+
+

यी हुन सक्छन् ‘हनिमुन’का लागि उत्कृष्ट गन्तव्य

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १४ गते १२:३५

१४ मंसिर, काठमाडौं । मंसिरलाई विवाहको महिना पनि भनिन्छ । विवाह बन्धनमा बाँधिएका धेरै जोडी मधुमास (हनिमुन)मा जाने गर्दछन् । हनिमुन एकअर्कालाई नजिकबाट बुझ्ने मौका पनि हो । पछिल्लो समयका नवजोडीलाई हनिमुन जानु अनिवार्य जस्तै भएको छ ।

आजकल हनिमुनका लागि नेपाली नवविवाहित जोडी विदेशका विभिन्न स्थानमा समेत जान थालेका छन् । नेपालभित्र पनि हनिमुनका लागि नयाँ–नयाँ गन्तव्यको पहिचान भइरहेको छ । जहाँ नवजोडीहरु एकअर्कामा प्रेम साट्न पुग्ने क्रम बढ्दो छ ।

नेपालका कतिपय ट्राभल एजेन्सीहरुले विदेशमा हनिमुन प्याकेज त चलाउने गरेका छन् । तर नेपालभित्रकै पर्यटकीय क्षेत्रहरुमा भने धेरै ट्राभल एजेन्सीहरुले हनिमुन प्याकेज राख्ने गरेका छैनन् । त्यसैले आफैंले उचित ठाउँ रोजेर हनिमुन मनाउन जानुपर्छ । तर हनिमुन मनाउनका लागि कुन ठाउँमा जाने र कसरी जाने ? केही आकर्षक मधुमास गन्तव्य यहाँ उल्लेख गरिएको छ ।

रारा

पश्चिम नेपालको प्रवेशद्वार नेपालगञ्ज विमानस्थलबाट सोझै मुगुको ताल्चा विमानस्थलसम्म हवाईजहाजमा जान सकिन्छ । त्यसपछि रारा तालको किनारमा पुग्न तीन घण्टासम्मको पैदल यात्रा तय गर्नुपर्छ । सुर्खेतबाट मुगुको सदरमुकाम गमगढीसम्म सार्वजनिक बसमा जान सकिन्छ । त्यसपछि दुई घण्टाको यात्रामा धर्तीको स्वर्ग भनिने रारा पुग्न सकिन्छ । हिउँदको मौसममा एक मिटरसम्म हिउँ पर्ने हुँदा यहाँको तापक्रम शून्यभन्दा पनि तल झर्ने गर्छ । त्यसैले यो समयमा धेरै मान्छे घुम्न जाने गर्दैनन् । तर पनि हनिमुन मनाउन रारा जाने जोडीहरु पनि भेटिन्छन् ।

बर्दिया राष्ट्रिय निकुञ्ज

नवविवाहित जोडीको लागि बर्दिया राष्ट्रिय निकुञ्ज पनि आकर्षक गन्तव्य बन्न सक्छ । पूर्वपश्चिम राष्ट्रिय निकुञ्ज अन्तर्गत् बर्दिया जिल्लामा पर्ने यो ठाउँ गन्तव्यको हिसाबले अत्यन्त सुगम क्षेत्रमा पर्छ । बर्दिया जिल्ला निकुञ्जभित्रै खुलेका कतिपय होटलहरुमा आकर्षक सुविधा पाइन्छ । बर्दिया राष्ट्रिय निकुञ्जसँगै केही पर रहेको कैलालीको चिसापानी एवं निकुञ्जभित्रका विभिन्न गन्तव्यहरु पनि आकर्षक गन्तव्यभित्र पर्छ ।

बन्दीपुर

चिसो र प्रेमिल मौसममा नवविवाहित जोडीको लागि हनिमुन मनाउन बन्दीपुर पनि आकर्षक गन्तव्य हो । अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरि लगायतका हिमशृंखला स्पष्टसँग देखिने बन्दीपुर सांस्कृतिक र पर्यटकीय दुवै हिसाबले अनुकूल छ । भक्तपुरे शैलीमा निर्माण गरिएका घर, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर र सूचना केन्द्रलगायतका स्थल यहाँ आउने पर्यटकको आकर्षणको केन्द्रविन्दु बन्ने गरेको छ । बन्दीपुरमा होटेल संघसँग आबद्ध सानाठूला गरी ८ दर्जनजति होटल सञ्चालनमा छन् । त्यसैले त्यहाँ परम्परागत शैलीदेखि अत्याधुनिक शैलीसम्मका होटल सुविधाहरु पाइन्छ ।

मुस्ताङ

मुस्ताङ जाडो मौसममा धेरैको रोजाइमा त पर्दैन । तर पनि चरम चिसोको मौसममा आफ्नो वैवाहिक उत्सवको शुरुवात गर्ने चाहना भएकाहरुलाई भने जोमसोम पनि आकर्षक गन्तव्य हो । अहिलेको समयमा जोमसोमसम्मै हिउँले ढपक्कै ढाकिसकेको हुन्छ, त्यसैले जनजीवन अलिक कठिन हुन सक्छ । तर आनन्दको हिसाबमा मनै भुलाउने आनन्द यहाँ पाउन सकिन्छ ।

घरपझोङ गाउँपालिकाको केन्द्र जोमसोम बजारदेखि दक्षिण पश्चिम करिब दुई किलोमिटरको दूरीमा पर्छ । सोही ठाउँमा छ मनोरम ठिनी गाउँ । ठिनी गाउँबाट पश्चिम करिब १ किलोमिटर दूरीमा छ– अनुपम प्रकृतिको उपहार ‘ढुम्बा ताल’ छ । हिउँदको समयमा यस तालमाथि दुई फिटसम्म हिउँ जम्ने गर्छ । जमेको हिउँले रङ पनि फेर्ने गरेको छ । हिउँ जमेको बेला पर्यटकले तालमाथि पैदल हिँडेर मनोरञ्जन लिने गर्छन् ।

चित्लाङ

काठमाडौंबाट नजिकै मकवानपुर जिल्लामा पर्ने चित्लाङ पनि नवविवाहित जोडीको लागि उत्कृष्ट हनिमुन गन्तव्य स्थल हो । काठमाडौंबाट सिधा जाँदा २७ किलोमिटर र कुलेखानी हुँदै जाँदा ६० किलोमिटरको दूरीमा रहेको यो ठाउँ पनि होमस्टे र विभिन्न स्थानीय खानाको लागि चर्चित छ । दिनभर शान्त र शीतल वातावरणमा मनोरम प्राकृतिक दृश्यावलोकनका साथै ऐतिहासिक सांस्कृतिक महत्वको गाउँ भ्रमण, होमस्टे र रिसोर्टमा क्याम्प फायरदेखि नाचगान, चुस्कीको चियर्समा रमाउनको लागि पनि यो ठाउँ उपयुक्त हुन्छ ।

यहाँ गाउँमै उत्पादित नास्पातीको रक्सी र वाइनको मज्जा लिन सकिन्छ भने कुलेखानीको माछादेखि करेसामा रोपिएका साग, चनालगायत जाँतोमा पिँधेको अन्नको स्वाद चाख्नको लागि पनि चित्लाङ सही गन्तव्य हो ।

कालिञ्चोक

दोलखा जिल्लामा पर्ने कालिञ्चोक धार्मिक यात्रासँगै रमणीय दृश्यावलोकनका लागि आकर्षक गन्तव्य मानिन्छ । कालिञ्चोक भगवतीको मन्दिर रहेको यो ठाउँबाट आकर्षक हिमशृंखला देख्न सकिन्छ । नवविवाहित जोडीको लागि पनि यो ठाउँ हनिमुनको लागि उपयुक्त देखिन्छ । यो ठाउँमा काठमाडौं लगायत नजिकैको शहरबाट पनि हिउँदमा हिउँ खेल्न धेरै पर्यटकहरु आउँछन् ।

दोलखाको हुँदै जाने यो ठाउँमा माघदेखि फागुन पहिलो सातासम्म बाक्लो हिमपात हुन्छ । कुरी बजारबाट एक घण्टाको उकालो छिचोलेपछि कालिञ्चोक भगवती मन्दिर पुगिन्छ । समुद्री सतहबाट ३ हजार ८४२ मिटर उचाइमा अवस्थित कालिञ्चोक भगवती काठमाडौंको शोभा भगवती, काभ्रेको पलाञ्चोक भगवतीसहित सात दिदीबहिनीमध्येको एक रहेको जनविश्वास छ ।

जनकपुर

प्रदेश २ को राजधानी जनकपुरधाम पनि हनिमुनका लागि राम्रो गन्तव्य बन्न सक्छ । जनकपुरधाम मुख्यतः धार्मिक शहरको रुपमा प्रसिद्ध छ । यहाँको जानकी मन्दिर, आकर्षक ताल तलैयाको अवलोकन गर्दै हनिमुनको समय बिताउन सकिन्छ ।

धरान–भेंडेटार

पहाडको लजालु वातावरण एवं तराईको उष्ण गर्मीको नजिकै अनुभव लिनको लागि धरान र भेंडेटार आकर्षक गन्तव्य बन्न सक्छन् । धरानदेखि १६ किलोमिटर उत्तरमा पर्ने भेंडेटारको मुख्य विशेषता भनेकै घाम र बादलको लुकामारी हो । समुद्री सतहदेखि १ हजार ४२० मिटर उचाइमा रहेको भेंडेटारको मौसम सदाबहार चिसो हुन्छ । पूर्वी तराई र भारतका उत्तर प्रदेश, बिहार राज्यका घुमन्तेहरुको मुख्य गन्तव्य स्थल भेंडेटार पछिल्लो समय नेपालीहरुको लागि पनि मुख्य आकर्षणको केन्द्र मानिन्छ ।

कन्याम

इलाम नेपालकै मुख्य आकर्षक पर्यटकीय गन्तव्य हो । झनै नवविवाहित जोडीको लागि त कन्याम जानै पर्ने गन्तव्य हो । बिर्तामोडबाट करिब ४० किलोमिटर उत्तरतर्फ मेची राजमार्गमै पर्ने यो ठाउँ भुइँ कुहिरोले ढपक्क ढाक्ने र छिनछिनमै मौसम परिवर्तन हुने गर्छ । यहाँ सुविधासम्पन्न होटल र रेस्टुरेन्टहरु उपलब्ध छन् ।

जाडो मौसममा हनिमुन जाँदा ध्यान दिनुपर्ने कुराहरु

जाडो मौसममा जुनसुकै ठाउँमा हनिमुन जाँदा पनि न्यानो कपडाहरु लिएर जानुपर्छ । बढ्दो चिसो र उच्च पहाडी क्षेत्रका गन्तव्यमा हिमपातको समेत सम्भावना हुने हुँदा न्यानोको लागि आवश्यक पर्ने सामग्रीहरु बोकेर जानु उचित हुन्छ । त्यस्तै, घुमघाममा जाँदा धेरै गरगहना र पैसा बोक्नु जोखिमपूर्ण हुन सक्छ । अहिले धेरै पर्यटकीय क्षेत्रहरुमा डिजिटल पेमेन्टको सुविधा पाउन सकिने भएकोले पनि धेरै नगद बोकेर जानु आवश्यक हुँदैन ।

यसबाहेक कुनै पनि गन्तव्यमा जानुअघि त्यहाँको विषयमा सामान्य जानकारी लिने गर्नुपर्छ । त्यहाँको आवास, खानपान र अन्य सुविधाको बारेमा टुंगो लगाएर हनिमुन जाँदा समस्या हुँदैन । त्यस्तै, आफूले खाने गरेको नियमित औषधि र आपतकालीन समस्याको लागि आवश्यक औषधि पनि बोक्न बिर्सिनु हुँदैन । पर्यटकीय क्षेत्रमा कुनै सामग्री नपाउने वा महँगो पनि हुन सक्छ । त्यसैले नियमित प्रयोगको लागि आवश्यक पर्ने सामग्री आफैंले बोकेर जानु उचित हुन्छ ।

कुनै पनि गन्तव्यमा पुगेपछि एकै ठाउँमा बसिरहँदा पट्यार लाग्न सक्छ । त्यसैले कुनै ठाउँमा घुम्न जाँदा त्यस आसपास रहेको ठाउँको बारेमा पनि बुझेर सबै क्षेत्रमा पुग्न सक्नेगरी योजना बनाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?