
१६ मंसिर, विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले प्रदेश १ समितिको सभापतिको उम्मेदवार गुरुराज घिमिरेलाई बनाउने भएको छ ।
प्रदेश १ सभापतिमा संस्थापन इतरपक्षबाट गुरुराज घिमिरे र प्रदेश १ को प्रदेशसभा संसदीय दलका नेता राजीव कोइराला दाबेदार थिए । तीन दिनको छलफलपछि कोइरालाई केन्द्रमा पठाउने सहमति भएको सभापतिका उम्मेदवार गुरुराज घिमिरेले बताए ।
‘राजीव कोइराला प्रदेश १ को मुख्यमन्त्री बन्नुहुन्छ, महाधिवेशनमा मेरो ठाउँबाट केन्द्रीय सदस्यको उम्मेदवार बन्नुहुन्छ,’ घिमिरेले भने, ‘प्रदेश सभापतिमा म उम्मेदवारी रहने सहमति भयो ।’
घिमिरेको प्रतिस्पर्धा संस्थापन पक्षका नेता उद्धव थापासँग हुने सम्भावना छ । प्रदेश १ मा सभापति शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौलाबीच सहकार्य हुने सम्भावना देखिएको छ । प्रदेश सभापतिमा सिटौलाले आफ्नै समूहका उद्धव थापालाई अघि सारेका छन् । तर सिटौला पक्षकै नेता तारामान गुरुङले पनि दाबी गरेका कारण उम्मेदवारको नाम सार्वजनिक गरेको छैन ।
‘सभापतिमा थापाको नाम फाइनल भइसकेको छ, गुरुङलाई मिलाउन नेताहरु लाग्नुभएको छ,’ देउवा पक्षका एक नेताले भने,‘हिजोदेखि छलफल चलिरहेको छ ।’ काङ्ग्रेस नेता अमृत अर्यालले संस्थापन पक्षबाट सभापतिको टुङ्गो लगाउनका लागि अन्तिम छलफल बसिरहेको बताए ।
दुई पक्षले उम्मेदवार टुङ्गो लगाउन नसकेपछि बिहीबार दिउँसो २ बजे गर्ने भनिएको उद्घाटन सत्र शुक्रबार बिहानसम्म सरेको छ ।
प्रतिक्रिया 4