हुन्छ । तीन दिन पूर्णरुपमा ब्रेक गरिएको छ । यस्तो गर्दा एक टिमले कम्तीमा पनि चार दिन आराम पाउने छन् भने बढीमा ६ दिन आराम पाउनेछन् । जसले गर्दा तयारी गर्ने र खेलाडीहरूको फिटनेसमा समेत ध्यान दिने समय हुन्छ ।

तर लिगमा गोलको संख्या भने घटेको छ । पहिलो चरणमा ७ खेलमा कुल १६ गोल हुँदा दोस्रो चरणमा जम्मा ७ गोल मात्र भयो । त्यो पनि पाँच खेलमा मात्र गोल भयो । दुई खेल गोलरहित बराबरीमा सकियो ।

पहिलो चरणमा गोल औसत २.२८५ थियो । तर दोस्रो चरणमा त्यो घटेर जम्मा १ मा आयो । अर्थात औसतमा एक म्याचमा एक गोल ।

राष्ट्रिय टिमका खेलाडीहरू संगै केही राम्रा विदेशी खेलाडी रहेपनि लिगमा फरवार्डहरू गोल गर्न चुकिरहेका छन् । गोल गर्न सक्ने स्ट्राइकरहरुको कमी देखिएको छ ।

साविक विजेता मछिन्द्र र उपविजेता आर्मी भिड्दा गोल हेर्ने अपेक्षामा दशरथ रंगशालमा उल्लेख्य दर्शक उपस्थित थिए । एन्फाले आड्ढिकारिक म्याच रिपोर्ट अनुसार उक्त खेल हेर्न चार हजार उपस्थित रहेको जनाएको छ ।

तर लिगको उपाधि रक्षा गर्न फरवार्डहरूको भेला गरेको मछिन्द्रले समेत गोल हान्न सकेन । मछिन्द्रले कप्तान सुजल श्रेष्ठदेखि राष्ट्रिय टिमका मनिष डाँगी अनी विमल घर्ती मगरसम्मलाई खेलाए पनि गोल भएन ।

सेन्ट्रल फरवार्डको रुपमा अनुबन्ध गरिएका रेजिन सुब्बा घाइते हुँदा मछिन्द्रले गोल हान्न सक्ने फरवार्ड पाएन । आर्मीविरुद्धको खेलपछि मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले समेत गोल गर्ने फरवार्डको कमी भएको बताए ।

प्रशिक्षक अनन्त थापाको सेलेब्रेसन

जावालखेलविरुद्ध १-० को जितपछि नेपाल पुलिस क्लबका प्रशिक्ष अनन्त थापाले दिल खोलेर सेलेब्रेसन गरे । खेल सकिएको सिट्टी रेफ्रीले फुकेपछि पुलिसका प्रशिक्षक अनन्त थापाले खुलेर सेलेब्रेसन गरेका थिए । खासमा त्यो ३ अंक हात पार्दाको खुशी थियो र त्यसलाई उनले खुलेर खुशी मनाए ।

पुलिसका प्रशिक्षक थापा टचलाइनमा अन्य प्रशिक्षकको तुलनामा धेरै कराइरहेका हुन्छन् र एग्रेसिभ देखिन्छन् । यस विषयमा सोध्दा थापाले लिगको खेलहरू नै प्रतिस्पर्धात्मक हुने भएकोले त्यस्तो देखिएको बताए । ‘लिग क्रुसिएल छ । को रेलिगेट हुन्छ को च्याम्पियन हुन्छ थाहा हुँदैन । त्यही भएर त्यस्तो देखिएको हो ।’

खेलका दौरान पनि उनी खेलाडीहरूलाई बारम्बार निर्देशन दिइरहेका हुन्छ । अन्य प्रशिक्षकभन्दा उनी धेरै कराइरहेको देखिन्छन् र सुखद नतिजा आउँदा खुशी पनि हुन्छ । उनी यसलाई पार्ट अफ गेम जस्तै मान्छन् र प्रशिक्षकले गर्नुपर्ने काम जस्तै ठान्छन् ।

दोस्रो चरणको खेलको नतिजा र गोलकर्ता

सातदोबाटो युथ क्लब १ (सुदिप गुरुङ) – ० थ्री स्टार क्लब

संकटा क्लब २ (निरज बस्नेत, फोडे फोफाना) – १ फ्रेण्ड्स क्लब (प्रकाश बुढाथोकी)

च्यासल युथ क्लब १-० एपीएफ एफसी (रुमेश बर्तौला)

मनाङ मर्स्याङ्दी क्लब (ओलावाले आफिज) १-० हिमालयन शेर्पा

जावलाखेल युथ क्बल ०-१ (सुमन लामा) नेपाल पुलिस क्लब

एनआरटी ०-० ब्रिगेड ब्वाइज क्लब

मछिन्द्र एफसी ०–० त्रिभुवन आर्मी एफसी

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?