+
+
कांग्रेस प्रदेश अधिवेशन :

सुदूरपश्चिमको नेतृत्व सर्वसम्मत चयन गर्ने प्रयास

जनक विष्ट जनक विष्ट
२०७८ मंसिर १७ गते १०:१७

१७ मंसिर, धनगढी । नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेश समितिको नेतृत्व सर्वसम्मतिबाटै चयन गर्ने प्रयास जारी राखेको छ । धनगढीमा बिहीबार प्रथम प्रदेश अधिवेशनको उद्घाटन सत्र सुरु भए पनि नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अझै सुरु भएको छंन ।

सभापतिसहिका पदाधिकारीहरूमा सर्वसम्मतिको प्रयास भइरहेकाले शुक्रबार बिहान ८ बजेका लागि तय भएको मनोनयन दर्तालगायतको निर्वाचन कार्यतालिका हेरफेर गरिएको प्रचारप्रचार समितिका प्रमुख नृपबहादुर सुनारले जानकारी दिए ।

उनकाअनुसार कार्यतालिका हेरफेर गर्दै मनोनयन पत्र दर्ताको समय दिउँसो दुईदेखि चार बजेसम्म, मनोनयन पत्रमाथि दाबी विरोध गर्ने समय साढे ४ देखि पाँच बजेसम्म, उम्मेदवारको नाम प्रकाशन गर्ने समय साढे ५ बजेसम्म, उम्मेदवारी फिर्ता लिने समय साढे ५ देखि साढे ६ बजेसम्म र साढे ७ बजे अन्तिम नामावली प्रकाशनको समय तय गरिएको छ । मतदान शनिबार बिहान ८ बजेदेखि गर्ने कार्यसूची छ ।

सुनारले आकांक्षीहरूकाबीचमा सर्वसम्मतिको प्रयासका लागि छलफल भइरहेकाले निर्वाचन कार्यतालिका परिवर्तन गरिएको जनाए । काँग्रेस सुदूरपश्चिमको सभापतिका लागि अहिले करिब एक दर्जन नेताहरू आकांक्षी देखिएका छन् ।

पूर्वभौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायर, कैलाली जिल्ला सभापति नरनारायण शाह, पूर्वपरराष्ट्र राज्यमन्त्री अर्जुनजंगबहादुर सिंह, पूर्वसञ्चार राज्यमन्त्री गोविन्दबहादुर शाह, नेविसंघका पूर्व केन्द्रीय उपाध्यक्ष पुष्प शाही, सुदूरपश्चिम प्रदेशसभा सदस्य गोविन्दबहादुर बोहरा, कैलालीका तत्कालीन जिल्ला विकास समितिका सभापति नारायण मिश्र, कञ्चनपुरका नेता गोपाल गुरुङलगायतका नेताहरु सभापतिको दौडमा देखिएका छन् ।

उनीहरूमध्ये पूर्वपूर्वाधार तथा यातायातमन्त्री बलायर, कैलालीका सभापति शाह र सुदूरपश्चिम प्रदेशसभा सदस्य बोहरा मध्येबाट एकजनालाई सर्वसम्मत रुपमा सभापति बनाउने कसरत कांग्रेसभित्र चलिरहेको छ ।

प्रमुख दाबेदारका रुपमा देखिएका तीनै जना पार्टी सभापति शेरबहादुर देउवा निकट मानिन्छन् । तर आकांक्षी मध्येका देउवा पक्षकै पूर्व राज्यमन्त्रीद्वय सिंह र शाहले पनि अहिलेसम्म आफ्नो अडान फिर्ता नलिएको स्रोतको भनाइ छ ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?