+
+

एमालेले निष्कासन गरेका व्यक्ति राखेर संसद चल्न सक्दैन : ओली

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १७ गते १९:०१

१७ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर २८ गते बोलाइएको संसद अधिवेशन पनि चल्न नदिने संकेत गरेका छन् । शुक्रबार पार्टी कार्यालयमा पदवहाली गर्दै अध्यक्ष ओलीले आफूहरुले वैधानिक ढंगले निष्कासन गरेका सांसदलाई राखेर सभा चल्न नसक्ने जिकिर गरे ।

‘(संसद) किन बोलाइएको हो, सरकारी पक्ष कसरी प्रस्तुत हुन्छ त्यसबाट थाहा होला’ उनले भने, ‘हामीले निष्कासन गरेका व्यक्तिहरु संसदमा राखेर संसद कसरी चल्न सक्छ ? नियमले गैर सांसदलाई सभामा बस्न दिँदैन  । हामीले पार्टीबाट साउन २५ गते नै निष्कासन गरिसकेका व्यक्तिहरु फेरि २८ गते आउँछन् भने त्यो कुरा त फेरि हामीलाई स्वीकार्य हुन सक्दैन ।’

अध्यक्ष ओलीले सभामुख अग्निप्रसाद सापकोटाले एमालेविरुद्ध सत्तारुढ गठबन्धनसँग अनुचित सम्बन्ध राखेको बताए । सभामुखले अवैध ढंगले आफ्नो पार्टी फुटाएको पनि उनले बताए । संसदको अघिल्लो अधिवेशन नेकपा एमालेका सांसदले अवरोध गरेको थियो ।

तत्कालिन नेकपा एमालेमा रहेका माधवकुमार नेपालसहितका सांसदहरुलाई पार्टीले कारबाही गरी संसदलाई जानकारी गराए पनि सभामुखले बेलैमा सुनुवाइ नगरी पद कायम गरिदिएको भनी एमाले सभामुखसँग रुष्ट छ ।

अध्यक्ष ओलीले व्यवस्थापिका सबैतिर समस्या देखिएको भन्दै यसको समाधान ताजा जनादेशबाट मात्र हुने बताएका छन् । ‘अन्ततोगत्वा निर्वाचनमै जानुपर्छ, ताजा जनादेशमा जानुपर्छ । ताजा जनादेशबाट समस्याको समाधान खोज्नुपर्छ’ उनले भने, ‘हामीलाई विश्वास छ, ताजा जनादेशबाट समस्याको समाधान निस्कन्छ ।’

अध्यक्ष ओलीले अहिलेको सत्तारुढ गठबन्धन ताजा जनादेशमा जानबाट डराएको बताए । ‘जनतामा जानबाट तर्सिने, अन्यत्रबाट कृत्रिम ढंगले सत्ता प्राप्तीलाई लक्ष्य बनाउनु राजनीति होइन कुराजनीति हो’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?