+
+
झिटीगुन्टा सुविधाको सुनमा तस्करको चलखेल :

१५ सय लिएर घुम्न जाने यात्रुसँग ३५ सय डलरको सुन !

गरगहना लगाउने नेपाली संस्कारलाई ध्यान दिएर विदेशबाट घर फर्कदा निश्चित मात्रामा सुन ल्याउन दिएको छुटको ब्यापक दुरुपयोग भएको भेटियो । यतिसम्म कि विदेश घुम्न जाँदा डेढ लाख रुपैयाँ लिएर गएकाहरु चार लाख रुपैयाँको सुन लिएर फर्किरहेका छन् ।

नवीन ढुंगाना नवीन ढुंगाना
२०७८ मंसिर १५ गते १९:०१

गरगहना लगाउने नेपाली संस्कारलाई ध्यान दिएर विदेशबाट घर फर्कदा निश्चित मात्रामा सुन ल्याउन दिएको छुटको ब्यापक दुरुपयोग भएको भेटियो । यतिसम्म कि विदेश घुम्न जाँदा डेढ लाख रुपैयाँ लिएर गएकाहरु चार लाख रुपैयाँको सुन लिएर फर्किरहेका छन् ।

१५ मंसिर, काठमाडौं । सोमबार बिहानैदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले दुबइ, कतार र मलेसियबाट आएका यात्रुहरुमाथिको चेक जाँचमा कडाइ गर्‍यो ।

ती मुलुकबाट नेपाल आउने यात्रुलाई भरिया बनाएर सुन तस्करी भइरहेको आंशकापछि भन्सार कर्मचारीले यात्रुले बोक्ने सुनको परिमाण पहिल्याउन कडाइ थालेको थियो ।

सोमबार पहिलो दिन बिहान ६ बजेदेखि राति १२ बजेसम्मको १८ घण्टा अवधिमा ४१५ यात्रुले अस्वाभाविक रुपमा सुन बोकेको पाइएको विमानस्थल भन्सार कार्यालयका प्रमुख महेश भट्टराईले बताए ।

‘सोमबार ४१५ यात्रुले १७ करोड २१ लाख रुपैयाँ बराबरको २१ किलो सुन बोकेको पाइयो, सरकारले वाणिज्य बैंकलाई दैनिक सुन ल्याउन तोकेको २० किलो कोटा भन्दा एक किलो बढी सुन एकै दिन ती यात्रुले बोकेका थिए,’ भन्सार कार्यालय प्रमुख भट्टराईले भने ।

मंगलबार भने २२१ यात्रुबाट ११ किलो सुन बरामद भएको उनले बताए । जसमध्ये १४७ जना यात्रुले भने भन्सार शुल्क तिरेर ६ किलो ९८२ ग्राम सुन फिर्ता लगेका छन् । यसबापत ६७ लाख ३० हजार रुपैया राजश्व उठेको छ । थप ४ किलो सुन अझै विमानस्थल भन्सारको लकरमा छ ।

यति ठूलो परिमाणमा यात्रुले सुन बोक्छन् भन्ने कल्पना नै नगरिएको भन्दै भन्सार प्रमुख भट्टराई भन्छन् ‘दुई दिनमा तीन देशबाट नेपाल आएका ६२६ यात्रुले ल्याएको ३२ किलो सुनलाई विमानस्थल भन्सार कार्यालयले राजस्व तिराएको छ ।’

गरगहना लगाउने नेपाली संस्कारलाई सुविधा दिँदै विदेशबाट आउँदा निश्चित मात्रामा सुन ल्याउन दिने सरकारको नीतिको दुरुपयोग गरेर सुन नेपाल भित्रिएको पाइएको भन्सार प्रमुख भट्टराईले बताए ।

यात्रुले यसरी ल्याएको सुन अवैध नभए पनि कुल मिलाएर हुने यसको आयात परिमाण र यस प्रकरणमा पक्राउ परेका केही यात्रुले दिएको बयानका आधारमा यसरी सुन ल्याइनु योजनाबद्ध र शंकास्पद हुनसक्ने देखिन्छ ।

यसरी विमानस्थलबाट छिरेको सुनमा तस्करको लगानी हुनसक्छ र यसरी यात्रुले व्यक्तिगत प्रयोजनका लागि भनेर ल्याएको सुन बजारमा खरिद बिक्रीका लागि पुग्ने बलियो सम्भावना देखिन्छ । भन्सार प्रमुख भट्टराईका भनाइमा ‘कानुनी दृष्टिले यो अपराध हो ।’

झिटीगुन्टा सुविधामा तस्करको आँखा

भन्सार ऐन २०६४ को दफा ९ को उपदफा ९ ले विदेशबाट फर्किने यात्रुलाई केही परिमाणमा सुन लगायतका वस्तु ल्याउन अनुमति दिन्छ । भन्सार विभागका अनुसार यो सुविधाअनुसार ५० ग्रामसम्म सुनको गहना भन्सार नतिरी यात्रुले ल्याउन सक्छन् । यस्तै स्वघोषणा गरेर थप २०० ग्राम सुनका गहना पनि यात्रुले ल्याउन सक्छन् तर यो सुनमा नियमअनुसार भन्सार लाग्छ ।

ऐनअनुसार गहनाबाहेकको थप एक सय ग्रामसम्म गहना नबनाइएको सुन पनि यात्रुले बोक्न सक्छन् । यो सुनमा पनि भन्सार लाग्छ । यो बाहेकका जुनसुकै परिणामको सुन कानुनतः अवैध हुन्छ ।

विदेशबाट फर्किनेलाई व्यक्तिगत प्रयोजनका लागि ल्याउन दिइएको सुन व्यवसायिक र नाफाका लागि ल्याएर त्यो सुविधाको दुरुपयोग भइरहेको विमानस्थल भन्सारको प्रारम्भिक अनुमान छ ।

‘लामो समय विदेश बसेकाले आफ्नो कमाइको थोरै लगानी सुनमा गर्नु स्वाभाविक हुन्छ तर सुन किनेर ल्याएर यहाँ नाफा कमाउनका लागि यात्रुहरु परिचालन भएको देखियो,’ विमानस्थल भन्सार कार्यालय प्रमुख भट्टराईले भने । ‘घुम्न गएकाले पनि सुन बोक्ने अनि सुन किन्ने हैसियत र कमाइ नै नभएका यात्रुले पनि सुन लिएर आउने गरेपछि यसमा शंका गर्नुपर्ने भयो’, उनले भने ।

केही यात्रुलाई भने अरु नै सामान भनेर भित्र सुन राखेर झुक्याएर नेपाल पठाएको पाइएको भन्सार कार्यालयले जनाएको छ । ‘आफन्तलाई दिनु भनेर यात्रुलाई पठाइएको लाइटभित्र सुन भेटिएको र यस्तो प्रकरणमा सोझा यात्रु फसेको एक अधिकारी बताउँछन् । दुबई, कतार र मलेससियाबाट नेपाल आउने यात्रुलाई अरुका सामान नबोक्न भन्सार विभागले सूचना जारी गरेको छ ।

भन्सार विभागले वैशाख १२ गते एक सूचना जारी गरेर सुनलाई कडाइ गर्ने संकेत दिएको थियो । सुन ल्याउन कडाइ गर्ने सूचनाकै बाबजुद पनि विमानस्थल भन्सारबाट भोलिपल्ट १३ मंसिरमा एकै दिन २१ किलो सुन भेटियो ।

सुन जाँचमा खटिएका एक भन्सार अधिकारीकाअनुसार पहिलो दिन सुन बोकेर आएका ४१५ यात्रुमध्ये निकै कमले मात्रै सुनमा कडाई गरेको भनेर प्रश्न उठाए ।

‘कुनै व्यक्तिले आफ्नै पैसाले किनेको र त्यो सुनमा अरु स्वार्थ छैन भनेर विमानस्थलमा प्रश्न उठाउँथे तर सोमबार र मंगलबार सुनसहित भेटिएकाहरु पहिले सुन भन्सारको लकरमा छोडेर ‘स्लिप’ लिएर बाहिरिए अनि पछि भन्सार तिर्ने पैसा लिएर आएर सुन लगे,’ ती अधिकारीले भने ।

विदेशबाट केही लाभ हुने प्रलोभनमा श्रमिक वा घुम्न गएकालाई सुन पठाउने र यहाँ संकलन गर्ने परिपाटी संगठित रुपमा भएको हुनसक्ने यो घटनाले देखाउने ती अधिकारीको भनाइ छ ।

एक दिनमा तीन देशबाट आउने करिब तीन सय यात्रुले ५० ग्रामकै दरले सुन नेपाल ल्याएका रहेछन् भने पनि एक दिनमा तस्करले २ करोड ६८ लाख ५० हजार रुपैयाँ भन्दा बढी आर्जन गर्ने ती अधिकारीको अनुमान छ ।

यस सम्बन्धमा सुन बोक्ने र सुन संकलन गर्नेहरुमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र राजश्व अनुसन्धान विभागले थप छानबिन गर्नुपर्ने ती अधिकारीको भनाइ छ ।

‘१५ सय बोकेर घुम्न गएको यात्रुसंग ३५ सय डलरको सुन’

भन्सारले सोमबार फेला पारेका सुन बोक्ने ४१५ यात्रुमध्ये ४० जना भन्दा बढी यात्रु करिब १५ दिनअघि नेपालबाट दुबई घुम्न गएको भेटिएको भन्सार कार्यालले जनाएको छ । नेपालबाट १५ सय अमेरिकी डलर (करिब डेढ लाख रुपैयाँ)  बोकेर घुम्न गएका यात्रु देश फर्किँदा उनीहरुको साथमा ३५ सय डलर (करिब चार लाख  मूल्य बराबरको सुन भेटिएको सुन जाँचमा खटिएका एक अधिकारीले बताए ।

‘झिटीगुन्टा सुविधामै ती यात्रुले सुन बोकेको भए पनि ऊसंग हुँदै नभएको विदेशी विनिमयको सुन कसरी खरिद भयो भन्ने कुरा शंकाको घेरामा छ,’ ती अधिकारी थप्छन् ‘कि त ती यात्रुले नेपालबाट लुकाइ छिपाइ डलर लिएर गएको हुनुपर्छ, होइन भने कसैले विदेशबाट सुन किनेर नेपालमा तस्करी प्रयोजनका लागि पठाइरहेको छ ।’

घुम्न गएका नेपालीले बोकेको सुनबारे छुट्टै अनुसन्धान हुनुपर्ने भन्सार कार्यालले जनाएको छ । सोमबारदेखि बाला आकारमा यात्रुले ल्याएको सुनको भन्सार तिर्न अनिवार्य गरेपछि भन्सारमा वृद्धि भएको छ ।

सुन बोकेर आएका ४१५ यात्रुमध्ये अधिकांशले विमानस्थलको लकरमा छोडेर गएका थिए । मंगलबार बिहानसम्म १९५ जना यात्रुले ९ किलो ९७६ ग्राम सुन भन्सार तिरेर फिर्ता लगेका छन् ।

भन्सार विभागका अधिकारीहरुका भनाइमा, बाँकी सुनको भन्सार तिर्न यात्रुहरु आउनेक्रम जारी छ । काँचो सुनमा तिराईएको भन्सार रकम एकै दिनमा ९४ लाख ६५ हजार ५४८ रुपैयाँ पुगेको छ । मंगलबारको यात्रुको विवरण आएपछि अझै यो रकम बढ्ने भन्सार कार्यालय प्रमुुख भट्टराई बताउँछन् ।

झिटीगुन्टामा सुन बोक्न मरिहत्ते किन ?

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपालमा भन्दा दुबइमा सुनको मूल्य तोलामा १० हजार रुपैयाँ सस्तो छ । त्यसमाथि नेपालमा भन्सार छल्न पाइयो भने सुनमा हुने फाइदा अथाह हुन्छ । जसको फाइदा संगठित रुपमा तस्कर र कहिलेकाहीँ व्यक्तिगत रुपमा पनि यात्रुहरुले लिइरहेका हुन्छन् ।

सुन चाँदी व्यवसायी महासंघले मंगलबार तोकेको २४ क्यारेटको सुनको प्रतितोला मूल्य ९१ हजार ९ सय रुपैयाँ छ । दुबईमा सो सुन एक तोलाको मूल्य ८१ हजार ९ सय मात्रै पर्छ । अब यो सुनमा विमानस्थल भन्सारले तोकेको राजश्व तिर्नु नपरे सुन ल्याउने एक यात्रुलाई ५० ग्राममा ४७ हजार ५ सय रुपैयाँ नाफा हुन्छ । भन्सार विभागले तोकेको भन्सार दरअनुसार ५० ग्रामको सीमा भित्र प्रति १० ग्राममा ९ हजार ५ सय रुपैयाँ भन्सार लाग्छ ।

यस्तै सो भन्दा बढी २ सय ग्रामसम्ममा प्रति १० ग्राममा १० हजार ५ सय रुपैयाँ भन्सार लाग्छ । ५० ग्रामको सीमाभित्र सुन ल्याउने यात्रुले भन्सार तिर्नुपरेन भने ४७ हजार ५ सय रुपैयाँ भन्सार छुट र १० हजार रुपैयाँ दुबईमा पाइने सस्तो मूल्य समेत गरेर ५० ग्राम सुनमा थप ४२ हजार रुपैयाँ नाफा हुन्छ । यसरी कुल मिलाएर एक यात्रुले ५० ग्राम सुन भन्सार नतिरी बजारसम्म पुर्‍यायो भने कुल ८९ हजार ५ सय रुपैयाँ कम्तीमा नाफा आर्जन गर्छ ।

११.६६ ग्राम बारबर एक तोला हुने भएकाले ५० ग्राम सुनमा सवा चार तोला हुन्छ । कसैले २ सय ग्राम सुन ल्यायो भने १७.१५ तोला सुन भन्सार शुल्क नतिरि मुलुक भित्रिन्छ । यसरी हेर्दा दुई सय ग्राम सुन भन्सार शुल्क नतिरि नेपाल भित्र्याउँदा १ लाख ७१ हजार ५ सय रुपैयाँ हारहारी थप नाफा सुन बोक्नेलाई हुन्छ । यसमा दुबई खरिद गर्दा तोलमा १० हजार सस्तो पर्ने मूल्य समेत जोड्दा दुई सय तोला सुन ल्याउनेलाई कुल मिलाएर ३ लाख ८१ हजार ५ सय २८ रुपैयाँ भन्दा बढी नाफा हुन्छ ।

झिटीगुन्टाको सुन दोस्रो बजारमा

नेपालमा अस्तित्वमा रहेका दुई वटा सुन चाँदी व्यवसायी महासंघमा ११ हजार पाँच सय सुन व्यवसायी आबद्ध छन् । नेपाल सुन चाँदी व्यवसायी महासंघमा आबद्ध ७ हजार पाँच सय र नेपाल सुन चााँदी रत्न तथा आभूषण महासंघमा ४ हजार गरेर देशभर यो संख्यामा सुन तथा चाँदी पसल रहेको यी संस्थाहरुको विवरणमा देखिन्छ ।

भर्खरै खुलेका कयौं नयाँ सुन पसलहरु यो संख्यामा गणना नभएको र कुल मिलाएर देशभर २० हजार सुन चाँदी पसल रहेको नेपाल सुन चााँदी रत्न तथा आभूषण महासंघ महासचिव किसान सुनार बताउँछन् ।

वैधानिक रुपमा दर्ता रहेका पसलहरुलाई वितरण गर्दा दैनिक डेढ ग्राम पनि कोटाको सुन दिन नसकिने उनले बताए । नेपालमा दैनिक बैंकहरुले २० किलो सुन आयात गर्ने र त्यसमा ११ किलो नेपाल सुन चाँदी व्यवसायी महासंघ तथा ९ किलो सुन नेपाल सुन चाँदी रत्न तथा आभूषण महासंघले देशभरका पसलहरुमा वितरण गर्ने गरेको छ ।

महासंघले व्यापारिक पसलहरुलाई जिल्ला संघमार्फत कम्तीमा २० देखि बढीमा ५० ग्रामसम्म कोटाको सुन वितरण गर्छ । तर वितरण भएको त्यो २० ग्राम सुनबाट पर्याप्त गहना बन्दैनन । ५० ग्रामसम्मले जेनतेन दुईवटासम्म अलि राम्रो गहना बन्ने व्यवसायीहरु बताउँछन् । तर, बजारमा दैनिक किलोमा सुन बिक्री गर्ने पसलहरु पनि छन् । मंसिर विवाहको महिना भएकाले अहिले औसत दिनमा ५० किलो सुन खपत भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

विभिन्न सहरमा रहेका सुनचाँदी पसलहरुमा दैनिक निकै ठूलो परिमाणमा सुनको कारोबार हुने सुन मुख्यत तीन स्रोतबाट प्राप्त भएको व्यवसायीहरुको अनुमान छ । पुरानो सुन बिक्रीका लागि फर्किएको, झिटीगुन्टा सहुलियतबापत नेपाल भित्रिने र तस्करी भएर नेपाल भित्रिने सुन यसरी बजारमा आउँछ । यसमा ग्राहकले बेच्ने पुरानो सुनको हिस्सा केही र बाँकी अवैध च्यानलबाट नेपाल भित्रिएको सुन हुन सक्ने महासचिव किसान सुनारको अनुमान छ ।

व्यवसायीहरुको दावीलाई मान्ने हो भन्ने बजारमा अहिले दैनिक खपत भएको अतिरिक्त ३० किलो सुनमा करिब ९ किलो सुनको हिस्सा पुरानो सुनबाट पूर्ति हुन्छ । बाँकी सुनको स्रोत अवैधानिक छ । तस्कारी र सरकारको झिटीगुन्टा सुविधाबाट आएको सुन बजारमा दैनिक २१ किलो भन्दा बढी रहेको अनुमान व्यवसायीहरुको छ ।

झिटीगुन्टाबाट आएको सुनमा भन्सार नलाग्ने भएकाले नेपालको भन्दा तोलामा ९ हजार ५ सय रुपैयाँ भन्सार नतिर्दा र किन्ने मुलकमै सस्तो रहेकाकारण यस्तो सुन सस्तो हुने गर्छ ।

जसले गर्दा त्यसरी झिटीगुन्टामा आएको सुन नेपाली बजारको मूल्य भन्दा केही कम मूल्यमा पाइने व्यवसायीहरु बताउँछन् । ‘बाला, सिक्री वा कुनै पनि आकारमा बनाएर एक पटकमा ५० ग्राम सुन ल्याउन पाइने त्यो सुन यहाँको बजारको साविकको भन्दा सस्तोमा पनि बिक्री गर्छन्,’ एक व्यवसायीले भने ।

यता तस्करीबाट आएको ढिक्का सुन भने नेपाली बजारको भन्दा तोलामा ६ सय रुपैयाँ महँगो हुने जानकारहरु बताउँछन् । ‘ग्राहकबाट सुनको अर्डर लिएका तर कोटाको सुनले नपुगेका व्यापारीहरु यस्तो सुनका लागि दलालमार्फत सम्पर्क गर्छन्,’ एक व्यवसायीले भने ।

नेपालमा वैधानिक तबरबाट भित्रिएको सुनको खरिद बिक्रीमा तीन प्रकारको कर राज्य कोषमा जान्छ । सुन भित्र्याउँदा भन्सार महसुल, ब्यापारीले उपभोक्तालाई बिक्री गर्दा भ्याट र सुन व्यापारीले तिर्ने आय कर राज्यले प्राप्त गर्ने नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । तर अवैध तरिकाबाट भित्रिने सुन तीनै प्रकारको करको दायरामा आउँदैन । जसले गर्दा राज्यलाई एकै पटक भन्सार, भ्याट र आयाकरमा नोक्सान पर्न जान्छ ।

घट्दो रेमिट्यान्स् र झिटीगुन्टाको सुन सम्बन्ध

आर्थिक वर्ष २०७६/०७७ मा नेपालमा ९२ अर्ब ७२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकको विवरणमा देखिन्छ । पछिल्लो वर्ष आर्थिक वर्ष २०७७/०७८ मा रेमिट्यान्स १८.१ प्रतिशतले घटेर ७५ अर्ब १६ करोडमा झरेको छ । वर्षको अधिकांश समय बढ्दो क्रममा रहेको रेमिट्यान्स वर्षको अन्तिम महिनाहरुमा आएर खस्किएको थियो ।

चालु आर्थिक वर्षमा पनि रेमिट्यान्स घट्दो दरमै छ । रेमिट्यान्स घट्ने र आयात बढ्न थालेपछि मुलुक विदेशी मुद्रा सञ्चिती जोगाउनु पर्ने जटिल मोडमा पुगेको छ । अर्कोतर्फ सुन चाँदीको आयात पनि यहि समयमा हुन थाले पनि यसलाई राष्ट्र बैंकले बेवास्ता गर्‍यो । जानकारहरुका अनुसार रेमिट्यान्स घट्न थालैके समयमा नेपालमा चाँदीको आयात अचाक्ली बढेको थियो भने त्यही समयदेखि झिटीगुन्टाको सुनमा लगानी बढेको अनुमान गरिन्छ ।

सुन तस्कर र विदेशमा लगानी गरेका नेपालीका कारण नेपालमा भित्रिने रेमिट्यान्सको स्रोतमै आक्रमण भएको अर्थशास्त्री केशव आचार्य बताउँछन् । नेपालमा डलर खातामा भित्रिने नेपाली श्रमिकले कमाएको पैसा तस्करले सुन किन्न र विदेशमा लगानी गर्ने नेपालीले उतैबाट संकलन गरेको उनले दाबी गरे ।

‘पाण्डाेरा पेपर्स खुलासामा विदेशमा लगानी गर्ने नेपालीको पैसा र सुन आएको रकम रेमिट्यान्स नै हो, यो रोक्न सरकार चुप बस्नु अचम्मको विषय छ,’ अर्थशास्त्री आचार्यले भने । अर्थतन्त्रको महत्वपूर्ण सूचकमा भएको प्रहार देखेर पनि अनदेखा गर्दा यसले गम्भीर संकट निम्त्याउने चेतावनी आचार्यको छ ।

नेपाल राष्ट्र बैंकमा लामो समय अनुसन्धान विभागमा रहेर काम गरेका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा रेमिट्यान्स पठाउनु भन्दा सुनमा नाफा देखेपछि उता लगानी गर्ने संख्या बढ्ने बताउँछन् ।

‘रेमिट्यान्स घटेकै बेलादेखि यो विषय सरकारी संयन्त्रको अनुसन्धानमा हुनुपर्दथ्यो, सुनमा धैरै नाफा देखिनु र रेमिट्यान्स घट्नु पक्कै अन्तर्सम्बन्धित छन्,’ थापाले भने । रेमिट्यान्स घटेकै बेलादेखि अनुसन्धान गरेर टाल्नु पर्ने कानुनी छिद्र राज्य संयन्त्रको कमजोरीले लामो समयसम्म रहिरहँदा अर्थतन्त्रमै असर परेको उनले बताए ।

नेपाल पठाउने रेमिट्यान्स सुनका लागि परिचालन भएको होकी भन्ने आशंका भएको भन्सार विभागले पनि जनाएको छ । यही आशंकालाई चिर्न विभागले विमानस्थल भन्सारमा अप्रेसन चलाएको विभागका महानिर्देशक नारायणप्रसाद सापकोटाले बताए ।

केही दिनको घटनाक्रम पछि यस विषयमा अनुसन्धान विभागसंग बसेर झिटीगुन्टा सुविधा र यसमा प्रयोग गरेर हुने अनैतिक काम रानेक्नेबारे नीतिगत निर्णयका लागि मन्त्रालयमा थप छलफल गर्ने सापकोटाले बताए । विज्ञको राय अनुसार आवश्यक पर्‍यो भने सुविधा कटौतीकै निर्णयका लागि पनि सरकारले कदम चाल्न सक्ने उनले बताए ।

सरकारी संयन्त्र र सुरक्षामाथि उठेको प्रश्न

नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षामाथि प्रश्न उठ्ने बित्तिक्कै नेपालमा जेल जीवन बिताइरहेको ‘बिकिनी किलर’ का रुपमा परिचित फ्रान्सेली नागरिक चार्ल्स शोभराजले भनाइ स्मरण हुने अर्थशास्त्री केशव आचार्य बताउँछन् ।

कुनै बेला नेपालको विमानस्थलबाट हात्ती छिराइदिन्छु भन्ने शोभराजको भनाइले सुरक्षा प्रणाली कस्तो छ भन्ने बुझ्न सहज हुने भन्दै आचार्य भन्छन्, ‘सुन खासै ठूलो कुरै होइन रहेछ । मंसिर १३ गते २१ किलो र १४ गते ११ किलो सुन फेला पर्‍यो के त्यस अघि विमानस्थलबाट सुन आएको थिएन त ?’

दुई दिनमा विमानस्थलमा सुन बोकेका ६ सय २६ नागरिक फेला परे भनेर मिडियाबाट समाचार सुन्दा त्यसअघिका कति मान्छेले सुन बोके होला भनेर अचम्म मान्नु पर्ने आचार्यको भनाइ छ ।

नेपाललाई ट्रान्जिट बनाएर भारततर्फ हुने सुन र चाँदी तस्करीमा नेपालेको सीमा, भन्सार, विमानस्थल र सुरक्षा निकाय सहयोगी बनेको पनि आचार्यको भनाइ थियो । जिम्मेवार क्षेत्रमा काम गर्ने तत् तत् क्षेत्रका अधिकारीलाई दण्डनीय नबनाए मुलुकको छवि ध्वस्त हुने अर्थशास्त्री आचार्यको चिन्ता छ ।

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?