+
+

कांग्रेसको गण्डकी प्रदेश अधिवेशनमा पौडेल पक्षको नाराबाजी

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १६ गते १५:३२

१६ मंसिर, पोखरा । नेपाली कांग्रेसको गण्डकी प्रदेश अधिवेशनको उद्घाटनसत्रमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका कार्यकर्ताले नाराबाजी गरेका छन् ।

बिहीबार पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा अधिवेशनको उद्घाटन सत्रमा सभापति शेरबहादुर देउवा पक्षका सभापतिका उम्मेदवारलाई मात्र बोल्न दिएर पक्षपात गरिएको भन्दै पौडेल पक्षका कार्यकर्ताले नाराबाजी गरेका हुन् ।

उनीहरुले मन्तव्यका लागि समय दिँदा नेताहरुको मर्यादाक्रम नमिलाएको, उम्मेदवारी दर्ताका लागि महंगो शुल्क तोकिएको पनि आरोप लगाएका छन् ।

कांग्रेसको कास्की जिल्लाका निवर्तनमान सभापति कृष्ण केसीले सञ्चालन गरेको कार्यक्रममा नवनिर्वाचित जिल्ला सभापति किशोरदत्त बरालले स्वागत गरेका थिए ।

त्यसलगत्तै केन्द्रीय सदस्य कमला पन्त, गण्डकी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका कृष्णचन्द्र नेपाली पोखरेल, केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश समितिमा देउवा पक्षका उम्मेदवार अर्जुन जोशीले भनाइ राखेका थिए । त्यसलगत्तै पूर्वसभामुख तथा कांग्रेस महामन्त्री तारानाथ रानाभाटले बोलेका थिए ।

गण्डकी प्रदेशको कांग्रेस महाधिवेशन गराउने जिम्मेवारी नेता गोपालमान श्रेष्ठले पाएका छन् भने कार्यक्रमको प्रमुख अतिथि वरिष्ठ नेता रामचन्द्र पौडेल छन् ।

सभापतिका उम्मेदवारलाई मात्र बोल्न दिइएको भन्दै संस्थापन इतरका नेताले नाराबाजी गरेका हुन् । पूर्व मन्त्रीसमेत रहेका महादेव गुरुङले मञ्चमै उक्लिएर गोपालमान श्रेष्ठतर्फ इंगित गर्दै कार्यक्रम चल्न नदिने चेतावनी दिएका थिए । गुरुङले कार्यक्रममा एक पक्षका उम्मेदवारलाई मात्र बोल्न दिइएको र उम्मेदवारी शुल्क पनि महंगो राखिएको भन्दै विरोध गरेका थिए ।

उम्मेदवारी शुल्क महंगो राखेर कांग्रेसलाई व्यापारीको पार्टी बनाउन लागिएको उनको आरोप थियो । प्रदेश सभापतिमा  उम्मेदवारी दिन ९१ हजार शुल्क तोकिएको छ । जबकी विधानअनुसार सभापतिका लागि १५ हजार, महामन्त्रीका लागि ११ हजार र ५ हजार शुल्क तोकिएको छ । तर, गण्डकी प्रदेशमा सभापतिका लागि ९१ हजार, उपसभापतिका लागि ६१ हजार,  महामन्त्रीका लागि ५१ हजार, सहमहामन्त्रीका लागि ४१ हजार र सदस्यका लागि ३१ हजार उम्मेदवारी शुल्क तोकिएको छ ।

केहीबेर नाराबाजी चलेपछि फेरि बोल्ने क्रम सुरु भएको छ । त्यसपछि संस्थापन इतरबाट प्रदेश सभापतिका आकांक्षी देवराज चालिसेले मन्तव्य राखेका छन् । त्यसलगत्तै पूर्वमन्त्री यज्ञबहादुर थापा, पूर्वमन्त्री महादेव गुरुङले बोलेका छन् ।

गण्डकीमा संस्थापन इतरका सभापतिमा ५ जना  आकांक्षी देखिएका छन् । संस्थापन इतरबाट कास्कीका मात्र ३ जना आकांक्षी छन् भने तनहुँ र नवलपुरका १/१ जनाले दाबी गरिरहेका छन् । कास्कीबाट पूर्व सांसद शुक्रराज शर्मा, यज्ञबहादुर थापा र नेता देवराज चालिसेले दाबी गरिरहेका छन् । तनहुँका पूर्व सभापति रघुनाथ पौडेल र नवलपुरका महेन्द्रध्वज जिसी प्रदेशको पहिलो सभापति बन्ने होडमा छन् ।

संस्थापन इतरबाट उम्मेदवार टुंगो लगाउन वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्य जीवन परियार, धनराज गुरुङ र कमला पन्त बुधबारदेखि नै पोखरामा छलफलमा जुटेका थिए । तर, उम्मेदवार टसमस नहुँदा कुनै एक जनाको नाममा सहमति जुटाउने नेताहरुको प्रयास सफल हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?